+
+
विशेष रिपोर्ट :

महिला हिंसाका १० हजार घटना : बाबुदेखि शिक्षकसम्म यौन पीडक

लैंगिक हिंसामा परेकाहरूलाई सेवा दिन स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा पछिल्लो आर्थिक वर्षमा मात्रै दश हजार बढी महिला पुगेका छन् । बाबुबाट बलात्कृतदेखि शिक्षकबाट यौनदुर्व्यवहार भोग्नेसम्मका पीडा छन् यहाँ ।

अमृत चिमरिया/पुष्पराज चौलागाईं अमृत चिमरिया/पुष्पराज चौलागाईं
२०७९ फागुन २२ गते १८:४५

२२ फागुन, काठमाडौं । १४ वर्षकी बागमती (परिवर्तित नाम) कक्षा ६ मा पढ्दै थिइन् । सामान्य परिवारमा हुर्कंदै गरेकी उनी बुवा, आमा, एक भाइ र एक बहिनीसहितको परिवारमा बस्दै आएकी थिइन् । बागमती माथि ११ महिना अगाडि एउटा अकल्पनीय घटना भयो । आमा सञ्चो नभएर उपचार गर्न काठमाडौं गइन् । सोही रात बुवाले उनलाई जबरजस्ती गरे ।

‘हाम्रो सानो घर हो, अँगेनाको छेउमा लहरै सबै जना सुत्ने गरेका थियौं । ममी काठमाडौं उपचार गर्न जानुभएको बेला बुबाले मलाई जबरजस्ती गर्नुभयो’ किशोरीले सुनाएको घटना उद्धृत गर्दै कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की ‘फोकल पर्सन’ पुष्पा घिमिरेले भनिन्, ‘उनले प्रतिकार गर्न खोजेकी रहिछन् तर सकिनछिन् ।’

राति घरमा साना दुई भाइ-बहिनी मात्रै भएको बेला मदिरा पिएर आफ्नै बाबुले करणी गर्दा उनी केही बोल्न सकिनछिन् । ७ महिनापछि जब उनको पेट ठूलो हुँदै गयो, बागमतीकी आमाले उनलाई अस्पताल लगेर चेक गराइन् । अनि थाहा भयो, पेटमा बच्चा रहेछ ।

उनले अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका कर्मचारीसँग आफ्नो बुबाले गरेको कर्तुत खुलाइन् । तर, आमा र समाज उनका कुरा स्वीकार्न तयार भएन । परिवार र समाजले नै अस्वीकार गर्ने अवस्था आएपछि बामगतीलाई केन्द्रले एउटा संरक्षण गृहमा राख्यो । ९ महिना पुगेपछि सुरक्षित सुत्केरी गरायो ।

सुत्केरी भएको दुई महिनापछि २ फागुन २०७९ मा उनी कान्ति बाल अस्पतालमा बच्चासहित रेफर भइन् । एउटा गैरसरकारी संस्थाले सञ्चालन गरेको ‘सेफ हाउस’ मा बसिरहेकी बागमती र उनको बच्चालाई स्वास्थ्य समस्या देखिएकोले जिल्ला अस्पतालले कान्ति बाल अस्पताल पठाएको थियो ।

‘जब यी किशोरीलाई दुई महिने शिशुसहित अस्पताल ल्याइयो, शिशुलाई निमोनिया भएको रहेछ । हामीले बच्चालाई ६ दिन उपचार गर्‍यौं’, कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले भन्यो ।

केन्द्रकी फोकल पर्सन पुष्पा घिमिरेका अनुसार, बच्चालाई खाना खुवाउन थालेको तीन दिनपछि सामान्य वार्डमा राखेर चौथो दिन उनलाई डिस्चार्ज गरिएको थियो । बच्चाको उपचारसँगै किशोरीलाई संकट व्यवस्थापन केन्द्र मार्फत मनोपरामर्श समेत दिइएको थियो । बागमतीका बुबा अहिले पुर्पक्षका लागि थुनामा छन् । उनको परिवारलाई समेत समाजले तिरस्कार गर्दै आएको केन्द्रकी फोकल पर्सन घिमिरे बताउँछिन् ।

‘यो घटनापछि पूरै परिवार ध्वस्त भएको छ, अहिले बागमतीलाई आफ्नी आमासँग भेट्न दिइएको छैन । उनकी आमाले छोएको पानी समेत कसैले नखाने गरेको सुनिएको छ’, घिमिरेका अनुसार उनका भाइ-बहिनी पढाउन पनि गैरसरकारी संस्थाहरूले सहयोग गर्दै आएका छन् । अहिले पनि बागमती संरक्षण केन्द्रकै भरमा छिन् ।

महानगरका स्कुलहरू पनि असुरक्षित

काठमाडौं मनोहरा क्षेत्रको एउटा विद्यालयको प्रधानाध्यापकबाट तीन जना छात्राहरू पीडित भएको अर्को घटना ओसीएमसी पुगेको छ । त्यो विद्यालयका प्रधानाध्यापकले कक्षा ८ र ९ मा पढ्ने छात्राहरूसँग यौनजन्य कुरा गर्ने, संवेदनशील अंगहरूमा छुने गरेको पाइएको छ ।

ती विद्यालयका प्रधानाध्यापकले ‘तेरो ब्वाइफ्रेण्ड छ, उसँग त के-के गर्छेस्’ भन्दै सोध्ने, सेक्समा रुचि छ कि छैन भन्ने गरेको पीडित किशोरीहरूले बताएका छन् । ती प्रधानाध्यापकले ती तीन जना छात्रासँग मात्रै होइन, ८ र ९ कक्षामै पढ्ने अरू धेरै छात्रालाई समेत हिंसा गर्दै आएको किशोरीहरू बताउँछन् ।

छात्राहरूले त्यो विषय बाहिर ल्याएपछि प्रहरीले ती प्रधानाध्यापकलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ । अहिले ती तीन छात्राहरूलाई संकट व्यवस्थापन केन्द्रले परामर्श दिंदै आएको छ ।

अर्को उदाहरण पनि छ । काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १४ वर्षीया विद्यार्थीलाई कुनै रोगको उपचार गर्न भनेर उनका अभिभावकले कान्ति बाल अस्पतालमा नियमित जसो ल्याउने गरेका थिए । उपचार गर्ने क्रममा २०७९ भदौमा ती किशोरीले चिकित्सकसँग कुराकानी गर्ने क्रममा ‘हाम्रो स्कुलमा सरले यस्तो गर्नुहुन्छ’ भन्दै विद्यालयमा भएको यौनजन्य हिंसाका बारेमा कुरा खोलिन् ।

‘त्यतिबेला घटना भएको दुई महिना भइसकेको रहेछ, त्यसपछि अस्पतालले एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठायो’, केन्द्रकी फोकल पर्सन घिमिरेले भनिन् । जब कुराहरू खोतलिंदै गयो, तब उनकै अभिभावकले नै विद्यालय र शिक्षकको बचाउ गर्दै घटना अगाडि नबढाउन दबाब दिए । घिमिरे भन्छिन्, ‘तपाईंले किन यो केसबारे प्रहरीलाई सुनाउन चाहनुभएन भनेर मैले सोध्दा पीडितका अभिभावकले घटनाबारे थप कुरा गर्नै चाहेनन् ।’

शिशुमा डरलाग्दो घटना

कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आइपुगेको अर्को एक घटनाले धेरैलाई विक्षिप्त बनाउँछ । भर्खरै ६ महिना नाघेको बालकमाथि भएको हिंसा थियो, त्यो । २०७९ साउनमा बालाजु क्षेत्रका एक बयस्क घरबेटी पुरुषले भाडामा बस्ने परिवारका शिशुको मलद्वारमा यौनजन्य क्रियाकलाप गर्दा सो अंग नै क्षत-विक्षत भएको थियो ।

भएको के रहेछ भने भाडामा बस्दै आएका बौद्ध धर्मावलम्बी एक दम्पतीले ध्यान गर्ने क्रममा आफ्नो बच्चा हेर्न भन्दै घरबेटीलाई दिंदा बच्चा माथि त्यो हदसम्म अत्याचार भएको रहेछ । ती घरबेटी पुरुष अहिले थुनामा रहेको घिमिरे बताउँछिन् ।

२०७९ को दशैं अगाडि हुम्लाबाट १८ वर्षीया एक किशोरी घाँटी दुखेको उपचार गर्न भनेर वीर अस्पताल आइन् । अस्पताल आएपछि थाहा भयो, उनको पेटमा बच्चा रहेछ । कसरी पेटमा बच्चा बस्यो भनेर कसैलाई थाहा नभएपछि उनलाई एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत मनोपरामर्श दिंदा उनले आफू बलात्कृत भएको घटना सुनाएकी थिइन् ।

तथ्यांकले १० वर्षभन्दा मुनिका बालबालिका घरबाटै पीडित हुने गरेको देखाउँछ । कान्ति बाल अस्पतालकी ओसीएमसी फोर्कल पर्सन पुष्पा घिमिरेका भनाइमा, १० वर्षभन्दा मुनिका बालबालिकालाई बुबा, हजुरबुबा, छिमेकी र आफन्तले नै यौनहिंसा गरेका घटना छन्

विद्यालयबाट फर्किंदै गर्दा बाटोमा गाउँकै एकजना दिदी पर्नेसँगै आफू पनि सामूहिक बलात्कारमा परेको उनले बताएकी थिइन् । मोटरसाइकलमा आएका केटाहरूले दुई जनालाई बलात्कार गरेकोमा आफू गर्भवती भएको उनको भनाइ थियो । उनको पीडा सुनेपछि परिवारले उनलाई उल्टो उपेक्षा गर्न थाल्यो ।

‘अब छोरीको कारण आफूहरूको पनि इज्जत जान्छ भन्दै उहाँहरू पन्छिनुभयो, घटना कसले गरायो भनेर किशोरीले भन्न सकिनन्, त्यसपछि संरक्षकसँग परामर्श गरेर प्रसूति गृहमार्फत गर्भपतन गरायौं’, वीर अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन विना शेर्पाले घटना सुनाउँदै भनिन् ।

यस्तै असनमा भएको अर्को घटना नजिकैको वीर अस्पताल आइपुगेको छ । २०७९ साउनको कुरा हो । सपन्न परिवारकी एक महिला लामो समयदेखि आफ्नो श्रीमान्को हिंसा सहेर बस्दै आएकी रहिछन् । एकदिन घाइते भएर अस्पताल आएपछि सो घटना बाहिर आयो । ओसीएमसीले परामर्श दिएर घटना बाहिर ल्याएपछि अस्पतालले प्रहरीलाई खबर गर्‍यो । यसपछि उनी अस्पतालबाट घर त गइन् तर त्यसपछि सम्पर्कविहीन भइन् ।

अर्को उदाहरण छ, दोलखाको । राष्ट्रिय ट्रमा सेन्टरको ओसीएमसीमा आएको एक घटना अनुसार, मदिरा पिएका एक पुरुषले दोलखाकी एक ३० वर्षीया महिलालाई बलात्कार गरे । बलात्कार पछि उनले ती महिलालाई चिर्पटले हानेर मरेको ठानेर फालेर हिंडे ।

तर, स्थानीयले महिलाको उद्धार गरेर ट्रमा सेन्टरमा ल्याए । छट्पटाइरहेकी ती महिलालाई ओसीएमसीले परामर्श दिएर सोधपुछ गर्दा उनले आफूमाथि बलात्कारपछि चिपर्ट हानिएको कुरा बाहिर ल्याएकी थिइन् । त्यसपछि ट्रमा सेन्टरले थप उपचारका लागि प्रसूति गृह पठाएको थियो । प्रसूति गृहले उपचारसँगै प्रहरीलाई घटनाबारे खबर पनि गर्‍यो ।

फेसबुक मार्फत चिनजान भएको घटना बलात्कारमा पुगेको अर्को उदाहरण पनि ओसीएमसी पुगेको छ । झापामा कक्षा-८ मा पढ्दै गरेकी कन्काई (परिवर्तित नाम) को चिनजान काठमाडौंमा बसोबास गर्ने एक युवकसँग भयोे । अनलाइन गेम खेल्दा चिनेपछि उनीहरूबीच निरन्तर कुराकानी हुन थाल्यो ।

जबरजस्ती करणी र महिला हिंसाको विरोधमा काठमाडौंमा गरिएको प्रदर्शन ।

कक्षा-८ को परीक्षा दिएपछि कन्काई काठमाडौंमा पेन्टिङको काम गर्दै आएका दाजु भेट्न आइन् । सोही क्रममा फेसबुक मार्फत चिनेको ती युवकलाई उनले आफू काठमाडौंमा भएको सुनाइन् । युवकले भेट्न भनेपछि कन्काईले आफूलाई काठमाडौंको बारेमा केही थाहा नभएको बताइन् ।

ती युवकले काठमाडौं घुमाइदिने भनेर भेट्न बोलाए । चाबहिलमा दाइको कोठा थियो । उनले ती युवकलाई चाबहिलमा बोलाइन्, युवक भेट्न आए । ती युवकले पहिलो दिन काठमाडौंका केही पार्कहरू घुमाएर शपिङ पनि गरिदिए ।

भोलिपल्ट, पर्सिपल्ट पनि उनीहरू घुमे । अर्को दिन कन्काईलाई युवकले टोखा नगरपालिकामा पर्ने एक कटेजमा लगेर बलात्कार गरे । ‘मलाई मदिरा खुवाउन खोज्यो । मैले मानिनँ त्यसपछि उसले जबरजस्ती गर्‍यो’, कन्काईले ओसीएमसीमा सुनाइन् ।

आफूमाथि दुर्घटना भएपछि रुँदै उनी कटेजबाट निस्किएकी थिइन् । तर, उनलाई कसरी दाइको कोठासम्म पुग्ने भन्ने थाहा थिएन । उनले बाहिर सडकमा भेटिएको ट्याक्सीलाई पुर्‍याइदिन भनिन् । त्यसपछि जब दाइ भेटिन् उनी भक्कानिएर रोइन् । उनका दाइ र मामा मिलेर प्रहरीमा उजुरी दिएपछि घटना ओसीएमसीसम्म पुगेको थियो ।

फेक नाम राखेर फेसबुक चलाएका ती युवाले यतिञ्जेलसम्म कन्काईलाई ब्लक गरिसकेका थिए । मोबाइलको सिम पनि नचल्ने बनाएका थिए । कन्काईलाई युवकको फेसबुक र मोबाइल नम्बर बाहेक अरू केही जानकारी छैन । यो मुद्दा अहिले बालाजु प्रहरीले हेरिरहेको छ ।

एघार हजारभन्दा बढी पीडित

लैंगिक हिंसामा परेकाहरूको व्यवस्थापन गर्न सञ्चालित अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् । जसमध्ये १० हजार ४९१ जना महिला र ५२८ जना पुरुष र २७ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन् ।

लैंगिक हिंसालाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी हालसम्म ९४ वटा अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा छ । जसमध्ये काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -वीर अस्पताल), कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी पीडित १९ देखि ४९ वर्षका ७ हजार १४४ जना छन् । यसैगरी, १० देखि १८ वर्षका २ हजार ३११, ५० वर्षभन्दा माथि ८४५ र १० वर्षभन्दा मुनिका ४६४ छन् ।

केन्द्रमा दर्ता भएको तथ्यांक अनुसार सबैभन्दा बढी शारीरिक हिंसामा परेका छन् । जसमा ३ हजार ५०६ जनामा शारीरिक हिंसा, यौन दुर्व्यवहार १ हजार ७५७, भावनात्मक हिंसा १ हजार ४०० र जबर्जस्ती बालविवाह ५८१, स्रोत र अवसरबाट वञ्चित गरिएका ९९१, गलत परम्परागत अभ्यासका ४०६ र भावनात्मक दुर्व्यवहारमा १ हजार ४०१ पीडित छन् ।

लैंगिक हिंसाबाट विशेषगरी महिला र बालबालिका पीडित र प्रभावित हुने गरेका र यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखामा कार्यरत सुना लक्ष्मी कर्माचार्य ओसीएमसीमा आउने धेरै घटना घरेलु हिंसाबाट पीडित भएको बताउँछिन् । ‘धेरै मानिस शारीरिक हिंसामा पर्ने गरेका छन् । कर्माचार्य भन्छिन्, ‘शारीरिक हिंसामा पर्ने मुख्य कारण मादकपदार्थ सेवन देखिन्छ ।’

१० देखि १७ वर्ष उमेर समूहका किशोरीहरू सामाजिक सञ्जालबाट चिनजान भएको, विद्यालयमा पढेका साथीहरू, अफिसमा काम गर्ने साथीबाट हिंसामा पर्छन् । ओसीएमसीका फोकल पर्सनहरूका अनुसार, लैंगिक हिंसा शिक्षित परिवारमा पनि हुन्छ । तर, उनीहरू त्यो घटना बाहिर ल्याउन चाहँदैनन्

ओसीएमसीमा आएका पीडित वा प्रभावितमध्ये उपचारपछि ८६३ लाई पुनर्स्थापना केन्द्रमा पठाइएको छ । त्यसैगरी प्रहरीमा ३ हजार ६५७, कानुनी सहायताका लागि २ हजार १०८ र अन्य सुविधासम्पन्न अस्पतालमा २०९ जना पठाइएको तथ्यांक छ ।

लैंगिक हिंसा पीडित तथा प्रभावित महिला तथा बालबालिकालाई एकीकृत रूपमा निःशुल्क स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जीविकोपार्जनमा ओसीएमसीले सहयोग गर्दै आएको कर्माचार्य बताउँछिन् ।

ओसीएमसीबाट हिंसा पीडितले वा प्रभावितहरूलाई प्रदान गरिने स्वास्थ्य सेवाहरूमा शारीरिक परीक्षण, मनोसामाजिक परापर्श, चिकित्साजन्य कानुनी परीक्षण, एचआईभी परीक्षण तथा परामर्श, गर्भ परीक्षण, घाउ तथा चोटपटकको उपचार, आकस्मिक गर्भ निरोधक सेवा, यौन रोगको उपचार, सुरक्षित गर्भपतन, मानसिक रोगको उपचार मुख्य छन् ।

‘लैंगिक हिंसा पीडित तथा प्रभावितले गुणस्तरीय सेवा प्राप्त गर्न बहुनिकाय र बहुसरोकार पक्ष, नागरिक समाज, व्यक्ति र परिवारलाई लैंगिक हिंसा विरुद्ध सहयोग, सहकार्य र समन्वयको पहल गरिरहेका छौं’ उनी भन्छिन्, ‘लैंगिक हिंसा पीडित तथा प्रभावितहरूको समुदायस्तरमा सम्बोधन गर्न ओसीएमसीका कार्यक्रम स्थानीय तहसम्म विस्तार गरिने मन्त्रालयको योजना छ ।’

‘धेरै हिंसा घरभित्रै’

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको तथ्यांक अनुसार ओसीएमसीबाट आर्थिक वर्ष २०७८/७९ मा ६६६ जनाले सेवा लिएका छन् । जसमध्ये ५ वर्षमुनिका २३ जना, ६ देखि १० वर्षसम्मका ५३ जना, १० देखि १८ वर्षका ३४८ जना, १५ देखि ५९ वर्षसम्मका २४५ जना र ६० वर्षभन्दा माथिका ३ जना पीडित छन् । जसमा यौनजन्य दुर्व्यवहार भोगेका ६३६ जना, शारीरिक हिंसामा परेका १३ जना छन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी ओसीएमसी फोकल पर्सन सुकुमाया लामा सबैभन्दा पीडित किशोरीहरू हुने भएकाले उनीहरूलाई चेतना विस्तार गर्नुपर्ने बताउँछिन् । ‘हामीले विद्यालयमा गएर किशोर-किशोरीको समूहलाई लैंगिक हिंसाको बारेमा बुझाउनुपर्छ । अहिलेको तथ्यांकले किशोरीहरू धेरै पीडित भएको देखाउँछ’ लामा भन्छिन्, ‘तर हामीले विद्यालय तहसम्म यस्ता कार्यक्रम राम्रोसँग लैजान सकेका छैनौं ।’

अस्पतालमा आएका तथ्यांकले १० वर्षभन्दा मुनिका बालबालिका घरबाटै पीडित हुने गरेको देखाउँछ । कान्ति बाल अस्पतालकी ओसीएमसी फोर्कल पर्सन पुष्पा घिमिरेका भनाइमा, १० वर्षभन्दा मुनिका बालबालिकालाई बुबा, हजुरबुबा, छिमेकी र आफन्तले नै यौनहिंसा गरेका घटना छन् ।

‘बालबालिका बोल्न सक्दैनन् । तर, हामीले विभिन्न माध्यमबाट उनीहरूसँग कुरा गर्दा घरभित्रबाट नै हिंसा भएको देखिन्छ’ घिमिरेले भनिन्, ‘यस्ता घटना धेरै पीडा दिने खालका हुन्छन् । केही बालबालिकाको त उपचारको क्रममा मृत्यु नै हुन्छ ।’

त्यसैगरी, १० देखि १७ वर्ष उमेर समूहका किशोरीहरू सामाजिक सञ्जालबाट चिनजान भएको, विद्यालयमा पढेका साथीहरू, अफिसमा काम गर्ने साथीबाट हिंसामा पर्छन् । ओसीएमसीका फोकल पर्सनहरूका अनुसार, लैंगिक हिंसा शिक्षित परिवारमा पनि हुन्छ । तर, उनीहरू त्यो घटना बाहिर ल्याउन चाहँदैनन् ।

वीर अस्पतालमा कार्यरत ओसीएमसी फोकल पर्सन विना शेर्पा लैंगिक हिंसा घरभित्रै लुकेर बसिरहेको बताउँछिन् । ‘जब कोहीसँग एक्लै जीविकोपार्जन गर्न सक्छु भन्ने आँट हुन्छ तब मात्रै ऊ उजुरीको बाटोमा आउँछ । तर, धेरै महिला यस्ता कुरा बाहिर ल्याउन चाहँदैनन्’ शर्पा भन्छिन्, ‘चोटपटक बोकेर अस्पताल आएका केसहरूमा पटक-पटक काउन्सिलिङ गरेपछि मात्रै लैंगिक हिंसामा परेको थाहा हुन्छ ।’

पितृसत्तात्मक सोच र समाजले महिलालाई पुरुषको समकक्षी नठानी तल्लो तहको वा कमजोर वर्ग मान्ने सोच र मनोविज्ञान राखेकोले यस्ता घटना भइरहेको ओसीएमसीका कर्मचारीको अनुभूति छ । परिणामतः हिंसामा पर्नेमा लगभगजसो महिला नै हुने गर्छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सुमन चौधरी समाजले पुरुषको चरित्र वा आचरणमाथि सामान्यतया प्रश्न नउठाउने र महिलामाथि विभिन्न कोणबाट प्रश्न र शंका गर्ने हुँदा उनीहरू समाजबाट पनि तिरस्कार भइराख्नुपरेको अवस्था रहेको बताउँछिन् । ‘प्रभावकारी न्यायबाट मात्रै यसलाई न्यूनीकरण गर्न सकिन्छ’, उनी भन्छिन् ।

कभर स्टोरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?