+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मनपरी र दादागिरी

‘मुलुकको छवि नै धमिल्याउने खतरा’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ फागुन ९ गते २१:५५
सोमबार अध्यागमनको सर्भर डाउन हुँदा अलपत्र यात्री

९ फागुन, काठमाडौं । ३५ भन्दा बढी निकायले एकसाथ सेवा दिने ठाउँ हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । सन् २०२२ मा मात्रै ४४ लाख ६६ हजार जनाले प्रयोग गरेको यो विमानस्थलमा भीडभाडसँगै गोलमाल झन् बढ्दैछ ।

सुशासनको मामिला कमजोर हुँदा उडानसम्बद्ध निकाय अध्यागमन, भन्सार तथा प्रहरीका इकाइ विवाद र अनियमिततामा मुछिने क्रम बढेको छ । अहिले त विमानस्थल प्रशासनको नेतृत्वकर्ताहरु नै अनियमित कार्यमा संलग्न भएको घटना बाहिरिएका छन् ।

९ माघमा त्रिभुवन विमानस्थलको नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्राउ गर्‍यो । टर्मिनलसम्म आवातजावत गर्न पाइने पासका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचनाको आधारमा अख्तियारले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।

अख्तियारको टोलीले खानतलासी गर्दा चुडालको कार्यकक्षको स्टिलको दराजमा स्रोत नखुलेको नगद आठ लाख रुपैयाँ भेटिएको थियो । त्योसँगै विदेशी ब्राण्डका महँगो रक्सी र मोबाइल सेट बरामद भएको थियो ।

त्यसको १७ दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पनि घुस प्रकरणमा निलम्बित भए । थाइ स्माइल एयरवेजका इन्जिनियरसँग विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि घुस मागेको अडियो टेप भेटिएपछि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको थियो ।

सुन्नुस् अडियो

अडियो सम्वादमा कुन प्रयोजनका लागि रकमको कुरा भएको खुल्दैन । पैसा दिन समस्या रहेको कम्पनीका प्रतिनिधिले बताएपछि ठाकुरले थाइ स्माइल एयरवेजका जनरल सेल्स एजेन्ट (जिएसए) रवि सिंहसँगै कुरा भइसकेको बताउँछन् ।

कम्पनीका प्रतिनिधि पैसा निकाल्न इन्भोइस (बिल) चाहिने बताउँदा ठाकुरले फेस्टिभल आयोजना गर्न सकिने र वेल्फेयर फन्ड (कल्याणकारी कोष) बाट पनि व्यवस्थापन हुनसक्ने विकल्प सुझाएको अडियोमा सुनिन्छ । उनले भनेका छन्, ‘धेरै दबाव छ, रविसँग कुरा गर्नुस्, अनि फाइनल गरौंला ।’

ठाकुरले बक्यौता असुलीका लागि कुरा गरेको दाबी गरेपनि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन विमानस्थलले विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाहरुबाट करिब २ अर्ब रुपैयाँ राजस्व बक्यौता उठाउन बाँकी छ । एयर एशियासहितका थुप्रै वायुसेवा कम्पनीबाट बक्यौता उठाउन खासै चासो नदिएको आरोप विमानस्थल प्रशासनमाथि लाग्दै आएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यसै हप्ता गरेको विमानस्थलभित्र सञ्चालित पसलहरुको अनुगमनबाट पनि अनियमिततामा विमानस्थल प्रशासनको संलग्नता पुष्टि भएको छ ।

४ फागुनको अनुगमनबाट विमानस्थलभित्रका ९ वटा पसल कारबाहीमा परेका छन् । ती पसलहरुले यात्रुसँग अधिकतम खुद्रा मूल्यभन्दा तीन गुणा बढी असुल्ने गरेको उपभोक्ता हित संरक्षण विभागले पाएको थियो । विमानस्थलभित्रको क्याफेले एक प्लेट मःमको ८५० रुपैयाँ र १०० ग्राम पेस्ताको ७०० रुपैयाँसम्म असुल्ने गरेका छन् ।

विमानस्थलको क्याफे

विभागका अनुसार ती पसलहरुलाई कसुरका आधारमा २ लाखदेखि ३ तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ । विभागका महानिर्देशक महेश भट्टराईका अनुसार ९ वटा पसलबाट १५ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।

वर्षौंदेखि विमानस्थलभित्रका पसलले मच्चाइरहेको लुटबारे विमानस्थल प्रशासन बेखबर थिएन । यात्रुले गुनासो गर्दा पनि विमानस्थल प्रशासनले यस्तो ठगीलाई संरक्षण दिंदै आएको थियो । विमानस्थल प्रशासनको सुशासनमा विचलन आउँदा दैनिक हजारौं यात्रुले पीडित बन्नपरेको छ ।

यात्रु लड्ने गरी बनेको ट्राभलेटर

काठमाडौं विमानस्थलमा ‘आईएमएस एयरपोर्ट सर्भिस’ नामक कम्पनीको पनि दादागिरी रहेको पर्यटनमन्त्री किरातीले दिएको निर्देशन कार्यान्वयन नभएबाट पुष्टि हुन्छ । उनले एक महिनाकै बीचमा दुई पटकसम्म विमानस्थल निरीक्षण गरेर ट्राभलेटर (विद्युतीय भर्‍याङ) लाई यात्रु नलड्ने बनाउन निर्देशन दिइसके । तर, आईएमएसको प्रभावमा रहेको विमानस्थल प्रशासनले मन्त्रीको निर्देशन नसुने झैं गरिरहेको छ ।

कर्मचारी रिझाएको आईएमएसले विमानस्थलमा आफन्त वा साथी लिन पुगेकालाई प्रतिक्षालयमा बस्दा १०० रुपैयाँसम्म शुल्क उठाइरहेको छ । सार्वजनिक स्थलमा गरिएको यस्तो लुटमा विमानस्थल प्रशासन मौन छ । आईएमएसले सम्झौता विपरीत भवनसहितका संरचना बनाउँदा चुप बसेको विमानस्थल प्रशासन महँगो पार्किङ शुल्कबाट पीडित यात्रुलाई राहत दिने पक्षमा पनि देखिएको छैन ।

अध्यागमन, भन्सार र प्रहरीको मिलेमतो

त्रिभुवन विमानस्थल प्रशासनमा मात्र हैन, त्यहाँभित्रका अन्य सेवा इकाइहरु पनि उत्तिकै समस्याग्रत देखिएका छन् । विमानस्थलभित्रको अध्यागमन कार्यालयको सेवा यात्रुमैत्री नभएको गुनासो पटक–पटक आउने गरेको छ ।

अध्यागमनसँगको मितेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाइने गरेको कुरा विमानस्थलको ‘ओपन सेक्रेट’ हो । मानव तस्करहरुले विभिन्न देशमा घरेलु कामदारका रुपमा नेपाली महिला लैजान अध्यागमनसँग तालमेल मिलाउने गरेका छन् । अध्यागमनमा मौलाएको अनियमितताको मार विदेशमा पुगेपछि श्रमिकहरुले भोग्नु परिरहेको छ ।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरु विमानस्थलकै बाटो भएर आउजाउ गर्दा अध्यागमन कार्यालय दर्शक मात्र बनेको विभिन्न घटनाहरुले पुष्टि गर्छ ।

सभर्र डाउन हुँदा रिसाएका यात्री

अध्यागमनको सर्भर पटक-पटक डाउन हुँदा यात्रीले सास्ती भोग्नु परेपनि कुनै पक्ष जिम्मेवार बनेका छैनन् । सोमबार मात्रै पनि अध्यागमनको सर्भर नचल्दा केही घण्टा उडान नै प्रभावित भएको थियो ।

विमानस्थलको भन्सार कार्यालय नेपालकै प्रमुख ‘कमाउ अड्डा’को अग्रस्थानमा पर्छ । सामान्य नागरिकले एउटा मोबाइल ल्याउँदा सास्ती बेहोर्नुपर्छ भने त्यही भन्सार छलेर आएका अवैध सुन बजारमा छ्याछ्याप्ती भेटिनुले विमानस्थलको बेइज्जत गरिरहेको छ ।

यस्ता अवैध कार्यमा विमानस्थल र वायुसेवा कम्पनीका कर्मचारीदेखि प्रहरीसम्म मिल्ने गरेको तथ्य यसअघिका विभिन्न घटनाले देखाइसकेका छन् । ९ फागुन, २०७८मा विमानस्थलको पर्खाल नाघेर एक व्यक्ति विमान चढ्न पुगेको घटनाले नै विमानस्थलको सुरक्षा निकायको कमजोरी उदांगो पारेको थियो ।

दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणले विमानस्थलभित्र प्रहरीदेखि भन्सारसम्मका कर्मचारी कसरी अवैध धन्दाको मतियार बनेका छन् भन्ने छताछुल्ल पारेको थियो । विशेष अदालतले सुन तस्करीको सेटिङमा सघाएका श्यामकृष्ण च्यामु श्रेष्ठलाई दोषी ठहर गर्दै ४ करोड ५७ लाख बराबर बिगो र जरिवाना हुने ठहर गत माघमा गरेको छ । १ वर्ष तीन महिना कैद सजाय पनि तोकेको छ । विमानस्थलमा रेडियो अपरेटरका रुपमा काम गर्दा कमाएको अवैध सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ ।

सुन तस्करीमा विमानस्थलका कर्मचारी संलग्न हुने क्रम निरन्तर छ । १६ वैशाख २०७९ मा दुबईबाट आएको हिमालयन एयरलाइन्सको जहाजको शौचालयबाट ९ किलो सुन निकालेर ल्याउँदा सफाइ कर्मचारी ताराकान्त चौधरी, भीमकुमार माबो र सुमन तामाङ पक्राउ परेका थिए ।

त्यसअघि २०७८ फागुनमा विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईं विदेशबाट ल्याइएको अवैध सुन भित्र्याउन सघाएको आरोपमा पक्राउ परेका थिए । फ्लाइ दुबईको विमानबाट आएका कमल घिमिरेले ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री विमानस्थलबाट निकाल्न गुरागाईँले सघाएको प्रहरीको दाबी थियो ।

