+
+

‘भागेर कहाँ जानु भनेर अहिले घरमै बस्छु’

लघुवित्तको ऋण तिर्न मैले एक लाख रुपैयाँको दिनको दुई हजार तिर्ने गरी मिटरब्याजमा पैसा लिएँ । अहिले ब्याजले डुबाएको छ । त्यो तिर्न मैले समता, स्वावलम्बन, आशा, सबैको र विजय लघुवित्त लगायत ११ वटा संस्थाबाट ऋण लिएकी छु ।

निर्मला चौधरी, चन्द्रपुर नगरपालिका–५ निर्मला चौधरी, चन्द्रपुर नगरपालिका–५
२०७९ फागुन ८ गते २१:२०

मेरो नाम निर्मला चौधरी हो । म चन्द्रपुर नगरपालिका वडा नम्बर ५ राजप्यारामा बस्छु । मैले १२ कक्षासम्म पढेकी छु ।

१८ वर्ष पहिले कृषिका लागि भनेर मैले डिप्रोक्स लघुवित्तबाट ५ हजार रुपैयाँ लिएकी थिएँ । त्यो ऋण बाँकी नै थियो, त्यही बीचमा श्रीमानलाई कतार पठाउन भनेर छिमेक लघुवित्तबाट २० हजार रुपैयाँ सापटी लिएँ ।

त्यतिले पुग्दैनथ्यो, धितो राखेर १ लाख रुपैयाँ ऋण लिन खोजेको छिमेक लघुवित्तले एक वर्षसम्म पनि पैसा दिएन । त्यसपछि साहुसँग ६० हजार लिएर श्रीमानलाई विदेश पठाएँ । कतारमा उहाँको काम पनि राम्रो भएन । उहाँ फर्कनुभयो । यसको एक वर्षपछि छिमेक लघुवित्तबाटै १ लाख रुपैयाँ ऋण लिएर मैले साहुबाट लिएको ६० हजार रुपैयाँको सावाँ–ब्याज तिरें ।

लघुवित्त गाउँमा नआउँदासम्म यहाँ मिटरब्याज सुरु भएको थिएन । लघुवित्तले वर्षमा एक चोटि मात्रै ऋण दिन्छ । तर, यता सावाँ–ब्याज भने महिनैपिच्छे तिर्नुपर्छ । अनि यस्तो ऋण तिर्न पैसा चाहिन्छ । मैले पनि ऋण तिर्न अर्को लघुवित्तबाट पैसा सापटी लिनु पर्‍यो ।

यसपछि मैले श्रीमानलाई ८० हजार रुपैयाँ खर्च गरेर मलेशिया पठाएँ । मलेशिया जाँदा पनि उहाँ ठगिनुभयो । त्यहाँ राम्रो काम नभएपछि उहाँले पैसा पठाउन सक्नुभएन । यता ऋण भने बढिरह्यो ।

श्रीमानलाई विदेश पठाउन लिएको त्यो ८० हजार रुपैयाँ तिर्न मैले साहुसँग सापटी लिएँ । त्यसमा थपिएको ब्याज तिर्न फेरि फरवार्ड लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएँ । यसरी मेरो ऋण बढ्दै गयो, ब्याज पनि बढ्दै गयो । त्यसपछि १५ लाख रुपैयाँमा डुमरियामा रहेको ६ कट्ठा जग्गा बेचें । तर, सबैतिरको ऋण सकिएन ।

साहु र लघुवित्तको पैसा तिर्न बाँकी रहेपछि म फेरि नेशनल लघुवित्तमा ऋण माग्न गएँ । उसले मलाई ७० हजार रुपैयाँ दियो । समय बित्दै जाँदा किस्ता तिर्न मुश्किल भयो । अनि फेरि मैले निर्धन लघुवित्तबाट ४० हजार रुपैयाँ लिएँ ।

हरेक तीन महिनामा ब्याजलाई पनि सावाँमा जोडेर लघुवित्तले हाम्रो ऋण बढाउँछन् । किस्ता माग्न आउँदा ५००, १ हजार जति रुपैयाँ भए पनि माग्छन् । यसरी १००, ५० समेत मागेको पैसाको त कुनै हिसाब नै छैन ।

अहिले लघुवित्तका सरहरू आएर ऋण तिर्न नसके गएर मर भन्नुहुन्छ । तिमीहरू मर्‍यौ भने ऋण माफ हुन्छ भन्नुहुन्छ । अनि म भन्छु, मरेर के हुने हो र बाँचेछु भने तपाईंको ऋण तिर्छु

लघुवित्त र साहु दुवैले पैसा मागेर तनाव दिएपछि हामी एक समय त जंगलमा लुक्न पनि गयौं । लघुवित्तको मान्छे आउने दिन हामी घर छाडेर कहिले अर्को गाउँ त कहिले जंगलतिर जान्थ्यौं । सधैं लुकेर बस्न सकिंदैन भनेपछि अहिले हामी घरमै बस्छौं । ब्याज उठाउन आउने लघुवित्तका सरहरूसँग झगडा गर्छांै ।

