+
+

‘पढ्दै, कमाउँदैको नीति बनाए मात्रै विद्यार्थी अडिन्छन्’

विद्यार्थी घटेपछि विज्ञान तथा प्रविधि संकायले एउटा समूह बनाएर यसबारे अध्ययन गरेको थियो । त्यसले मुख्य कारण अन्तर्राष्ट्रिय आकर्षण नै हो भन्ने देखायो । त्यसैले पढ्दै, कमाउँदै गर्ने नीति नबनाउने हो भने केही वर्षपछि यो समस्याले संकटको रूप लिन सक्छ ।

प्रा.डा. विनिल अर्याल, डीन, विज्ञान तथा प्रविधि संकाय, त्रिवि प्रा.डा. विनिल अर्याल, डीन, विज्ञान तथा प्रविधि संकाय, त्रिवि
२०७९ फागुन २६ गते २०:३७

विज्ञान तथा प्रविधि संकायका शैक्षिक कार्यक्रममा विद्यार्थी पाउन गाह्रो छैन । सामान्य विज्ञानतर्फ पनि विद्यार्थी अभाव छैन र प्राविधिक विज्ञानतर्फ पनि । तर, यो वर्ष अघिल्लो वर्षको तुलनामा सामान्य विज्ञानतर्फ भने ४०० हाराहारीमा विद्यार्थी संख्या कम भएको देखिन्छ । बीएस्सीमा गत वर्ष ५ हजार थिए, यस वर्ष ४६०० मा झरे । यसले विद्यार्थी संख्याको चाप घटेको देखाउँछ ।

तर, प्राविधिक विषयमा त विद्यार्थीको चाप बढ्दो छ । सीएसआइटी कार्यक्रममा गत वर्ष ५५०० ले भर्ना आवेदन दिएका थिए भने यो वर्ष ५७०० पुगे । त्यस्तैगरी बीआईटीमा गत वर्ष ८०० ले भर्ना आवेदन दिए भने यसपटक २१०० अर्थात् दोब्बर बढी संख्याले भर्ना आवेदन दिएका थिए । स्नातकोत्तर तहमा १७ वटा कार्यक्रम छन् । त्यसमा गत वर्षभन्दा करिब १०० जना विद्यार्थी कम छन् ।

विद्यार्थी घटेपछि विज्ञान तथा प्रविधि संकायले एउटा समूह बनाएर विद्यार्थी घट्नुको कारणबारे अध्ययन गरेको थियो । त्यसले मुख्य कारण अन्तर्राष्ट्रिय आकर्षण नै हो भन्ने देखायो । सबैको हातमा स्मार्ट मोबाइल हुन्छ, कहाँ कुन विषय पढाइ हुन्छ भन्ने सूचना राख्छन् । अहिलेको पुस्ता कुनै एक देशको नागरिक भएर सीमित हुन चाहँदैन । उनीहरू विश्व नागरिक हुन चाहन्छन् र हुन्छन् । आफ्नो कुरा आफैं ‘एक्सप्लोर’ गर्छन् । त्यसलाई रोक्न गाह्रो छ । त्यसको लागि राष्ट्रिय नीति नै बनाउनुपर्छ ।

अर्को चाहिं यहाँ विश्वविद्यालयहरूले आफ्नो कार्यक्रमलाई अलिकति बजारमुखी बनाउनै पर्छ । हाम्रो सीएसआईटी, बीआईटी कार्यक्रममा त्यत्तिकै प्रतिस्पर्धी विद्यार्थी बढेका होइनन् । बीआईटी, सीएसआईटी कार्यक्रम अध्ययन गर्ने विद्यार्थी पढ्दै कमाउन सक्छन् ।

जस्तो कि चौथो, पाँचौं सेमेष्टरदेखि नै उनीहरू कमाउन थाल्छन् । घरै बसेर देशभित्रकै कम्पनी अथवा अन्तर्राष्ट्रिय कम्पनीहरूमा कोडिङ गर्ने काम गर्छन् । अहिले नेपालमा ४ हजार आईटी कम्पनीहरू छन् । ती कम्पनीहरूमा हाम्रा विद्यार्थीले अवसर पाउँछन् । आफ्नो लागि आफैं पढ्न सक्ने भएकाले यी शैक्षिक कार्यक्रममा विद्यार्थीको चाप बढेको हो । अरू विषयहरूमा चाहिं पूर्ण रूपमा परनिर्भर हुनुपर्ने भएकोले विद्यार्थी संख्या घटेको हो ।

अहिलेको पुस्ता परनिर्भर हुन रुचाउँदैन । आयस्रोत पनि नहुने तर आकांक्षाहरू विश्वव्यापी हुने भएपछि राम्रो अवसरको खोजी गर्दा जहाँ भविष्य सुरक्षित देख्छन् त्यतै जान्छन् । हामीले विद्यार्थीको आकर्षण बढाउन धेरै मिहिनेत गरेका छौं । हाम्रो पाठ्यक्रम बजारमुखी बनाएका र विद्यार्थीले पढ्दै कमाउन सक्ने वातावरण निर्माण गरेका छौं ।

विश्वविद्यालयबाट उत्पादित जनशक्ति व्यवस्थापन गर्न सबै जिम्मेवार हुनुपर्छ । सरकारले आवश्यक ठाउँमा दरबन्दी खोल्ने र विश्वविद्यालयले पनि लोक सेवालाई हामीले पढाएको यो विषयको उपादेयता यता छ, त्यसको लागि दरबन्दी हुनुपर्छ भनेर पहल गर्नुपर्छ ।

विश्वविद्यालयले उत्पादन गरेको सबै जनशक्ति राज्यको सेवा क्षेत्रमा व्यवस्थापन गर्न सकिंदैन । १० देखि १३ प्रतिशतसम्म मात्रै सेवा क्षेत्रमा जान्छन् । मुख्य त बजारले लिनुपर्छ । निजी क्षेत्रका उद्योग, कल कारखानाहरूले लिनुपर्छ । यस्तो बजार चलायमान बनाउनका लागि सरकारले वातावरण बनाउनुपर्छ । सरकारले पढ्दै, कमाउने वातावरण बनाउनुपर्छ । भारतमा पनि ठूला–ठूला शहरहरूमा सरकारले नै यस्तो वातावरण बनाइदिएको छ ।

विश्वविद्यालयहरूले पनि वैदेशिक शिक्षण संस्थाहरूले झैं विद्यार्थीलाई कमाउँदै पढ्ने खालको वातावरण, पाठ्यक्रम बनाउनुपर्छ । विद्यार्थीको वैदेशिक अध्ययन आकर्षणको मुख्य कारण नै पढ्दै कमाउने नीति हो । नभए वैदेशिक अध्ययनको क्रम जारी रहन्छ । जसले गर्दा अबको केही वर्षपछि यो समस्याले संकटको रूप लिन सक्छ ।

(प्रा.डा. अर्यालसँग अनलाइनखबरका लागि नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?