त्यसअघि पनि सुन ल्याउन सघाएको अरोपमा विमानस्थलका कर्मचारीहरु पटक–पटक पक्राउ परेका थिए ।

मन्त्री र सचिवहरुको सोर्सफोर्सबाट करारमा जागिर खान विमानस्थल छिर्नेको संख्या सानो छैन । सुरक्षा निकायका कर्मचारीसँगको मिलेमतोमा अवैध गतिविधि गरेर कमाउने ध्याउन्नमा लागेकाहरुका लागि काठमाडौं विमानस्थल ‘सुनको अण्डा पार्ने कुखुरा’ सावित हुँदै आएको छ ।

ग्राउन्ड ह्यान्डिलिङ गर्ने स्टाफबाट ब्यागेज फुटाएर हुने चोरीका घटना पटक-पटक दोहोरिंदा पनि विमानस्थल प्रशासन मौन छ । विमानस्थलको अतिविशिष्ट कक्षको दुरुपयोग पनि रोकिएको छैन ।

सुशासनको समस्या

भन्सार, अध्यागन र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले नै विमानस्थललाई आयस्रोतका रुपमा बुझेपछि विभिन्न छिद्र खोजेर लाभ उठाउन सबै उद्धत् भएको पर्यटन मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘दलका प्रमुख नेता, मन्त्री र सम्बद्ध निकायका हाकिमलाई रिझाएर विमानस्थलमा सरुवा हुने होड चल्छ’, उनी भन्छन्, ‘पहिल्यै टन्न खर्च गरेर विमानस्थल पुगेपछि औंला सिधा गर्ने कुरै भएन, पहिलेदेखि नै त्यही भइरहेको हो ।’

उनकाअनुसार विमानस्थल कर्मचारीहरुको लागि मुख्य आकर्षणको ठाउँ हो । विमानस्थलमा पुग्नु भनेकै ‘कमाउने लाइसेन्स’ पाउनु हो भन्ने भाष्य नै बनेको उनले बताए । ‘ज्वाइँ, छोरा, छोरी, बुहारी एयरपोर्टमा छन् भन्न पायौं भने हामी कति गर्व गर्छौं ?’ उनी व्यंग्य गर्छन्, ‘त्यहाँ पुगेर पनि नकमाउने त नालायकै हो भन्ने सामाजिक परिवेशमा कसलाई के भन्ने ?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला यात्रुको चाप बढ्दै गएपछि विमानस्थल प्रशासन मुलतः व्यवस्थापन र सुरक्षामा केन्द्रित भएको बताउँछन् । सुशासन प्रवर्द्धनका लागि सरकारबाट जारी हुने निर्देशनहरु स्टाफ मिटिङबाट राख्ने गरेको उनले बताए ।

‘विमानस्थलमा उड्डयनतर्फ मात्र ४०० स्थायी र ५०० भन्दा बढी अस्थायी र करार कर्मचारी छन्’, उनी भन्छन्, ‘कतिपयबाट हुने बदमासी समात्न खोजेका छौं, त्यसमा पूर्ण सफल हुन सकेका छैनौं ।’

उनका अनुसार ५० भन्दा बढी एजेन्सी विमानस्थलभित्र बसेका छन् । २७० संस्था र निकाय दैनिक कार्यसम्पादनको क्रममा विमानस्थलसँग जोडिन्छन् । ती सबैलाई व्यवस्थापन गरेर सुशासन सुनिश्चित गर्न केही समस्या परेको उनले स्वीकार गरे ।

विमानस्थलभित्रको गतिविधिको निगरानी अन्य निकायले पनि गरिरहेको र त्यसमा विमानस्थल प्रशासनले सचेत सहयोग गरेको प्रवक्ता सिटौलाले बताए । ‘विमानस्थलमा सुशासन कायम गर्ने प्रयास नभएको होइन । सबै कर्मचारीलाई प्रोटोकलमा बस्न, सम्पत्ति विवरण बुझाउन, आचारसंहिता पालना गर्न लगाएका छौं’, उनले भने, ‘तर, छिटपुट रुपमा हुने घटनाले सुशासन सुनिश्चित नभएको देखाएको छ ।’

पर्यटन सचिव र हवाई सेवा विभागका महानिर्देशक रहिसकेका यज्ञप्रसाद गौतम विमानस्थलमा सुशासन बलियो बनाउन सबै लाग्नुपर्ने बताउँछन् । ‘त्यहाँ नागरिक उड्डयन, अध्यागमन, भन्सार र अरु सेवाप्रदायकका आ–आफ्ना काम, कर्तव्य र अधिकार छन् । स्वतन्त्र भएर काम गर्ने उनीहरुलाई आफ्नो प्रणालीको सीमा नाघ्ने छुट छैन,’ उनी भन्छन्, ‘कसैले कानुन मिचेर गरेको काम बाहिर आउनु राम्रै हो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?