+

नसा च्यापिने समस्या थेरापीले निको हुन्छ ?

२०७९ फागुन  २४ गते १४:२५ २०७९ फागुन २४ गते १४:२५
नसा च्यापिने समस्या थेरापीले निको हुन्छ ?

मान्छेहरु सोध्छन्, ‘अहिले नसा च्यापिने समस्या बढेको हो ?’

नसा च्यापिने समस्याबारे पहिले र अहिलेको तुलनात्मक स्थिति के छ भनेर त ठ्याक्कै भन्न सकिंदैन । तर अहिले नसा च्यापिने समस्या लिएर आउनेको संख्या कम छैन ।

यसो हुनुमा हाम्रो बस्ने आसन, काम गर्ने तरिकादेखि खानपानसम्म जिम्मेवार छ । जस्तो हामी कुनै कुर्सीमा बसेर घण्टौंसम्म ल्यापटप वा कम्युटर चलाइरहेका हुन्छौं । खाजा नास्तामा चाउमिन, मःम खाइरहेका हुन्छौं । बेलामौकामा चुरोट पनि तानिरहेकै हुन्छौं । यस्ता आनीबानीले गर्दा हड्डी कमजोर हुने र एउटै स्थितिमा लामो समय बस्दा नसा च्यापिने जोखिम उच्च हुन्छ ।

हाम्रा पूर्खाहरु आफ्नै उत्पादनका कोदो, मकैजस्ता पोषकतत्वले भरिपूर्ण खानेकुरा खान्थे । खेतीकिसानीका लागि शारीरिक श्रम गर्थे । यसले उनीहरुलाई व्यायाम त हुने नै भयो घाममा बस्दा भिटामिन डी पनि प्राप्त हुन्थ्यो । तर अहिले हाम्रो जीवनशैली धेरै फरक भइसकेको छ ।

हाम्रो खराब बानीकै कारण नसा च्यापिने जोखिम बढ्दो छ । त्यसो त हामी धेरैको बाध्यता पनि यस्तै छ । जस्तो कि लामो समयसम्म गाडी चलाउनुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, कम्प्युटरमा काम गर्नुपर्ने, निहुरिएर काम गर्नुपर्ने । यस्तो अवस्थाले नसा च्यापिने समस्या निम्त्याउँछ ।

कुन भागको च्यापिन्छ ?

नसा च्यापिने भनेको धेरैजसो ढाड अर्थात् मेरुदण्डको हो । यसको पनि माथिल्लो भाग अर्थात् घाँटी नजिक र तलको भाग अर्थात् कम्मरमाथिको भागमा नसा च्यापिने गर्छ ।

किन च्यापिन्छ नसा ?

लामो समयसम्म एउटै आसनमा बसेर काम गर्दा वा बसिरहँदा नसा च्यापिन सक्छ । कुप्रिएर काम गर्ने, भारी उचाल्ने क्रममा पनि नसा च्यापिन सक्छ । त्यसमाथि हाम्रो खराब खानपानले हड्डी कमजोर बनाइरहेको हुन्छ र थोरै तलमाथि पर्नासाथ नसा च्यापिन सक्छ ।

नसा च्यापिएको कसरी थाहा हुन्छ ?

नसा च्यापिने समस्या अरु समस्यासँग पनि मिल्दोजुल्दो हुन्छ । त्यसैले नसा च्यापिएर ढाड दुख्न थालेपछि मानिसहरु अरु नै उपचार खोज्न थाल्छन् । खासगरी नसा च्यापिएको बेला खुट्टा झमझमाउने, पोल्ने हुन्छ ।

नसा च्यापिएपछि के गर्ने ?

नसा च्यापिएको हो कि होइन, च्यापिएको छ भने कति च्यापिएको छ भनेर पक्का गर्न एमआरआई गराउँछौं । यदि एमआरआई रिपोर्टले नसा च्यापिएको देखाएमा यसको दुई विधिबाट उपचार गर्ने टुंगो गर्न सकिन्छ । एक त, फिजियोथेरापी अर्को शल्यक्रिया ।

कतिपय स्थितिमा फिजियोथेरापीबाट नसा च्यापिएको उपचार हुन्छ । यसका लागि केही समय लाग्छ र फिजियोथेरापीका केही प्रक्रिया नियमित गराउनुपर्ने हुन्छ । त्यसैगरी कतिपय स्थितिमा शल्यक्रिया गराउनका लागि सुझाव दिइन्छ । तर शल्यक्रियापछि पनि फिजियोथेरापी भने गराउनुपर्छ ।

थेरापीले दुखाइ कम गर्नेदेखि पूर्ण रुपमा रोग निको बनाउनेसम्मको काम गर्छ । यसमा थेरापीसँगै खानपानको पनि तालमेल मिलाउनुपर्ने हुन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्नैपर्छ ?

यदि स्थिति जटिल भइसकेको छ भने शल्यक्रिया गर्नुपर्छ । नसा च्यापिएर पिसाब आएकै थाहा नहुने, अत्यन्तै दुख्ने, हिंड्नै नसक्ने, पक्षघात हुने अवस्था आएमा शल्यक्रिया गराउनुपर्ने हुन सक्छ । यद्यपि यो कुन स्थितिमा छ र कस्तो विधि अपनाउने भन्ने चाहिं हामीले हेरेपछि मात्र टुंगो गर्न सक्छौं ।

नसा च्यापिने समस्याको उपचार गरिएन भने के हुन्छ ?

उपचार गरिएन भने दुखाइ बढ्दै जान्छ । खुट्टा झमझमाउने मात्र होइन लाटो हुँदै जान्छ र पक्षघात नै हुन सक्छ ।

नसा च्यापिने समस्या आउन नदिन के गर्ने ?

यसको लागि त व्यायाम नै सर्वोत्तम हो । बिहान योगा गर्ने, समय–समयमा जीउ हल्लाउने गर्नुपर्छ । विद्यार्थीको हकमा विद्यालयबाट आइसकेपछि घरमा एकछिन व्यायाम गर्नुपर्छ । बिहान बेलुका आधा घण्टा व्यायाम गर्नुपर्छ । घाँटी दुखेको छ भने घाँटीको, कम्मर दुखेको छ भने कम्मरको व्यायाम गर्नुपर्छ । खानपानमा निकै ध्यान दिनुपर्छ ।

(प्राकृतिक चिकित्सक डा. श्रेष्ठ नयाँ बानेश्वरस्थित आयुष अस्पतालमा कार्यरत छिन् ।)

नसा च्यापिने स्वास्थ्य
लेखक
डा. युनिता श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय