+

सामान्य योनीश्राव : पटक पटक सफा गर्नु पर्दैन

२०७९ फागुन  १५ गते १४:३३ २०७९ फागुन १५ गते १४:३३
सामान्य योनीश्राव : पटक पटक सफा गर्नु पर्दैन

मासिक श्राव, गर्भावस्था तथा यौन सम्पर्कका क्रममा यौनाङ्गको सफाइ अत्यन्तै जरुरी हुन्छ । किनभने यौनाङ्गमा उचित सरसफाइ नहुँदा संक्रमण हुने भय उच्च हुन्छ ।

संक्रमणको भयले गर्दा कतिपयले यसको सरसफाइमा विशेष सर्तकता अपनाउने पनि गर्छन् । शौचालय जाँदैपिच्छे सफा गर्ने, पुछ्ने गर्छन् । यो चाहिं त्यति सही हुँदैन । यदि यौनाङ्गबाट अस्वभाविक स्राव हुन्छ भने सफाइ जरुरी हुन्छ । तर सामान्य योनीस्राव स्वभाविक मात्र होइन जरुरी पनि हो ।

सामान्य योनीश्राव (भजाइनल डिस्चार्ज)ले यौनाङ्गलाई बाह्य संक्रमणबाट बचाइराख्छ । बाह्य कीटाणुको संक्रमण हुने भयलाई रोक्छ ।

योनीश्राव (भजाइनल डिस्चार्ज) र यसको कार्य

योनीस्राव हुनु भनेको योनीबाट तरल पदार्थ निस्कनु हो । यो सामान्यतः कोषिका र ब्याक्टेरिया मिलेर बनेको हुन्छ । जसले योनीलाई सफा बनाउन, यौन सम्बन्ध कायम राख्न नरम बनाउन मद्दत गर्नुका साथै बाह्य  खराब जीवाणु र संक्रमणसँग लड्न मद्दत गर्छ ।

योनीबाट तरल पदार्थ बग्नु एक प्राकृतिक र सामान्य प्रक्रिया हो । त्यसैले हरेक दिन केही मात्रामा डिस्चार्ज हुनु सामान्य हो । तर दैनिक अत्यधिक मात्रामा तरल बगिरहेको छ भने चिकित्सकलाई देखाउनुपर्ने हुन्छ ।

प्रायः महिला वा किशोरीमा दैनिकजसो थोरै स्राव हुन्छ तर अण्डा बन्ने समयमा यसको मात्रा अरु समयमा भन्दा बढी देखिन्छ । जुन टाँसिने खालको सेतो डिस्चार्ज हुन्छ जुन स्वाभाविक हो । केही महिलामा संक्रमण वा यौन प्रसारित रोगको कारण श्रावमा परिवर्तन आउन सक्छ, जसलाई अस्वभाविक श्राव भनेर बुझिन्छ ।

कसरी चिन्ने सामान्य योनीश्राव ?

सामान्य योनीस्रावको रंग हल्का सेतो वा सेतो हुन्छ । यसको कुनै दुर्गन्ध हुँदैन । तर यसको रङ फरक किसिमको छ र गन्ध पनि आएको खण्डमा भने कुनै संक्रमण वा रोगको कारण हुनसक्छ । जस्तै, पहेंलो, खैरो वा हरियो डिस्चार्जले ब्याक्टेरिया वा यौन सञ्चारित संक्रमण भएको संकेत दिन्छ । सेतो तर सामान्यभन्दा बाक्लो देखिन्छ भने फंगाई संक्रमणको कारण हुन सक्छ, जुन उपचारपछि ठीक हुन्छ ।

डिस्चार्ज हुने बित्तिकै सफा गर्नु जरुरी छैन

कुनै किसिमको संक्रमणलाई रोक्ने पनि यसको काम भएकाले ‘डिस्चार्ज’ हुने बित्तिकै सफा गर्नु जरुरी छैन । यो सामान्य प्रक्रिया हो तर अत्यधिक मात्रामा आएको खण्डमा पेन्टी लाइनर लगाउन सकिन्छ । योनी प्राकृतिक रुपमै स्वस्थ जीवाणुको मद्दतले सफा हुने र ती जीवाणुले कतिपय संक्रमण समेत रोक्ने भएका पटक-पटक सफा गर्नु जरुरी हुँदैन । धेरै सफा गर्दा झनै नकारात्मक असर पर्ने हुँदा विशेष ख्याल गर्नुपर्छ ।

कसरी सफा गर्ने ?

योनीलाई पटक-पटक सफा गर्नुहुँदैन । दिनको एक वा दुईपटक योनीलाई सफा गर्न बजारमा सहजै उपलब्ध हुने ‘भीवास’ले सफा गर्न सकिन्छ । सफा पानीले पनि दिनको एकपटक जति सफा गर्ने र पिसाब गरेपछि योनीलाई सुख्खा बनाउन टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । अत्यधिक मात्रामा पानीले सफा गर्दा बाह्य पानीमा हुने जीवाणु पनि भित्रसम्म पुग्ने सम्भावना हुन्छ ।

धेरैजसोले योनीश्राव (भजाइनल डिस्चार्ज) हुने बित्तिकै पनि सफा गर्ने गर्छन् । तर योनीश्रावले पनि केही हदसम्म योनीलाई संक्रमणसँग बचाइराख्ने हुँदा गरिहाल्न तत्काल सफा गर्नु हुँदैन ।

योनी स्वस्थ राख्ने तरिका

-महिलाहरुले सफा सुतीको पेन्टी दैनिक परिवर्तन गर्नुपर्छ । सेन्थेटिक पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले संक्रमणको जोखिम हुन्छ ।

-दैनिक नुहाउनुपर्छ । नुहाउने क्रममा योनीमा भने भीवासले मात्र सफा गर्नुपर्छ ।

-सुगन्धित साबुन, जेल वा अन्य स्त्रीजन्य उत्पादन प्रयोग गर्नुहुँदैन ।

-लामो समयसम्म कसिने भित्री वस्त्र वा पसिनाले भरिएको लुगा लगाउन हुँदैन ।

-योनीलाई अगाडिबाट पछाडिसम्म पुछ्नुहोस् । यसले मलद्वारबाट ब्याक्टेरियालाई योनीमा प्रवेश गर्नबाट रोक्छ ।

(डा. अमात्य प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

डा. चन्द्रशोभा अमात्य योनीश्राव
लेखक
डा. चन्द्रशोभा अमात्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय