+
+
द्वन्द्वमा बलात्कार पीडित महिलाको चीत्कार :

‘प्रधानमन्त्री एकछिन रुन्छन्, हाम्रो जीवन सधैं आँसुमा डुबेको छ’

शिला भन्छिन्, ‘आश्वासनले न्याय पाइन्न, प्रधानमन्त्री वर्षमा एकपटक रुन्छन्, गत वर्ष देउवा रोए, यसपटक प्रचण्ड, तर हाम्रो जीवन सधैं आँसुमा डुबेको छ ।’

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७९ फागुन ११ गते २१:४४

११ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मैदानी भूगोल । घरको एकापट्टि जंगल र अर्कोपट्टि खोला । सूर्योदयसँगै खाना खाएर भैंसी चराउन जंगल जानु र भैंसी लिएर घर फर्कनु १२ वर्षीया सखी (नाम परिवर्तन) को दिनचर्या नै थियो ।

८ मंसिर २०५८ मा माओवादीले दाङको घोराही ब्यारेक आक्रमण गरेसँगै देशमा पुनः संकटकाल घोषणा भयो । गाउँ–शहर सबैतिर सेना परिचालित थिए ।

सधैंझै सखी राँगा चराउन खोला पारि गएकी थिइन् । मुखमा कालो दलेका ४–५ जना आर्मीको टुकडी अगाडि गयो । एकपछि अर्को गरी अगाडि बढेका सेनाको लामै लाइन रहेछ । अन्तिममा रहेका केही सेनाले सोधे, ‘नानी, अगाडि आर्मी गएको देख्यौ ? कता गएको छ ?’

सखीले सहजै भनिन्, ‘यतै अगाडि गएका छन् ।’

‘यो केटी त माओवादीको सुराकी रहेछ’ भन्दै एकजना सेनाका कमाण्डरले कपाल समातेर ताने । अपशब्द बोल्दै उनलाई पिट्न थाले र घिसार्दै जंगलतिर लगे ।

तीन जना सेनाले बलात्कार गर्दासम्म उनी होशमै थिइन् ।

होश फर्कंदा सूर्यास्त हुन लागेको रहेछ । सिमसिम पानी पर्दै थियो । शरीरभरि जुकाले रगत चुसिरहेका थिए । टाउकोबाट रगत बगिरहेको थियो । निर्वस्त्र बनाइएको शरीरमा नीलडाम नै नीलडाम थिए । एकछिन त उनलाई आफू कहाँ छु, के भइरहेको छ, केही थाहा भएन ।

उनले लगाएको कटराइजको पाइन्ट र अरु कपडा पर झाडीमा फ्याँकिएका रहेछन् । खोलामा नुहाएर उनी बल्लतल्ल घर पुगिन् ।

सूर्योदयसँगै जंगल गएर सूर्यास्त अघि नै घर फर्कने सखीको जीवन सुखदुःखले चलिरहेको थियो । सेनाको सामूहिक बलात्कारसँगै बेहोश भएकी सखीको होश आउँदा सूर्यास्त हुन लागेको थियो । भोलिपल्टबाट उनको जीवनमा सुख बोकेर कहिल्यै सूर्योदय भएन ।

****

सखी ५ वर्षकी हुँदा उनकी आमा बितिन् । २०५७ सालमा उनका दाइ नेपाल प्रहरीमा भर्ती भए । दाइ प्रहरीमा गएदेखि नै तत्कालीन नेकपा माओवादीका कार्यकर्ता आएर घर घेर्दै छोरालाई प्रहरीबाट फिर्ता गर्न दबाव दिन थाले ।

‘बरु मलाई मार, तर म छोरालाई फिर्ता गर्दिनँ, सक्दिनँ’, उनको बुवाको जवाफ यस्तै हुन्थ्यो । केही समयपछि बुवा मृत भेटिए । विष पिएर मरेको भन्ने हल्ला चल्यो तर मेडिकल रिपोर्टमा त्यस्तो देखिएन । बुवाको हत्या कसले गर्‍यो, कि के भयो ? १२ वर्षमा दौडिरहेकी उनलाई थाहा हुने कुरा भएन ।

उनका दाइ एकदिन प्रहरीको सुरक्षामा घर आए, सामान्य काजक्रिया गरेर भोलिपल्टै फर्किए । अब सखीको जीवनमा सानो भाइ र वस्तुभाउसँगै सिंगो घरको जिम्मेवारी आइलाग्यो ।

माओवादी युद्धले गति लिइरहँदा गाउँघरमा गतिविधि तीव्र बन्न थाल्यो । राति माओवादी आउँथे, खाना र बास माग्थे । दिनमा सेना आउँथे र माओवादी किन पालेको भन्दै गालीगलौज र कुटपिट गर्थे । कहिलेकाहीं राति माओवादीको सांस्कृतिक कार्यक्रम हेर्न जाने बाहेक सखीलाई पार्टीबारे केही थाहा थिएन ।

तर, सेनाले सुराकी भन्दै बलात्कार गरेपछि उनको जीवन थप संकटमा फस्यो । बलात्कारमा पर्नुअघि उनी एकपटक मात्रै महिनावारी भएकी थिइन् ।

घर फर्किएपछि सखी लगातार बिरामी पर्न थालिन् । ज्वरो आउँथ्यो । पछि थाहा पाइन्, पेटमा बच्चा बसेको रहेछ ।

दिउँसो प्रहरी–आर्मीको ज्यादती, राति माओवादीको दबाव । बस्ती ‘साँढेको जुधाइमा पीडित बाच्छो’ बन्यो । एकदिन आर्मीले गाडीमा उठाएर लग्यो । महिलाको स्तन चलाउनु त सामान्य घटना हुन्थ्यो । कुटपिट गरेर गाडीको ढालाबाट फालिदियो । ढुंगामा ठोकिएर उनको ढाडमा चोट लाग्यो । ढाड दुख्ने समस्या अहिले पनि छ ।

चौधरी बस्ती । त्यतिबेला ८ कक्षाभन्दा माथि पढेका मानिस भेट्न मुश्किल हुन्थ्यो । एकजना स्नातक पढेका युवकले उनलाई मन पराउँथे । गाउँलेले पनि बिहे गरिदिन जोड गरे । उनको ती युवकसँग विवाह भयो, तर शर्त थियो बच्चा फाल्ने ।

विवाह नगरी गर्भपतन गराउन कानुनी झञ्झट थियो । विवाहको पहिलो रातबाटै उनका पतिले प्रश्न गर्न थाले, ‘यो बच्चा कसको हो ?’

सखी भन्छिन्, ‘अपशब्द बोल्दै केरकार गर्न थाले, कति जनासँग सुतिस् भन्दै गाली गरे, तर मलाई त्यतिबेला सुत्नु भनेको के हो नै राम्रोसँग थाहा थिएन ।’

२०४६ सालमा जन्मिएकी सखीको २०४१ सालको जन्ममिति राखेर नागरिकता बनाएर गर्भपतन गराइयो । बच्चाको भ्रूण गयो तर आरोप, लाञ्छना र दुःखको भ्रूण हुर्किइरह्यो ।

अपमानजनक जीवन बाँच्नेक्रममा एउटा छोरा जन्मियो । तर पनि व्यवहार सुध्रिएन । गाउँ समाजमा आर्मीले बलात्कार गरेकी केटी भनेर चर्चा हुँदा उनको पतिलाई रिस उठ्दो रहेछ । अन्ततः उनको श्रीमानले उनलाई छाडेर अर्को विवाह गरे ।

न्यायको लागि संघर्ष

केही समय सासूससुरासँग बसिन् । एकदिन राति १२ बजे उनीहरूले पनि घरबाट निकाले । अरुकै घरमा बसेर आफ्नै जग्गामा उनले पोल्ट्री फार्म सुरु गरिन् । दुइटामध्ये एउटा टहरा ससुराले जलाइदिए । उनी भाडामा बस्न थालिन्, तर त्यहाँ पनि ३/४ महिनापछि नराम्रो व्यवहार गर्न थाले । अति भएपछि उनले अंश माग्ने विचार गर्दै भलमन्सा (मुखिया) लाई उजुरी गरिन् । तर, अंशप्राप्तिको मुद्दा सहज ढंगले अगाडि बढेन ।

२०७४ सालमा स्थानीय तहको न्यायिक समितिमा उनले उजुरी दिइन् ।

शान्ति समिति बनेपछि द्वन्द्वपीडितलाई उजुरी दिन भनियो । सखीलाई न्याय पाउने विश्वास थिएन । तैपनि उनी अन्तिम दिन कार्यालय पुगिन् । पुरुष–महिला सबै थिए । उनीहरूले बलात्कारको प्रमाण ल्याऊ, नत्र मुद्दा दर्ता हुँदैन भने ।

शान्ति समितिको नेतृत्वले गरेको असंवेदनशील व्यवहारले उनलाई थप पीडा दियो । त्यहाँ केवल घाइते मात्रै भनेर उजुरी दर्ता गरियो ।

‘त्यो दिन मलाई असाध्यै गाह्रो भयो, आफ्नो जिन्दगी बर्बाद भएको छ, तर न्याय दिने निकायले त्यस्तो व्यवहार गर्छ’ उनी विगत सम्झँदै भन्छिन्, ‘घर आइपुग्दा मेरो एउटा खुट्टामा मात्र चप्पल रहेछ, म अर्धचेत जस्तो भएँ, विश्वास गुम्दा हुने पीडा झन् भयानक हुनेरहेछ ।’

सखीको जीवनमा एकपछि अर्को अन्यायका चाङ लागे । शान्ति समितिमा गएपछि झन् बढी मानिसले उनको बारे थाहा पाउने अवस्था मात्रै बन्यो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन काठमाडौं आउन सम्भव थिएन ।

पछि नेपालगञ्जमा सत्य निरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा आइन् । उनले ६ महिनामा न्याय दिने बाचा गरिन्, तर त्यस्ता धेरै ६ महिनाहरू बिते, न्याय केवल मृगतृष्णा बनिरह्यो ।

उनी जिल्ला प्रशासन गइन्, सीडीओ र डीएसपीले हाँसेर उडाइदिए । जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएन । दुई दिन लगाएर उच्च अदालत पुगिन् । न्यायाधीशले भने, ’न्याय दिलाउने रहर थियो तर कानुन छैन ।’ उनले बाहिर जान सुझाव दिए ।

ओरेक नामक गैरसरकारी संस्थाको सहयोगमा उनले तीन महिना ओशो तपोवनमा गएर ध्यान पनि गरिन् । ‘पछि एउटा एनजीओले डिजिटल स्टोरी बनायो । त्यो त उनीहरूको व्यवसाय रहेछ । हामीले न्याय पाइएन । उनीहरूले हामीलाई बेचेर जीवन चलाए’, उनी भन्छिन् ।

पछि ट्रायल इन्टरनेशनलले न्याय दिने भन्दै झण्डै दुई वर्ष पछ्यायो । सबैतिरबाट धोका पाएको उनलाई विश्वास लागेन । तैपनि उनीसँग केही विकल्प बाँकी थिएन । नेपालमा तीनै तहमा न्याय नपाएपछि यो प्रमाणसहित उनको मुद्दालाई विदेश पुर्‍याइयो । अन्ततः जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयले मुद्दा दर्ता गर्दै पीडकलाई कारबाही गर्न सिफारिस गरिसकेको छ ।

गुजाराका लागि संघर्ष र न्यायको आशा

सखीलाई मोबाइलको नयाँ चार्जर बनाउन आउँछ । अंश मुद्दा जितेर दुई कट्ठा जमिन पनि पाएकी छिन् । सुरुमा उनले एउटा पुस्तक किनेर अध्ययन गर्दै च्याउ खेती गर्न सिकिन् । बिस्तारै उनी च्याउ खेतीको प्रशिक्षक बनेकी छन् ।

दुःख सुख गरेर छोरो पढाइरहेकी छिन् । द्वन्द्वले जीवन बिथोलिएकोले उनको १७ वर्षीय छोरा अहिले माध्यमिक तहमै अध्ययन गर्दैछन् । आधा जीवन दुःख, कष्ट र अपमानमा बित्यो । सखीलाई राज्यले दिने राहतको रुपैयाँ भन्दा बढी मनको शान्तिको खोजी छ । ‘पैसाले मात्रै केही हुँदैन । मनको शान्ति खोजेका हौं’ उनी भन्छिन्, ‘राज्यले सार्वजनिक रूपमा क्षमा मागोस्, न्यायका लागि नीतिगत व्यवस्था गरोस् ।’

