+
+
स्ववियु चुनाव :

आरआरमा एमालेको विरासत तोड्न बनेको गठबन्धनमै गडबड

आरआर क्याम्पसलाई विद्यार्थी संगठनहरुले तुलनात्मक बढी प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संख्याका हिसाबले मात्रै नभएर यो क्याम्पसमा एमालेको विरासत अहिलेसम्म तोडिन नसक्नु पनि चासोको विषय हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ फागुन ३० गते २१:००

३० फागुन, काठमाडौं । केही दिनयता काठमाडौंको भृकुटीमण्डप परिसर विद्यार्थीले भरिएको छ । त्यसको कारण आगामी ५ चैतमा हुने स्ववियु निर्वाचन हो ।

यो क्षेत्रमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), विश्वभाषा, नेपाल ल र नजिकै शंकरदेव क्याम्पस छ । यी सबै क्याम्पसमा स्ववियु चुनाव हुने भएकाले विद्यार्थीको भीडभाड बढ्दो छ ।

हो-हल्लादेखि झडपसमेत भइरहने हुँदा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको प्रष्ट बुझ्न सकिन्छ । ‘चुनाव हुने भनेपछि वरिपरिको वातावरण सधैं अशान्त हुन्छ । अहिले पनि त्यही माहोल छ’, आरआर क्याम्पसका एक प्राध्यापक भन्छन् ।

यी क्याम्पसहरुमध्ये आरआर क्याम्पसलाई विद्यार्थी संगठनहरुले तुलनात्मक रुपमा बढ्ता प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संख्याका हिसाबले मात्रै नभएर यो क्याम्पसमा एमालेको विरासत अहिलेसम्म तोडिन नसक्नु पनि चासोको विषय हो ।

एमालेविरुद्ध आरआरमा यसपटक सत्तारुढ दल निकट विद्यार्थीहरुले संयुक्त उम्मेदवारीकै तयारी गरेका छन् । जसरी पनि एमाले निकट अनेरास्ववियुलाई हराउने नीति अन्तर्गत स्ववियु सभापति नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमा पारिएको छ ।

‘गठबन्धनबाट निर्णय भएर हामीले यहाँको स्ववियु नेतृत्व गर्ने कुरा भएको छ, प्यानल घोषणा नभए पनि सबै तयारी गर्दैछौं’ अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ भन्छन् । उपमहासचिव श्रेष्ठका अनुसार, अनेरास्ववियूले मुकेश कुँवरलाई अध्यक्षमा अगाडि बढाएको छ ।

तर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुबीच कुरा मिल्न नसक्दा अहिलेसम्म संयुक्त प्यानल समेत बन्न सकेको छैन । उनीहरुलाई आज, मंगलबार १२ बजेसम्म मनोनयनका लागि दिइएको समय दिइएको थियो । यो समयभित्र पनि उम्मेदवारी दर्ता गर्न सकेका छैनन् ।

मनोनयनको समय २७ फागुनमा तोकिएको भए पनि त्यस दिन हुलदंगा भएकाले प्रशासनले थप समय दिएको थियो । तर थपिएको समयमा पनि उम्मेदवारी दर्ता हुन नसक्नुको कारण गठबन्धनबीच भागबण्डा मिल्न नसक्नु हो ।

एमालेविरुद्ध आरआरमा यसपटक सत्तारुढ दल निकट विद्यार्थीहरुले संयुक्त उम्मेदवारीकै तयारी गरेका छन् । जसरी पनि एमाले निकट अनेरास्ववियुलाई हराउने नीति अन्तर्गत स्ववियु सभापति नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमा पारिएको छ ।

नेविसंघका आरआर क्याम्पसका कार्यवाहक सभापति नविन केडी, केन्द्रबाट एकलाैटी निर्णय गरेकाले समस्या आएको बताउँछन् । ‘यहाँ गठबन्धन भनिरहेका छौं, तर हामीले मिलाउनुपर्ने धेरै पदहरु रहेको छ’ केडी भन्छन्, ‘यहाँको वातावरण नबुझी केन्द्रले क्याम्पस भागबण्डा गरेको छ ।’ क्याम्पसस्तरमा गठबन्धनबीच छलफल नभएकाले अहिले समस्या आएको उनी बताउँछन् ।

‘यहाँ कुनै छलफल नै भएको छैन । हामीलाई सभापति नदिने भएपछि के दिने ? के पाउने ? छलफल छैन’, केडी भन्छन् । उनका अनुसार, आरआरमा नेविसंघले जेम्स राई अगाडि बढाउने तयारी गरेको छ । भागबण्डा नमिले नेविसंघले बागी उम्मेदवारी दिने केडीको चेतावनी छ ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि सचिव पाउनुपर्ने दावी छोडेको छैन । अखिल क्रान्तिकारी आरआरका नेता शिशिर बस्याल, आफ्नो संगठन बलियो भएकाले अध्यक्ष नपाए सचिव पाउनुपर्ने बताउँछन् ।

नेतृत्व पाउनुपर्ने, नभए प्रमुख पदको दावी गरिरहेका मुख्य संगठनहरुबीच भागबण्डा मिलाउन संयुक्त बैठक भने अहिलेसम्म बस्न सकेको छैन । अखिल क्रान्तिकारीकी नेता सोनी भट्टराई, क्याम्पसमा हुलदंगाको स्थिति सिर्जना भएकाले मनोनयन प्रभावित बन्न पुगेको बताउँछिन् ।

चुनावी प्रचारमा अनेरास्ववियु

अवरोधबीच मनोनयन दर्ता गरेको एमाले निकट अनेरास्ववियु भने प्रचार अभियानमा जुटेको छ । अनेरास्ववियुले मदन भण्डारी अध्यक्ष, दिलीप खड्का सचिव, जन्मराज न्यौपाने सचिवसहित ११ जनाको उम्मेदवारी दिएर प्रचारमा जुटेको छ ।

‘हामी विरुद्ध गर्न खोजेको गठबन्धन प्रभावकारी नभएपछि आन्दोलन गर्ने, खुकुरी देखाउने काम भइरहेको छ’ भण्डारी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट तयारी गरिसकेका छौं ।’ भण्डारीसहित ५ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

नेपाल मजदुर किसान पाटी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट रोजित महर्जनको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । यस्तै स्वतन्त्र रुपमा बनेको समूह समाजवादी विद्यार्थी समूहबाट जमुना निहुरेको नेतृत्वमा, क्रान्तिकारी विद्रोही नाममा प्यानलसहित नविन कोइरालाको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ।

यस्तै महेश जैसीले पनि स्वतन्त्र रुपमा स्ववियू सभापतिमा उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिए । यसपटक आरआरमा ४ हजार ७५ मतदाता छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?