+
+
गफ स्टेसनमा हर्क, विद्या र उज्ज्वल :

वृद्ध दम्पतीको कथाको भिडियो खिचेर ल्याएपछि सिर्जना गरिएको ‘सुनाखरी’

खासमा आर्टमाण्डुका गीत यसैगरी बन्दा रहेछन् । पहिले गाउँठाउँमा पुगेर भिजुअल खिच्ने र पछि त्यसैअनुसार शब्द कोरेर गीत तयार गर्ने ।

खेम रिसाल खेम रिसाल
२०७९ फागुन ८ गते १९:३५

काठमाडौं । उच्च पहाडी भेगमा रहेको एक घर-कटेरो । घरमा वृद्ध दम्पती छन् । छोरा-बुहारी विदेशमा । एकअर्काको सहारा भन्नु नै वृद्ध श्रीमानलाई श्रीमतीको अनि वृद्धा श्रीमतीलाई श्रीमानको । एकलाई घाउ हुँदा अर्कोलाई दुख्छ, एकलाई पानीले भिजाउँदा अर्कोको मन भिज्छ ।

यो कथा पछिल्लो दशकको नेपाली समाजको समाजको आम कथा हो । यसलाई दृश्यमा मार्मिक ढंगले उतारेको छ, आर्टमाण्डुले । पूर्वी पहाडी जिल्ला पाँचथरको लेक क्षेत्र नुनथलामा यस्तै जीवन बिताइरहेका वृद्ध दम्पती कुमारध्वज राई र कुशमाया राई आफैं चित्रित छन् भिडियोमा ।

यो हाम्रो सेरोफेरो न तिम्रो न मेरो

बादलु किनार चाँदीको घेरो

यो घर कटेरी हाम्रो घरबार हो नि ज्यानमाया

ताराको छानो जूनैको दरबार हो नि ज्यानमाया

सुनाखरी टिपी सिउरी चुल्ठीमा

अल्झियो यो ज्यान पाते बुलाकीमा

आर्टमाण्डुले निर्माण गरेको पछिल्लो गीत ‘सुनाखरी’का शब्द हुन् यी । नेपाली समाजको जीवन्त कथा बोल्ने यी शब्द कोरेका हुन् गीतकार हर्क साउदले । यसमा सुमधुर लयमार्फत प्राण भरेका छन् उज्ज्वल सागरले । अनि आफ्नो स्वरले गति दिएका छन् उज्ज्वल सागर आफैं र विद्या तिवारीले ।

आर्टमाण्डुले आफ्ना हरेक गीतलाई म्युजिकल फिल्म (गीति चलचित्र) भनेर सार्वजनिक गर्छ । अडियो त सशक्त हुन्छ नै त्यसलाई उच्चस्तरको भिडियोमार्फत प्रष्ट पार्नु उसको विशेषता नै हो । ‘सुनाखरी’ आर्टमाण्डुको पछिल्लो सुन्दर सिर्जना हो, अडियो र भिडियो दुवै माध्यममा ।

अनलाइनखबरको गफ स्टेसनमा गीतकार साउदलाई हामीले सोध्यौं- कसरी यति मीठो सिर्जना गर्नुभयो ?

‘सुनाखरी मेरोभन्दा पनि निर्देशक नवीन चौहानको सिर्जना हो । उहाँहरुले भिडियो खिचेर ल्याएपछि त्यसैअनुसार गीत रचना गरेको हुँ,’ उनी भन्छन् ।

खासमा आर्टमाण्डुका गीत यसैगरी बन्दा रहेछन् । पहिले गाउँठाउँमा पुगेर भिजुअल खिच्ने र पछि त्यसैअनुसार शब्द कोरेर गीत तयार गर्ने । हर्क सुनाउँछन्, ‘एक वर्षअघि घुमी घुमी गीतको छायांकनका लागि हामी पाँचथर पुगेका थियौं । काम सकाएर हामी फर्कियौं, निर्देशक नवीनजीलगायत साथीहरु त्यतै बस्नुभयो । १५-२० दिनको बसाइमा त्यहाँ धेरै फुटेज खिच्नुभयो । त्यसैमध्येको यो भिडियोले मेरो मन छोयो । अनि केही रिसर्च गरेर गीत लेखें ।’

शब्द कोरिएपछि लय बनाउन त्यो संगीतकारकहाँ पुग्छ । यो गीतका गायकसमेत रहेका उज्ज्वल सागरलाई निर्देशक चौहानले अझ अगाडि नै यसको कम्पोज गर्नुपर्छ भनेका रहेछन् ।  पहाडको उकालो चढ्दै गरेका नवीनले उज्ज्वललाई फोन गरेर ‘सम्झ एउटा गीत बन्यो’ भनेर फोन गरेका रहेछन् ।

‘तीनपातेबाटै आर्टमाण्डुको काम गर्नुपर्छ भन्ने कुरा त थियो, तर मेसो मिलिरहेको थिएन,’ उज्ज्वल सुनाउँछन्, ‘नवीन दाइले कथा विशुद्ध बाबुआमाको हो । पूर्वेली लोकलय मात्रै नगरौं अलि फरक गरौं भन्नुभयो । विस्तारै गतिमा आनन्दसँग बग्ने लय बनाउनुपर्छ भनेर सुझाव दिनुभयो । त्यसैअनुसार गीतको कम्पोज भयो ।’

करिब १० मिनेट लामो गीतको कम्पोजमा उज्ज्वलले निकै मेहनत गरे । पूर्वेली लोकभाकादेखि फ्युजन शैली यसमा पस्किएका छन् ।

कथाअनुसार नै गीत अलि सुस्त गतिमा कम्पोज गरिएको उनी बताउँछन् । सुस्त गतिको गीतको अडियो सुन्दा नचल्ने डर त लागेन ? भन्ने हाम्रो प्रश्नमा उज्ज्वल भन्छन्, ‘यसमा मलाई भिडियो निर्देशकमाथि पूरा विश्वास थियो । उहाँले गरेको काम असफल हुँदैन भन्ने मलाई थाहा थियो । त्यही भएर निर्धक्क आफूलाई लागेजस्तो गर्न पाएँ ।’

गीतको रेकर्डिङमा पनि कुनै सम्झौता नगरिएको उनले बताए । गीतको मास्टरिङ र मिक्सिङका लागि भारतसमेत पुर्‍याइएको उनले सुनाए । लय भरेपछि त्यसलाई गति दिने काम गायक-गायिकाले गर्छन् । सुनाखरीलाई आफ्नो सुमधुर स्वरले गति दिएका छन्, विद्या तिवारी र स्वयं उज्ज्वलले ।

आर्टमाण्डुकी एक किसिमले ‘ब्रान्ड’ गायिका नै बनिसकेकी छन् भन्दा हुन्छ विद्यालाई । ‘तीनपाते’, ‘वाफ’ हुँदै ‘सुनाखरी’सम्म उनको यात्रा निकै सुखद् छ ।

सुनाखरी गाउने क्रमको रमाइलो घटना उनले बाँडिन् । यो गीत गाउन लगाउनका लागि उनलाई ‘अपहरण शैली’मा लगियो रे ।

‘म एउटा कन्सर्टका लागि अभ्यास गरिरहेको थिएँ । आर्टमाण्डुबाट एउटा गीत बनेको र भिडियोसमेत खिचिसकिएको भन्ने त थाहा नै थियो । तर कसले गाउने भन्ने मलाई केही थाहा थिएन,’ उनी सुनाउँछिन्, ‘सागर बुढाथोकी दाइले एक ठाउँमा जानुछ हिंड भनेर लैजानुभयो । नजिकै हर्क दाइ (हर्क साउद)कहाँ चिया खान जाने त होला भनेर सोचेको थिएँ । त्यहाँ गइयो, बानेश्वरको भेनस अस्पतालको केही भित्र उज्ज्वल भाइ (उज्ज्वल सागर) बस्नु हुनेरहेछ । मलाई त थाहा पनि थिएन । अनि भाइले गीत सुनाउनुभयो राम्रो लाग्यो । एकपल्ट सुनेर धीत मरेन । गीत त म सुनेको सुन्यै भएँ । मलाई थाहै थिएन, त्यो त मेरै लागि पो बनेको रहेछ । एक हिसाबले किडन्यापिङ स्टाइलमा पो मलाई लगिएछ (हाँस्दै) ।’

यसरी सुनाखरीको अंग बन्न पाएकोमा उनले खुसी व्यक्ति गरिन् । आर्टमाण्डुको एकपछि अर्को कामले उनलाई गौरवान्वित बनाएको छ । भन्छिन्, ‘संगीतमा यस्तो तरिकाले आफूले गरेको कामले गर्व महसुस गराउँछ अनि हिम्मत पनि दिएको छ ।’

गीतकार साउदलाई आफ्नै कल्पनामा गीत लेख्दा र अरुले पहिल्यै भिडियो खिचेर ल्याएको परिस्थितिमा लेख्दा कति चुनौती हुन्छ त ? यो प्रश्नमा उनले तरवार र फलामको प्रसंग झिके । ‘सुनाखरीका लागि धेरैपटक रि-राइट गरें, चित्त नबुझेर कति पाना च्यातें । जसरी एक हात लामो तरवार बनाउँदा २० धार्नी फलाम खपत गर्नुपर्छ भनिन्छ । त्यसैगरी गीतका केही हरफका लागि धेरै हरफ लेखेर त्यसबाट छान्नुपर्छ,’ उनी भन्छन्, ‘फरक यति हो कहिलेकाहीं तरवार बनाउँदा मेसिन भेटिन्छ, कहिले हातैले बनाउनुपर्छ । गीत पनि त्यस्तै हो, कहिले कथा पहिल्यै तयार हुन्छ, कहिले खोज्नुपर्छ ।’

गीत अहिले सुन्ने मात्रै होइन हेर्ने पनि हो । अझ सुन्नेभन्दा हेर्ने प्रचलन अरु मौल्याएको छ । सुनाखरीको भिडियो यति सशक्त नभएको भए अडियो मात्रै सुन्दा गीत रुचाइन्थ्यो होला ?

संगीतकार तथा गायक उज्ज्वल भन्छन्, ‘अडियो मात्रै सुन्दा वृद्ध दम्पतीको कथा भन्ने थाहा हुँदैनथ्यो होला । आ-आफ्नै कल्पना हुन्थ्यो होला ।’ तर अडियो मात्रै सुन्दा पनि गीत स्तरीय रहेको उनी सुनाउँछन् । तर गीत सुन्ने हो भन्ने प्लेटफर्म पनि बढिरहेकोमा उनी खुसी देखिए ।

गायिका विद्यालाई भने अहिलेको समयमा अडियो र भिडियो एकअर्काको परिपूरक हुन् भन्ने लाग्छ । ‘आर्टमाण्डुमा चाहिं पहिले भिडियो बन्छ, अनि अडियो तयार हुन्छ । भिडियो उच्चस्तरको छ भने अडियो ठीकै बनाएर पनि हुँदैन । दुवै उत्तिकै जरुरी छ । राम्रो गर्न एकले अर्कोलाई झकझकाउँछ,’ उनी भन्छिन् ।

हर्कलाई भने यो प्रविधि र समयको माग लाग्छ । भिडियोको जमाना भएकाले गीतका शब्द अर्को चरणमा मात्रै ख्याल गर्ने गरेको उनी स्वीकार्छन् । ‘अहिले प्रविधिअनुसार अभ्यस्त हुँदै गएका हौं । भिडियो पावरफुल भएकाले पहिले भिडियो नै हेर्ने र त्यसपछि कम्पोज र शब्द सुन्ने गर्छन् । अनि सबै बुझेपछि भने चाहिं साँच्चै गीत राम्रो हुँदो रहेछ । आउने प्रतिक्रियाले खुसी दिने रहेछ,’ उनी प्रष्ट पार्छन् ।

उज्ज्वल झापा विर्तामोडबाट १२ कक्षा सकेपछि संगीतकै लागि काठमाडौं आएका हुन् । जन्मिंदै दृष्टिविहीन हुन् उनी । सानैदेखि संगीतप्रति अगाध लगाव थियो उनलाई । त्यसैले त उनले भारतको प्रयाग संगीत विद्यालयबाट १२ कक्षाअघि नै संगीतमा बी म्युज गरेका थिए । संगीतको सिकाइको धीत नमरेपछि उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट संगीतमै स्नातक समेत गरेका छन् । संगीतप्रतिको उनको रुचि तीव्र बनाएको उनी १० वर्ष होस्टेलमा बिताउँदा रहेछ । त्यहाँको सांगीतिक माहोलले उनलाई गीत संगीतमा हौस्याइरह्यो । उज्ज्वले त्यसबेला गरेको आफ्नो वाचालाई यसरी सम्झिए, ‘काठमाडौं आएपछि घरमै कम्पोज गर्ने, धुनहरु बनाउने काम गरें । दाजु रोशनले गीत लेख्नुहुन्छ । यस्तै ३०-३५ वटा गीत पेण्डिङमा होला अझै । दुई-तीन वर्षभित्र २५ वटा गीत लिरिकल गर्ने भन्ने थियो । पहिलो गीत धुनदेखि १३ वटा चाहिं गरिएछ । आर्टमाण्डु र बाहिरका गर्दा चाहिं लक्ष्य भेटियो होला ।’

हेटौंडाकी विद्या रियालिटी शो नेपाल आइडल र द भ्वाइस अफ नेपालको प्रतिस्पर्धी भएर अनुभवले अरु बढी खारिएकी छन् । आर्टमाण्डुको अंग भएर काम गर्दा मेहनत थप गरौं र राम्रो गीत-संगीत मात्रै श्रोता-दर्शकलाई दिऔं भन्ने उनलाई लाग्छ । ‘बरु समय दिऔं, राम्रो सिर्जना बाहिर ल्याऔं भन्ने लाग्छ,’ उनी भन्छिन् ।

डोटी स्थायी घरमा भएका गीतकार हर्क गण्डक क्षेत्रदेखि पूर्वेली ठेट सबैमा शब्द शिल्प कोर्न सिपालु छन् । श्रोताको सोच र रोजाइ आफूले थाहा पाइयो र त्यसलाई उपहारस्वरुप फर्काउन पाइयो भने खुसी लाग्ने उनी बताउँछन् । भन्छन्, ‘तर मेहनत भने निरन्तर गर्नुपर्छ ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

हर्क साउद, विद्या तिवारी र उज्जवल सागरसँग गरिएको विस्तृत कुराकानी भिडियोमा :

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?