द्वन्द्वमा बलात्कार पीडित अधिकांश महिलालाई पाठेघरदेखि क्यान्सरसम्मको समस्या छ । यातनाले काम गर्नसक्ने शरीर बचेको छैन । ‘पीडितका बालबालिकालाई निःशुल्क शिक्षा र पीडितलाई प्रभावकारी स्वास्थ्य उपचार गर्नुपर्छ’ सखी भन्छिन्, ‘न्याय नपाएसम्म लडिरहन्छौं । अब बिग्रन बाँकी के छ र ? कसैको डर छैन ।’

****

लुम्बिनी प्रदेशको पहाडी जिल्ला । माओवादी द्वन्द्व उत्कर्षमा थियो । २०५८ सालमा धर्ती १३ वर्षकी थिइन् । बुवा–आमा लुगा सिउने, ‘विष्ट’ हरूको कपडा पुर्‍याउने र बाली उठाउने उनको काम हुन्थ्यो । उच्च जातका भन्नेहरूले गर्ने छुवाछूत र भेदभावले उनको मनमा चिसो पस्थ्यो । उनको ठूलो बुवाको छोरो युद्धमा ‘होल टाइमर’ भएका थिए ।

गाउँको परिवेश, गरिबी र उच्च जातका भनिने मानिसहरूको अपमानका कारण उनी १३ वर्षको उमेरमै माओवादीमा लागिन् ।

धर्तीको कार्यक्षेत्र पर्‍यो समथर भूभाग । उनलाई औलो लाग्यो र बिरामी परिन् । त्यही बेला माओवादीले दाङको घोराही ब्यारेक कब्जा गरेको थियो । उनलाई नेताहरूले घर गएर आराम गर्न भने ।

घरमा कुर्ता सुरुवाल लगाउँदा माओवादी भनिने डरले उनलाई आमाले फरिया चोलो लगाउन दिएकी थिइन् । ज्वरो आइरहेको थियो । अस्पताल पनि जान नसक्ने अवस्थामा सुतिरहेको बेला सेनाले घर घेर्‍यो । सबैलाई उठाएर हेर्‍यो, केही नभेटिएपछि छाडेर हिंड्यो । लगत्तै गाउँमा कसले कान फुकिदियो, सेना पुनः फर्कियो र घर घेर्‍यो । सबैलाई कुटपिट गर्‍यो र धर्तीलाई घिसार्दै घर माथिको जंगलमा लग्यो ।

अनि सुरु भयो उनको नारकीय जीवन । बाँधिएको हात–खुट्टा अनि आँखामा कालोपट्टि, मुढाजस्तै बनाएर खाल्टामा फालिदियो ।

पुसको जाडो थियो । एकजना सेना आएर सोध्यो, ‘जाडो भयो तिमीलाई ?’ धर्तीले ‘हो’ भनिन् । ऊ खाल्डोमा झरेर कपडा माथि सार्न थाल्यो । ऊ लगायतले रातभरि पालैपालो बलात्कार गरे । उनी बेहोश भइन् । ‘म होशमा आउँदा मेरो नाकको फुली पनि झिकेर लगेछन् । दिनभरि यातना दिने, रातभरि बलात्कार गर्ने, म अर्धचेत अवस्थामा पुगेें’ उनी विगत स्मरण गर्छिन् ।

उनलाई पछि शहरको ब्यारेकमा ल्याए । यातना र बलात्कार त कति हो कति । एउटै भाँडोमा सबै बन्दीलाई खाना खान दिन्थे । केही दिनपछि उनलाई हेलिकप्टरमा राखेर अर्को ब्यारेकमा लगे । त्यहाँ उनलाई १४–१५ महिनासम्म पालमा राखे ।

ब्यारेकमा पुरुष र महिलालाई यातनाको शैली फरक थियो । महिलालाई शौच नलागे पनि शौचालय लैजाने र बलात्कारसँगै दुर्व्यवहार गर्ने ।

पछि उक्त ब्यारेकमा सेनाको नयाँ टोली आयो । उनीहरूले अलि राम्रो व्यवहार गरे । ’तिमीहरू बिरामी भयौ भन्दै औषधि खान दिए’ धर्ती भन्छिन्, ’तर त्यो औषधि त गर्भपतनको रहेछ ।’ औषधि खाएपछि धेरै महिलाहरूको रगत बग्न थाल्यो ।

गर्भवती अवस्थामा पक्राउ परेकी एक महिलाको त ६ महिनाको बच्चा नै खेर गयो । धर्तीलाई पनि औषधि खुवाएर गर्भपतन गराए ।

‘जब ब्यारेकमा नवराज गुरुङ जर्नेल आए, चरम यातना दिन्थे, अन्त मारिएका माओवादीको शव त्यहीं ल्याइन्थ्यो । औंला ब्लेडले काटेर यातना दिइन्थ्यो’ उनी भन्छिन्, ’लुङ्गी लगाएका महिलालाई सुताएर खुट्टा उचाल्न लगाउने र लुङ्गी झरेपछि गुप्ताङ्गमा पाइप कोच्याउने गर्थे । चौरमा नाङ्गै लहरै सुताएर छातीमा बुटले कुल्चँदै हिंड्थे ।’

शान्ति प्रक्रिया सुरु भएपछि उनीहरूलाई एक मेडिकल कलेजमा लगियो । उपचार गर्दै काम गराउँदै गरिएको धर्तीको गुनासो छ । जब उनी घर फर्किइन्, उनको शरीर सुन्निएको थियो । यौनाङ्गमा रगत र पिप बग्ने समस्या थियो । गाउँ–समाजमा टिक्न गाह्रो भयो ।

धर्तीलाई पार्टीले केही गर्छ भन्ने आशा थियो । तर पार्टीले पूर्णतः बेवास्ता गर्‍यो । ‘मुक्ति कि मृत्यु भनेर पूर्णकालीन भएका हामीलाई ब्यारेकको नारकीय जीवन भोगेर फर्किएपछि पार्टीले पनि वास्ता गरेन’ उनी भक्कानिंदै भन्छिन्, ‘ब्यारेकमा चरम यातना र बलात्कार हुँदा भन्दा बढी पीडा घर आएपछि भयो, पार्टीले बेवास्ता गर्‍यो, समाजले टिकीखान दिएन ।’

गाउँमा छोरीलाई सेनाले मारिसक्यो भन्ने रहेछ । परिवारमा गरिबी थियो । जमिन्दारबाट ५०० सापट लिंदा आमाबाले १० वर्ष निशुल्क लुगा सिउनुपर्ने अवस्था थियो । तैपनि धर्तीकी आमाले ५०० रुपैयाँ ऋण मागेर दिंदै भनिन्, ‘बाँच् छोरी तँ बाँच्, जसरी भए पनि बाँच् ।’

एकजना माओवादीको कारबाहीमा परेका मानिस रहेछन् । माओवादीको घर जलाएकोमा ३ लाख जरिवाना लगाइएको ती व्यक्तिले माओवादीसँगै सम्बन्ध गाँसे बाँच्छु भनेर विवाह गरे । कहींकतै सहारा नपाएको बेला यो विवाह धर्तीको लागि बाध्यता बन्यो ।

‘मेरो पेटमा बच्चा रहेछ, सेनाको हो कि पतिको मलाई पनि थाहा भएन’ उनी भन्छिन्, ’माओवादी आएर पैसा मागे, मैले मिनाहा गर भन्न सकिनँ, अनि त मलाई दुर्व्यवहार गर्न थालिहाले’, दलितको छोरी भनेर सासूससुराले घरमा बस्न नदिई बाहिरै राखे ।

उनी तीन दिन तीन रात हिंडेर माइत पुगिन् । माइत पुगेको ५ दिनमा छोरी जन्माइन् । बाबुले दुर्वचन बोल्थे, गाली गर्थे । पाठेघरको समस्या पनि देखियो । अपमानले मन दुख्थ्यो, यातनाको पीडाले तन ।

शहरमा उपचार गर्न जाने पैसा भएन । उनले स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइन् । सुत्केरी अवस्थामै उनी भारी बोक्न पनि गइन् । जति दुर्व्यवहार भए पनि ३/४ वर्ष उनी माइतीमै बसिन् ।

एक दिन बाबुआमाले १०–१५ वर्ष जेठो केटा खोजेर ल्याए । उता पनि छोरा जन्मियो । जब पतिले सेनाले बलात्कार गरेको थाहा पाए, उनले पनि ज्यादती गर्न थाले । बिरामी हुँदा ‘आर्मीले उपचार गर्ला नि, मैले किन गर्ने, जे गर्नु उसैले गर्‍यो’ भन्थे । झण्डै ५ वर्षपछि ४ वर्षको बच्चा बोकेर उनी माइत फर्किइन् ।

जबसम्म उनले आफूमाथि भएको ज्यादतीबारे बुझिनन्, उनले जीवनको दुःख मात्रै बुझिन् । विस्तारै ज्यादतीबारे बुझेपछि भने मानसिक र शारीरिक दुवै पीडा हुन थाल्यो । पीडाले छाती पोल्न थाल्यो । तर के गर्ने ? कहाँ जाने ?

****

सुदूरपश्चिम प्रदेशको मैदानी भूभागमै घर भएकी शिला (नाम परिवर्तन) परिवारका सदस्यहरूसहित गहुँ काटेर भर्खरै घर आइपुगेकी थिइन् । आमा, भाउजु र दिदीबहिनी बसिरहेको बेला आर्मीको गाडी आइपुग्यो । सबैलाई माओवादी भन्दै कुटपिट गरियो । उनको दिदी माओवादीमा पूर्णकालीन भएकोले उनीहरू माओवादीको सहयोगी भएको सेनाको ठहर थियो ।

अलि ठूलो शरीर देखेर उनलाई सेना र सशस्त्र प्रहरी बलले ब्यारेकमा लग्यो । उनलाई दुई दिनसम्म सशस्त्र प्रहरीको क्याम्पमा राखेर पालैसँग बलात्कार गरे । पछि ब्यारेक लगे । त्यहाँ पनि यही क्रम दोहोरियो ।

ब्यारेक र सशस्त्र क्याम्पभित्र इँटा बनाउन लगाइन्थ्यो । उनले बनाएको मन्दिर सशस्त्रको क्याम्पमा अहिले पनि छ । गहुँ काट्न लगाइन्थ्यो । दिनभरि काम लगाउने र रातभरि पालैसँग यौन प्यास मेटाउने । यो क्रम झण्डै डेढ वर्षसम्म दोहोरियो ।

सैन्य हिरासतभित्र उनका नातामा छोरा पर्ने युवक पनि समातिएका रहेछन् । त्यो थाहा पाएर सेनाले शिलालाई नाङ्गै बनायो र मस्ती गर भन्दै ती आफन्तलाई कुटपिट गर्‍यो । यातनाका अनेकौं उपाय अपनाइन्थ्यो ।

उनलाई नांगै बनाइन्थ्यो र लडाइन्थ्यो । सेनाका उच्च पदस्थहरूले चुरोट पिउँदा एस्ट्रेको रूपमा उनको शरीरलाई प्रयोग गर्थे । उनको शरीरमा अहिले पनि चुरोटले पोलिएका डामहरू देख्न सकिन्छ ।

झण्डै डेढ वर्षपछि उनलाई बाबुले ५० हजार धरौटी राखेर बाहिर निकाले । परिवारले बिहे गरिदियो । जब पतिले आर्मीको हिरासतमा परेको कुरा थाहा पाए, उनलाई दुर्व्यवहार गर्न थालियो ।

उनी माइत फर्किइन् । पाठेघरको समस्या थियो । उपचार गराइन् । पछि पति लिन आए । बिहे गरेको लामो समय बच्चा भएन । बलात्कारका कारण शरीर शिथिल छ ।

प्रधानमन्त्रीसँग भेट

गत वर्ष द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थियो । त्यतिबेला देउवा रोए भने प्रचण्डले आफू छाँगाबाट खसेजस्तो भएको प्रतिक्रिया दिए । देउवाले जसरी पनि न्याय दिने प्रतिबद्धता जनाएका थिए । दिन बिते, महिना बित्यो, वर्ष बित्यो तर उनीहरूले न्याय पाएनन् ।

अहिले सरकार परिवर्तन भएर युद्धको नेतृत्वकर्ता प्रचण्ड प्रधानमन्त्री छन् । सखी, शिला र धर्तीलगायतका केही बलात्कार पीडितहरूले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटे । उनीहरूले आक्रोशका साथ भने, ‘तपाईंको नेतृत्वमा भएको युद्धमा हामी पीडित भएको अढाइ दशक भइसक्यो, तपाईं तीनपटक प्रधानमन्त्री भइसक्नुभयो, हामीले न्याय कहिले पाउने ?’

प्रचण्ड यसपटक भक्कानिएर रोए र तत्काल केही निर्णय गरिहाल्ने वचन दिए । उनले भने, ‘अहिले मेरा दुई छोरी छन्, अब तपाईंहरू पनि मेरो छोरी हुनुभयो ।’

शिला भन्छिन्, ‘आश्वासनले न्याय पाइन्न, प्रधानमन्त्री वर्षमा एकपटक रुन्छन्, गत वर्ष देउवा रोए, यसपटक प्रचण्ड, तर हाम्रो जीवन सधैं आँसुमा डुबेको छ ।’

उनीहरूले ११ महिना अघि बुझाएको ९ बुँदे मागमा थप तीन बुँदा थपेर ज्ञापनपत्र पनि बुझाए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी यो समाजमा बाँच्न चाहन्छौं’ मागपत्रमा भनिएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका घटनाका पीडितहरूलाई सरकारले छुट्याएको राहत तत्काल दिइयोस् ।’

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी अध्यक्ष देवी खड्का नेपालमा पीडितको भन्दा राजनीतिक नेतृत्वको पिछडिएको चेतना रहेको बताउँछिन् । ‘हामीले स्वदेशबाटै न्याय पाउनुपर्छ, अन्यथा न्यायका लागि बाहिर (हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत) जानु नपरोस्’ उनी चेतावनी दिंदै भन्छिन्, ’हाम्रा सुरक्षा निकायहरू अन्तर्राष्ट्रिय स्तरमै बदनाम नहुन् ।’

गत वर्ष सरकारले बजेटको १०४ नम्बर बुँदा (पृष्ठ ४६) मा उक्त कार्यक्रम समेटिएको थियो । संयोजक खड्काका अनुसार मागपत्रमा बलात्कार तथा यौन हिंसामा परेका महिलाहरूलाई सहयोग पुग्ने गरी शान्ति कोषको स्थापना गर्न र यथास्थितिमा उजुरी दिन नसक्ने अवस्थामा भएकाहरूलाई स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन विशेष संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा ३१४ यस्ता घटनाहरू दर्ता भएका छन् । संयोजक खड्काका अनुसार यस्ता धेरै बलात्कृत पात्रहरू छन्, जसको उजुरी आयोगमा दर्ता छैन ।

भेटमा प्रधानमन्त्रीले आयोग अन्तर्गत नै विशेष कमिटी बनाउने कुरा गरेका छन् भने संगठनले छुट्टै स्वतन्त्र छानबिन समिति बनाउन माग गरिरहेका छन्, जसले पीडितको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै उजुरी दर्ता गरोस् ।

आयोगमा पुराना उजुरीका फाइलहरू पनि खुलेका छैनन् । सरकार पुरानै मूल्यमान्यतामा रहेको र बेखबर बनेको खड्काको आरोप छ ।

‘नेपाली सेनाको अहिलेको नेतृत्व सचेत हुनुपर्छ । संगठन विश्वमा बदनाम नहोस् । ३०० भन्दा बढी मुद्दा परेका छन्’, संयोजक खड्का भन्छिन् ।

बेलैमा माग सम्बोधन नगरे सरकार अप्ठ्यारोमा पर्ने खड्काको बुझाइ छ । ‘म बलात्कारमा पर्दा माथिको आदेशमा हो भन्थे । २०५४ सालको प्रहरी प्रमुख को थियो, अहिलेको कानुन मन्त्री को छ ?’ उनी भन्छिन्, ‘उहाँलाई मैले मुद्दा हालें भने यो देशको हालत के हुन्छ ? हाम्रो नेतृत्वले यसलाई ख्यालख्याल नलेओस् । सरल रूपमा नहेरोस् ।’

प्रधानमन्त्री प्रचण्ड संवेदनाको हिसाबले प्रतिबद्ध रहे पनि चौतर्फी सूचनाको हिसाबले अपूर्ण नै रहेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘२०५४ सालमा म बलात्कृत हुँदा आईजीपी रहेको व्यक्ति अहिले उहाँको क्याबिनेटमा मन्त्री छन् भन्ने कुरा उहाँलाई थाहा छैन, मैले पनि भनेको छैन ।’

देशको समस्या देशमै समाधान होस् भनेर धैर्य गरिरहेको खड्का बताउँछिन् । ‘यसै मरेको उसै मरेको भनेर हामी मैदानमा उत्रियौं भने के होला ? हामी महिला आमाजस्तै सकभर अन्तिमसम्म मिलाउन खोजिरहेका छौं’ उनी भन्छिन्, ‘हामी पौराणिक पात्र काली बनेर मैदानमा उत्रन नपरोस् ।’

तस्बिरहरूः आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?