लघुवित्तको ऋण तिर्न मैले एक लाख रुपैयाँको दिनको दुई हजार रुपैयाँ तिर्ने शर्तमा मिटरब्याजमा ऋण लिएँ । लघुवित्तमा आफ्नो बेइज्जत नहोस् भनेर मैले मिटरब्याजबाट ऋण लिएकी हुँ । अहिले त्यही ब्याजले डुबाएको छ । मिटरब्याजीले पैसा नतिरेको भन्दै ममाथि मुद्दा हालेको छ ।

मैले समता, स्वावलम्बन, आशा, महिला सहकारी, उन्नति सहकार्य, सबैको लघुवित्त, विजय लघुवित्त, मेरो माइक्रो फाइनान्स, नेरुडे लगायत ११ वटा संस्थाबाट ऋण लिएकी छु ।

यी सबै संस्था र साहु–महाजनको कति ऋण छ भन्ने मलाई थाहा पनि छैन । यो गाउँका सबै जनाले यसरी नै ऋण लिएका छन् । लघुवित्तका कर्मचारी आउँथे, समूहमा बस्नुहोस् भन्थे, हामी पनि सोझा मान्छे बस्थ्यौं । राम्रो ऋणी हुनुपर्छ भनेर समयमै ब्याज र किस्ता तिर्न हामीले मिटरब्याजी साहुबाट पैसा सापटी लियौं । अहिले यो हालत भयो ।

लघुवित्तका सरहरू आएर दिदी हाम्रो संस्थामा बस्नुहोस् राम्रो हुन्छ, सस्तो ब्याजमा ऋण पाइन्छ भन्थे अनि हामी पनि सोझो मान्छे बस्यौं । मैले लघुवित्तबाट पैसा लिएको श्रीमानलाई थाहा थिएन । पछि श्रीमानले थाहा पाउँदा धेरै ढिला भइसकेको थियो । अहिले यही कुरा लिएर दिनकै झगडा हुन्छ । मलाई कुट्छन्, कति कुटाइ खानु ?

अब त श्रीमानको पनि फोक्सोमा पानी जमेर विदेश काम गर्न जान नसक्ने हुनुभयो । अहिले गाउँमै मजदुरी गर्नुहुन्छ । कति मान्छेले त किस्ता तिर्न नसकेर गाउँ छाडे । अन्तै इँटाभट्टामा काम गर्न जान्छन्, उतै बस्छन् ।

मलाई पनि एक पटक त गाउँ छाडेर हिंडौं भन्ने लागेको थियो । तर, छाडेर पनि कहाँ जानु ?

हामी ऋण लिंदा व्यवसाय गर्ने भनेर लिन्थ्यौं । तर, हामीले के व्यवसाय गर्‍यौं भनेर सरहरू कहिल्यै हेर्न आउनुभएन । अनि उहाँहरूलाई हामीले अरू लघुवित्तबाट पनि ऋण लिएको थाहा थियो । ‘तिमीहरूले कसरी तिर्छौ यत्रो पैसा’ भनेर पनि सोध्नुभएन । ‘हाम्रो टार्गेट पूरा हुन्छ’ भन्दै हामीलाई ऋण दिइरहनुभयो । पैसा चाहिएको थियो, हामीले पनि लियौं ।

श्रीमानलाई यो कुरा पहिले नै थाहा भएको भए यसरी ऋणमा डुब्ने थिइनँ होला । के होला र भनेर उतिबेला नभनी ऋण लिएँ, अहिले डुबें । यो गाउँमा धेरै महिलाले यसरी ऋण लिएको कुरा सुरुमा आफ्ना श्रीमानलाई भनेका छैनन् ।

अहिले लघुवित्तका सरहरू आएर ऋण तिर्न नसके गएर मर भन्नुहुन्छ । तिमीहरू मर्‍यौ भने ऋण माफ हुन्छ भन्नुहुन्छ । अनि म भन्छु, मरेर के हुने हो र बाँचेछु भने तपाईंको ऋण तिर्छु ।

एउटा मिटरब्याजीसँग ३५ हजार लिएकी थिएँ । उसले ६ लाखको कागज बनाएको रहेछ । अहिले ममाथि मुद्दा छ । मैले अहिलेसम्म उसको १ लाख ७१ हजार रुपैयाँ तिरेकी छु । ऊ अझै ऋण सकिएको छैन भन्छ । मैले उसको अगाडि हात जोडें, खुट्टा ढोगें तैपनि मान्दैन ।

हेर्नुहोस्, लघुवित्त नआउँदा पनि हाम्रो जीवन दुःखसुख चलेकै थियो । अहिले लाग्छ– यी लघुवित्त नआएका भए हाम्रो जीवन यस्तोसम्म हुने थिएन । हामी यसरी ऋणमा डुब्ने थिएनौं । उसबेला सजिलै पाउने भएपछि ऋण लियौं, त्यतिखेर बुद्धि आएन, अब थाहा पायौं तर सबै डुबिसक्यो ।

(लघुवित्त र वित्तीय संस्थाबाट ऋणको पासोमा परेकी चौधरीसँग अनलाइनखबरका सागर चन्द र विजय पराजुलीले गरेको कुराकानीमा आधारित ।)

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?