+
+

पोखरामा वरिष्ठ कार्टुनिस्ट वात्स्यायनको रथारोहण (तस्वीरहरु)

विकास रोकामगर विकास रोकामगर
२०७९ चैत ४ गते १३:२३

४ चैत, पोखरा । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार पोखरामा उनलाई रथारोहण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ‘पोयुसांप’को अगुवाइमा पोखरामा क्रियाशील दर्जनभन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले उनलाई रथारोहण र नागरिक अभिनन्दनको कार्यक्रम राखेको हो ।

नदीपुरस्थित बराल निवासबाट बिहान साढे १० बजे सुरु भएको रथारोहणमा सयौं कलाप्रेमी र सर्वसाधारण सहभागी थिए । नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म उनको रथारोहण भएको थियो । विन्ध्यबासिनी मन्दिरमा वात्स्यायनको नागरिक अभिनन्दन हुँदैछ ।

१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।

वात्स्यायनले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । दुर्गा बरालबाट कला क्षेत्रमा आफूलाई सम्मानित एउटा नाम ‘वात्स्यायन’ बनाएका उनले जापानबाट ग्राफिक आर्ट र कान्तिपुर मिडियाको कार्टुन सम्पादकका रुपमा काम गरिसकेका छन् । व्यक्तिगत तथा सामूहिक गरी दर्जन बढी चित्रकला, कार्टुन प्रदर्शन गरिसकेका छन् ।

नेपालको सबैभन्दा प्रख्यात प्रवल गोरखा दक्षिण बाहू चौंथो, जगदम्बा श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जन बढी पुरस्कार प्राप्त गरेका छन् ।

आफ्नो प्रतिभामार्फत नेपाल समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्दै आएका बरालका कला वीरेन्द्र आर्ट ग्यालरी, काठमाडौं र पोखराका राजदरबार तथा केही अन्तर्राष्ट्रियस्तरका निजी तथा सार्वजनिक रुपमा पनि राखिएको छ । उनको ‘वात्स्यायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह प्रकाशित छ ।

‘उहाँले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्‍याउन अतुलनीय योगदान गर्नुभएको छ । पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गर्नुभएको छैन, थुप्रै अनुजहरुलाई दीक्षित गर्नुभएको छ’, पोयुसापका अध्यक्ष उपेन्द्र पौडेल भन्छन् ।

बरालले ‘वात्स्यायन’ नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितालाई स्थापित गरेका छन् । उनलाई कलाकारितामात्रै होइन, पोखरामा पोखरामा शारीरिक सुगठन कला भित्र्याउने र प्रशिक्षण गर्ने श्रेय पनि जाने पोयुसापको भनाइ छ ।

‘त्यसो त पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उहाँको कम्ती योगदान छैन,’ पौडेल भन्छन् ।

   

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?