+

घाउचोटको खत मेट्ने कुनै उपचार हुन्छ ?

२०७९ चैत  १ गते १५:०३ २०७९ चैत १ गते १५:०३
घाउचोटको खत मेट्ने कुनै उपचार हुन्छ ?

कहिलेकाहीं शरीरमा चोटपटक लाग्छ, आगो वा तातो पानीले पोल्छ । हातहतियारले काट्छ । यस्ता कतिपय चोटको दाग लामो समय वा जीवनभर पनि रहन्छ ।

खासगरी हात–खुट्टा, अनुहारमा खत बस्यो भने असुहाउँदिलो देखिने पनि हुन्छ । यस्तो स्थितिमा कसरी खत मेट्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ ।

के खत मेट्न सकिन्छ ? 

घाउको दाग कस्तो स्थितिमा छ ? कति गहिरो, कति ठूलो, कति पुरानो हो ? यसै कुरालाई आधार बनाएर खत मेट्न सकिने नसकिने टुंगो गर्न सकिन्छ । त्यसैगरी खत कसलाई भएको हो ? वयस्कलाई, बुढापाकालाई, बालबच्चालाई ? किनभने सानो बालबच्चाको शरीरमा कुनै घाउको खत बसे त्यो मेटिन सजिलो हुन्छ । जति जति उमेर छिप्पिंदै जान्छ, घाउ खत मेट्न पनि गाह्रो हुन्छ ।

त्यसबाहेक यदि कसैको घाउको खत मेटिएको छैन भने क्रिम वा उपचार विधिबाट पनि त्यसको समाधान खोज्न सकिन्छ । यदि छालाको माथिल्लो सतह वा बाहिरी भागमा मात्र खत छ भने त्यस्तो मेटाउन सहज हुन्छ ।

दाग बस्ने सम्भावना बढी हुने ठाउँ

अनुहार, हात, खुट्टामा घाउचोटको खत बढी हुन सक्छ । शरीरमा जुन ठाउँमा छाला पातलो हुन्छ, त्यसमा दाग बस्ने सम्भावना बढी हुन्छ ।

के छ उपचार ?

चोटको स्थितिअनुसार त्यसको खत मेट्ने विधि फरक–फरक हुन्छ । कुनै क्रिम मात्र लगाएर पनि निको हुन्छ । खासगरी छालाको माथिल्लो सतहमा भएको चोट मेट्न क्रिमले काम गर्न सक्छ ।

यदि गहिरो वा मांसपेशीसम्म चोट लागेर खत बसेको छ भने त्यसमा लेजरको माध्यमबाट उपचार गर्नुपर्ने हुन सक्छ । सामान्यतया कार्बनडाइअक्साइड लेजरबाट दाग हटाइन्छ ।

आगो वा तातोपानी पोलेर बसेको दाग

आगोले पोलेको वा तातो पानीले पोखिएर बसेको खत भने क्रिम लगाएर निको हुँदैन । यसको लागि सामान्यतया कार्बनडाइअक्साइड लेजर विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ । यस्तो उपचार पनि सानोतिनो दागमा मात्र काम लाग्छ ।

यदि पोलेको भाग ठूलो छ भने त्यसमा प्लास्टिक सर्जरी नै गर्नुपर्ने हुन सक्छ । प्लास्टिक सर्जरीमा जलेको भागको दागमा अन्य ठाउँको छालाको भाग ल्याएर टाँसिन्छ ।

अनुहारमा बसेको दाग हटाउने कसरी ?

डन्डीफोर लगायतले पनि अनुहारमा दाग बस्ने हुन्छ । खासगरी किशोरावस्थामा यस्तो समस्या धेरै देखिन्छ । भर्खर बसेको दाग हो र बाहिरी छालामा मात्र छ भने सहजै मेटाउन सकिन्छ । डन्डीफोर वा अन्य कालो दाग बसेको भागलाई क्रिमले नै मेटाउन सकिन्छ ।

यदि पुरानो दाग छ भने पहिलो चरणमा तीनदेखि ६ महिनासम्म क्रिम लगाउन दिइन्छ । त्यसपछि पनि दाग हटेन भने इन्जेक्सन वा लेजर विधि प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट पनि शतप्रतिशत हट्छ भन्ने हुँदैन । कुनै कुनै गहिरो घाउको दाग ७० देखि ९० प्रतिशत मात्र मेटिन्छ ।

(डा. भट्ट छाला तथा सौन्दर्य विशेषज्ञ हुन् । उनी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक, कुमारीपाटी, ललितपुरमा कार्यरत छन् ।) 

खत घाउचोट सौन्दर्य
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय