+

‘बच्चालाई दम हुँदा ख्याल नगरे आईसीयूमा राख्नुपर्ने हुन सक्छ’

२०७९ फागुन  ३० गते १५:५६ २०७९ फागुन ३० गते १५:५६
‘बच्चालाई दम हुँदा ख्याल नगरे आईसीयूमा राख्नुपर्ने हुन सक्छ’

सामान्यतया दमको समस्या वयस्क वा वृद्धलाई हुन्छ भन्ने बुझाइ धेरैको हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ अस्थामा वा दम । यो जुनसुकै उमेरका बच्चालाई पनि हुन सक्छ ।

अस्थामा र दममा केही फरक छ । दम श्वासप्रश्वाससँग सम्बन्धित एउटा रोग हो । वयस्क तथा वृद्ध उमेरका व्यक्तिमा ‘सीओपीडी’ र ‘अस्थामा’ दुई प्रकारको दम हुन्छ । तर बच्चामा सीओपीडी दम हुँदैन उनीहरूमा आस्थामा दम हुन्छ । त्यसैले बालबालिकाको हकमा आस्थामा नै दम हो ।

शिशुलाई दम हुने कारण

बच्चामा हुने दमको कारण के हो भनेर संसारभरि नै धेरै अध्ययन भएका छन् । यही कारणले बच्चामा दमको समस्या भएको भन्न गाह्रो छ । तर बच्चालाई आस्थामा हुने विभिन्न कारण छ । धेरै कारणमध्ये वंशाणुगत कारण परिवारका सदस्यमा दमको समस्या छ भने बच्चामा वंशाणुगत रूपमा यो समस्या देखिने भयो ।

अर्को वातावरणीय प्रदूषण, धुँवा धुलो, फूलको परागको कणबाट हुने एलर्जीको कारण पनि बच्चामा दमको समस्या देखिन्छ । खानपानको कारणले यो समस्या खासै नदेखिने भए पनि दम भएको बच्चामा केही खानाले समस्या बढाउन सक्छ ।

लक्षण

दमको लक्षण बच्चामा उमेर अनुसार फरक पर्छ । १० वर्षभन्दा माथिका बच्चामा हिंड्दा खोकी लाग्ने, स्याँस्याँ हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । यो समस्या  सधैंभरि देखिंदैन कहिले लक्षण देखिने कहिले नदेखिने हुन्छ ।

पाँच वर्षमाथिका बच्चामा स्याँस्याँ भइरहने, दौडिंदा खेल्दा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या हुन्छ । पाँच वर्षभन्दा कम उमेरका बच्चामा रुघा लाग्ने बित्तिकै सास छिटो छिटो फेर्ने, कोखा हान्ने, स्याँस्याँ हुने र निमोनिया जस्तो लक्षण देखिने हुन्छ ।

यी समस्या चाँडै निको हुने र बल्झिने भइरहन्छ । कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनामा बल्झिन्छ ।

उपचार

उपचारभन्दा पनि पहिले बच्चामा दम भएको हो कि होइन भनेर पत्ता लगाउनुपर्छ । त्यसको लागि बच्चाको उमेरअनुसार विभिन्न खालका परीक्षण गर्नुपर्ने हुन्छ । साना बच्चामा फिनो परीक्षण गरेर थाहा पाउन सकिन्छ । छातीको एक्सरेदेखि रगतको परीक्षणसम्म गर्नुपर्छ ।

घरीघरी वा कडा रूपले बिरामीको अवस्था कस्तो छ सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ । सामान्यतया दुई किसिमको औषधि गरिन्छ । ‘रिलिभर’ एकदम गाह्रो भएको बेलामा तुरुन्तै आराम दिने औषधि हुन्छ भने अर्को लामो समयसम्म श्वासप्रश्वास नलीमा सुन्निने समस्या कम गर्ने औषधि हुन्छ ।

नेबुलाइजर लगाउनुपर्छ ?

बच्चालाई बाफमार्फत दिइने औषधि प्रयोग गरे बानी पर्छ भन्ने भ्रम छ । तर खाने औषधिको धेरै साइड इफेक्ट हुने भएकाले वैज्ञानिकहरुले श्वासनलीमा औषधि दिने पद्धति बनाएका छन् । सिधै श्वास लिने औषधिमा एउटा नेबुलाइजर र अर्को इनहेलर हो ।

दम कति बल्झिन्छ र कति गम्भीर रूपमा देखा पर्छ त्यसको आधारमा उपचार हुन्छ । केही बच्चा वर्षमा एक पटक दम हुन्छ भने खाने औषधिले हुन्छ । तर घरीघरी गम्भीर रूपमा बिरामी हुने बच्चामा नेबुलाइजर श्वासप्रश्वासको माध्यमबाट औषधि पनि दिनुपर्छ ।

यो समस्या पूर्ण रूपमा निको हुन्छ ?

दम नियन्त्रण गर्नुपर्ने बिरामी हो । दमको समस्या भएको व्यक्तिले सधैंभरि औषधि प्रयोग गर्नुपर्ने हुँदैन । केही समयको नियन्त्रणपछि यो निको हुने सम्भावना हुन्छ । पाँच वर्षभन्दा सानो उमेरमा देखिएको दम पाँच वर्षपछि कम हुन्छ । औषधिले नियन्त्रण गरेमा कम हुँदै जाने र निको हुने सम्भावना हुन्छ ।

कसरी जोगाउने ?

दम भएको बच्चामा ‘ट्रिगर’ बढी गाह्रो कुन बेला र के कुराले हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । बच्चालाई यदि धुँवा–धुलोमा धेरै गाह्रो हुन्छ भने त्यसबाट उनीहरूलाई टाढा राख्नु पर्‍यो ।

चिसो रुघाखोकीले बढी गाह्रो हुन्छ भने रुघाखोकी लागेको व्यक्ति उनीहरूबाट टाढा रहनुपर्छ । धेरै चिसो खानेकुरा, जंकफुड, एउटै तेल धेरै पटक प्रयोग गरेर पकाएको खानेकुराले असर गर्न सक्छ । त्यसैले यस्ता खानाबाट टाढा रहनुपर्छ । कुनै कुराले बच्चालाई एलर्जी हुन्छ भने त्यसबाट पनि उनीहरूलाई टाढा राख्नुपर्छ ।

दम भएको बच्चालाई कुकुर, बिरालो जस्ता घरपालुवा जनावरको रौंले एलर्जी हुन्छ, खेलौनाहरूले एलर्जी हुन्छ भने नदिएको राम्रो हुन्छ । तर सबैलाई एलर्जी नहुन सक्छ ।

जटिलता

दमको समस्या भएको बच्चालाई राम्ररी उपचार गरिएन भने आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्छ । लामो समयसम्म दमको उपचार भएन भने श्वासनली बिग्रँदै जाने, फोक्सोका भागहरू खुम्चिने, फोक्सोको संक्रमण जस्ता जटिलता निम्तिन सक्छ ।

शिशुलाई दम नै हुन नदिन के गर्ने ?

शिशुलाई दम वंशाणुगत कारणले पनि हुने भएकाले हुनै नदिने त्यस्तो खास उपाय त छैन । समयमा रोग पत्ता लगाएर उपचार गरेर निको पार्न सकिन्छ । जोखिम कम गर्न प्रदूषण, धुँवा–धुलोबाट टाढा राख्ने, एलर्जी गर्ने कुराबाट टाढा राख्न सकिन्छ ।

(डा. घिमिरे कान्ति बाल अस्पतालका छाती तथा एलर्जीरोग विशेषज्ञ हुन् ।)

आस्थामा दम बालबच्चा
लेखक
डा. जगतजीवन घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय