
सामान्यतया राति सुतेपछि ७-८ घण्टासम्म हामी निद्राको अवस्थामा हुन्छौं । तर कहिलेकाहीं अचानक निद्रा खुल्छ । बारम्बार पनि यस्तो समस्या हुन सक्छ । जब अचानक निद्रा खुल्छ, मान्छेको मनमा डर र आशंका पैदा हुन्छ, ‘मलाई कुनै रोग त लागेन ?’
खासगरी मुटुरोगसँग जोडेर मान्छेहरु अत्तालिने गर्छन् । किनभने यतिबेला हामीलाई मुटुको चाल बढेको अनुभव पनि हुन्छ । कतिपयको खलखली पसिना पनि आउन सक्छ ।
किन हुन्छ यस्तो ?
सामान्यतया निद्राको दुईवटा चरण हुन्छ । एउटा ‘रेम स्लिप’, जुन सुतेको बेलामा पनि आँखा चलिराख्ने चरण । सपना देख्ने पनि यही चरणमा हो । अर्को ‘नन रेम स्लिप’, जुन गहिरो निद्राको चरण । रेम स्लिपको अवस्थामा वा रेम स्लिपबाट नन रेम स्लिपको चरणमा जाने बेलामा यसरी राति अचानक निद्रा खुल्ने हुन्छ ।
कहिलेकाहीं निद्रामा अचानक निद्रा भंग हुनु र फेरि केही समयमा निद्रा लाग्छ भने यो सामान्य हो । तर पटक-पटक यस्तो क्रम दोहोरिन्छ भने त्यसमा मानसिक कारण जोडिएको हुन सक्छ । खासगरी मनमा पीर, चिन्ता आदि गुम्सिएर रहेको छ भने पनि यस्तो समस्या हुन्छ । खासगरी डिप्रेसन वा एन्जाइटीले यस्तो समस्या ल्याउँछ ।
यस्तो हुनुमा अर्को कारण भनेको मुटुको समस्या हो । मुटुरोगको स्थितिमा मुटुले राम्ररी रगत पम्प गरिरहेको छैन भने रगत फोक्सोमा जम्छ र सास फेर्न गाह्रो हुन्छ । यस्तो बेला पनि अचानक निद्रा खुल्छ ।
कसैलाई मुटुरोगको समस्या भएर मुटुले राम्ररी रगत पम्प गरिरहेको छैन भने रगत फोक्सोमा जम्छ र सास फेर्न गाह्रो हुन्छ । सास फेर्न गाह्रो भएर एक्कासि ब्युँझिने समस्या हुन सक्छ । त्यसैले मुटुको रोगको कारण पनि अचानक निद्रा खुल्ने हुनसक्छ ।
अचानक निद्रा खुल्दा मुटुको चाल बढेको अनुभव
निद्रा खुल्दा सबैको मुटुको चाल बढ्ने त हुँदैन । तर कसैलाई यस्तो भएको छ भने राति नराम्रो सपना देखेर निद्रा खुलेको छ, निद्रा राम्ररी पुगेको छैन, निद्रा अचानक खुलेपछि फेरि लागेका छैन र धेरै तनाव भएर एक्कासि निद्रा खुलेको छ भने मुटुको चाल बढ्न सक्छ । मुटुको चाल बढेको अनुभव हुनु भनेका एन्जाइटीको संकेत पनि हो ।
यो एन्जाइटी डिप्रेसन जस्तो मानसिक समस्याको साथै मुटुको समस्या, थाइराइड र ‘स्लिप एपनिया’ लगायत शारीरिक समस्यामा पनि हुन सक्छ ।
राति सुतेको बेला सास रोकिएजस्तो हुने समस्या
राति सुतेको बेला सास रोकिएजस्तो हुने समस्यालाई ऐंठनको समस्या पनि भनिन्छ । निद्राको पहिलो चरण रेम स्लिपमा हाम्रो मांसपेशी प्यारलाइज जस्तो भएको हुन्छ । यो बेला नराम्रो सपना देखेर उठेर हिंड्न, भाग्न खोज्दा खुट्टा चल्दैन, जसले गर्दा ऐंठन भएजस्तो, सास रोकिएजस्तो हुन्छ ।
सास रोकिएजस्तो हुनु वा ऐंठन हुनु निद्रासम्बन्धी रोग हो । एन्जाइटीको समस्यामा भने राति सुत्दा मात्र होइन, अन्य समयमा पनि केही अड्किएको जस्तो, सास रोकिएको जस्तो हुन्छ ।
नियमित राति अचानक निद्रा खुल्ने र पसिना आउँछ भने मुटुको समस्या पो छ कि भनेर जाँच गर्नुपर्छ । थाइराइड, कोलेस्टेरोल र मधुमेहको समस्या भएपनि राति सुतेको वा अचानक ब्युँझिदा धेरै पसिना आउने हुन्छ । हार्मोनसम्बन्धी रोगको कारण यस्तो हुन सक्छ ।
के हुन सक्छ जोखिम ?
बारम्बार राति अचानक निद्रा खुल्ने समस्या छ भने सबैभन्दा पहिले त निद्रा नै बिग्रने भयो । निद्रा बिग्रिंदा नाइट एन्जाइटी, डिप्रेसनको समस्या हुन सक्छ । निद्रा नपुग्दा हाम्रो शरीरमा स्ट्रेस हार्मोन बढ्छ । यो हार्मोनले उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्या निम्त्याउन सक्छ ।
उपचार
सामान्य रूपमा गर्न सकिने यसको उपचार भनेको निद्रालाई राम्रो बनाउने उपाय ‘स्लिप हाइजिन’ अपनाउनुपर्छ । कहिले ९ बजे कहिले १२ बजे सुत्ने बानी हटाएर सुत्ने समय निश्चित बनाउनुपर्ने हुन्छ । राति सुत्ने बेला चिया, कफी मदिरापान नगर्ने, नियमित रूपमा व्यायाम गर्ने, सुत्ने ओछ्यान एकदमै सफा राख्ने, राति लामो समय मोबाइल चलाएर नबस्ने गर्नुपर्छ ।
यो स्लिप हाइजिन अपनाएर समस्या समाधान भएन भने केही समय थोरै डोजको औषधि सेवन गर्नुपर्छ । कुनै मानसिक तथा शारीरिक समस्याको कारण यो समस्या भएको हो भने त्यसको उपचार गरेपछि पनि यो समस्या समाधान हुन सक्छ ।
(डा. अधिकारी मनोचिकित्सक हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4