+

किन फरक हुन्छ मान्छेको आवाज ?

२०७९ फागुन  ११ गते २०:४७ २०७९ फागुन ११ गते २०:४७
किन फरक हुन्छ मान्छेको आवाज ?

काठमाडौं । मानिस मात्र होइन हरेक प्राणीले स्वरको माध्यमबाट एकअर्कासँग संवाद गर्छन् । स्वर विभिन्न थरीको हुन्छ । कसैको मसिनो त कसैको मोटो, नि कसैको ठूलो हुन्छ त कसैको सानो स्वर ।

व्यक्तिको अनुहार नदेख्दा पनि हामी स्वर नै ठम्याउन सक्छौं । स्वर कसरी आउँछ ? किन मानिसअनुसारको बोली फरक हुन्छ । स्वर के कारणले बिग्रिन्छ ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ प्रा. डा. दीपेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी :

के हो स्वरयन्त्र ? कसरी निस्कन्छ स्वर ?

स्वरघाँटीमा भएको स्वरयन्त्रबाट निस्कन्छ । स्वरयन्त्रलाई मेडिकल शब्दमा ल्यारेंक्स पनि भनिन्छ । स्वरयन्त्रमा दुईवटा कर्डको बीचबाट हावाको माध्यमबाट स्वर निस्कन्छ । स्वरयन्त्रबाट आवाज निकाल्न केही अंगहरुले साथ दिएका हुन्छन् । स्वरयन्त्र घाँटीको तल्लो भागबाट दुई भागमा बाँडिन्छ । एउटा  श्वासनली र अर्को खानाखाने नली । दुई भागको अगाडिपट्टि श्वास फेर्ने नली हुन्छ र पछाडिपट्टि खाना खाने नली हुन्छ ।

आवाज उत्पादन हुने श्वासनलीको माथिल्लो भागको भोकल कर्ड भित्र कम्पन भएर स्वर उत्पादन हुन्छ । स्वरलाई मीठो बनाउन नाक, घाँटी, अनुहारका हड्डी, मांसपेशी र जिब्रोको प्रमुख भूमिका हुन्छ । यी  विभिन्न अंगले स्वर मीठो बनाउन भूमिका खेल्छन् ।

मानिसअनुसारको बोली फरक हुनुको खास कारण के हो ?

व्यक्तिको अनुहारको आकारप्रकार, शरीरको बनावट फरकफरक भएजस्तै स्वर पनि फरक किसिमको हुन्छ । कसैको मधुरो, कसैको तिखो, कसैको भासिएकोजस्तो र कसैको धोद्रो हुन्छ । यो सामान्य हो ।

कसैको स्वर भासिएको हुनुमा कुनै समस्या भएर हो ?

आवाज बिग्रिएर आवाज भासिनु विभिन्न कारण हुन्छन् । सामान्य रुपमा भाइरस संक्रमणजस्तै रुघा लाग्दा र घाँटीमा संक्रमण भएर पनि आवाज भासिने गर्छ । स्वरयन्त्र सुन्नियो भने पनि आवाज भासिन सक्छ । घाँटीमा नाकको पछाडि साइनसहरुबाट घाँटीमा संक्रमण भयो र त्यहाँबाट पिप बग्दै भोकल कर्डमा पुगेको छ भने क्षयरोग हुँदा पनि घाँटी दुख्ने र आवाज नआउने हुन्छ । अत्यधिक बोल्नुपर्ने पेसा जस्तै, गायक, शिक्षक र उद्घोषकहरुमा भोकल कर्डको बीचमा अन्तर आएर पनि आवाज भासिन सक्छ । कसैकोमा स्वरयन्त्रमै स-साना गाँठा आउने, पानीको फोका पलाउँदा पनि स्वर भासिन सक्छ । स्वरयन्त्रमा ट्युमर र क्यान्सर भएर आवाज बिग्रिन सक्छ ।

आवाज धोद्रो किन हुन्छ ?

सामान्य आवाज एक्कासि परिवर्तन भएपछि आवाज धोद्रो भएको बुझिन्छ । रुघा लागेर वा घाँटीमा संक्रमण र मद्यपान गर्नेहरुमा स्वर धोद्रो हुन सक्छ । रुघा लागेर वा घाँटीमा संक्रमणका कारण एक साताको लागि आवाज धोद्रो हुन सक्छ । त्यो अवस्थामा खासै चिन्ता लिनुपर्दैन । त्यसबेला चिसो खानेकुरा कम खाने गर्दा निको हुन्छ । तर घाँटी बसिरहँदा पनि जबर्जस्ती बोलिरहँदा भने अझै जटिल हुँदै जान्छ ।

वयस्क व्यक्ति, त्यसमा पनि धुम्रपान गर्ने बानी छ भने महिना दिनसम्म पनि स्वर धोद्रो हुन सक्छ । जुन गम्भीर स्वास्थ्य समस्या हो । कहिलेकाहीं स्वरयन्त्रमा नै समस्या भएर त्यस्तो समस्या आउन सक्छ ।

खराब आवाज कस्तो हुन्छ ?

कसैको मधुर आवाज हुन्छ कसैको तिखो हुन्छ । सामान्य आवाज एक्कासि बिग्रियो भने त्यसलाई खराब आवाज वा भ्वाइस डिसअर्डर मानिन्छ । जस्तै, सामान्य आवाजभन्दा बाहिरको धोद्रो आवाज, भासिएको आवाज, भकभकाउने जस्ता समस्यालाई लिन सकिन्छ ।

मानसिक समस्याले पनि स्वरयन्त्रमा असर गर्छ ?

मानसिक समस्याले पनि भोकल कर्डमा असर गर्छ । उनीहरुमा एक्कासि केही कुराले आघात पुर्‍याउँदा स्वर नै नआउनेसम्म हुन्छ । त्यसको लागि मनोपरामर्श र स्पिच थेरापीबाट बिस्तारै उपचार गर्न सकिन्छ । त्यस्तै,  धेरैमा घाँटीमा केही अड्किएकोजस्तो, मासु पलाएको वा असहज अनुभव भएका बिरामीहरुमा कुनै पनि रोगको लक्षण नदेखिन सक्छ । तनाव, कुनै किसिमको त्रास, एन्जाइटीको कारण पनि घाँटीमा समस्या आउन सक्छ ।

गायकहरुमा बढी स्वर प्रयोग गरेकै कारण घाँटीमा क्यान्सर हुन्छ भन्ने छ नि ?

गीत गाएको कारण वा स्वरलाई उच्च पारेकै कारण घाँटीको क्यान्सर हुन्छ भन्ने हुँदैन ।   अत्यधिक मसालेदार खानेकुरा खाने, धुम्रपान गर्ने, रक्सी अत्यधिक खानेमा स्वरयन्त्रमा क्यान्सर हुन सक्छ । अझ धुम्रपान गर्ने, रक्सी अत्यधिक खानेमा २२ गुणा बढी ल्यारेंक्समा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

तिखो वा चर्को स्वरले बोल्दा स्वास्थ्य समस्या हुन्छ वा हुँदैन ?

तिखो वा चर्को स्वरले बोल्दा स्वास्थ्य समस्या हुन सक्छ । चर्को आवाजमा बोल्दा भोकल कर्डमा रगत जम्ने वा चोट पुग्नुका साथै आवाजमा परिवर्तन हुन्छ । कसैले लामो समयसम्म अत्यधिक बोलिरहेको छ भने भोकल कर्डमा विभिन्न समस्या देखा पर्छ । पेटको कारण एसिडिटी बढेर पनि स्वरयन्त्रमा समस्या पार्छ ।

सुरुमा बालक र बालिकाको स्वर उस्तै हुन्छ । उमेर बढेसँगै पुरुषको आवाज धोद्रो हुँदै आउने र महिलाको सुरिलो हुँदै जाने र वृद्धामा आवाज मोटो आउनेजस्ता उमेर अनुसार स्वर परिवर्तन किन हुन्छ ?

उमेरसँगै आवाजमा परिवर्तन हुँदै जान्छ । बाल्यकालमा बच्चाको भोकल कर्डको आकार सानो हुन्छ, पूर्ण रुपले विकास भइसकेको हुँदैन । त्यसैले स्वर मसिनो र सुरिलो हुन्छ । उमेर बढेसँगै भोकल कर्डको पनि आकार बढ्ने भएकाले स्वरमा पनि परिवर्तन आउँदै जान्छ ।

महिला र पुरुषको स्वरयन्त्रको बनावट फरक हुन्छ । आवाजको मात्रा र आकार महिलाको पुरुषको दाँजोमा सानो हुन्छ । जसकारण महिलाको आवाज सुरिलो हुन्छ । जब वृद्धावस्थामा पुग्छ तब स्वरयन्त्रमा हुने विभिन्न तहभित्र कर्डलाई नरम बनाउने तहमा कमी आउँदै जान्छ   । त्यसबाहेक जति युवावस्थामा स्वरयन्त्र चलायमान हुन्छ उमेर बढेसँगै त्यसको गति कम हुँदै जान्छ । त्यसैले वृद्ध उमेरमा स्वर कडा खालको आउँछ ।

आवाजको हाइजिनलाई कसरी सन्तुलनमा राख्न सकिन्छ ?

सर्वप्रथम आफ्नो आवाजको मात्रा पहिचान गर्नुपर्छ । लगातार उच्च आवाजमा बोल्न कम गर्नुपर्छ । बोल्नु परेको अवस्थामा बिस्तारै समय-समयमा विश्राम लिंदै बोल्नुपर्छ । त्यसबाहेक मद्यपान, धुम्रपान, सुर्तीजन्य पदार्थ वा अत्यधिक चिसो खानेकुरा खानुहुँदैन । आवाजमा समस्या आएमा मनतातो पानी खाने, कम बोल्ने, चिसो खानेकुरा कम खाने गर्दा निको हुन्छ । तर घाँटी बसिरहँदा पनि जबर्जस्ती बोलिरहँदा झनै जटिलता हुँदै जान्छ ।

आवाज स्वरयन्त्र
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’