+

६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

२०७९ चैत  ७ गते १३:११ २०७९ चैत ७ गते १३:११
६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

मिर्गौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ ।

शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा यसले व्यवस्थापन गर्छ । साथै, आवश्यकताभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ ।

जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधि पनि महंगो हुने गर्छ । त्यसैले सम्भव भएसम्म मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ ।

मिर्गौलाको समस्या जो कोहीलाई पनि हुन सक्छ । यसलाई उन्मूलन गर्न सकिंदैन, तर हामी यसलाई नियन्त्रण गर्न सक्छौं ।

अस्पतालमा आउने बिरामीको संख्यालाई हेर्दा मिर्गौलाको समस्या बढ्दो स्थितिमा छ । पछिल्लो पाँच दशकयता हाम्रो जीवनशैली यसरी बिग्रिएको छ । जसले हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्त्याएको छ ।

मिर्गौलामा प्रायः मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ । मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा समस्या आउन सक्छ । मिर्गौला खराब हुने यी कारणका साथै हाम्रा केही खराब बानीले पनि मिर्गौला खराब गर्न सक्छ ।

उच्च सोडियमयुक्त खाना

हिजोआज घरमा बनेको खानेकुराभन्दा बजारमा पाइने खानेकुराको सेवन गर्ने व्यक्तिको संख्या बढेको छ । धेरै तेलमा तारेको भुटेको खानेकुरा, मैदाबाट बनेको खानेकुरा, जंकफुड र बाहिरका प्याकेज गरिएको खाना धेरैको रोजाइमा पर्छ । तर यस्ता खानेकुराले शरीरमा सोडियमको असन्तुलन सिर्जना गर्छ । यस्ता खानामा  सोडियमका साथै पोटासियम र फस्फोरस पनि हुन्छ, जुन मिर्गौलाका लागि हानिकारक हुन्छ ।

शारीरिक रूपमा निष्क्रिय

सामान्य अवस्थामा शरीरका सबै अंगका लागि व्यायाम महत्त्वपूर्ण छ । एक सामान्य वयस्कले दैनिक फटाफट एक हजार पाइला हिंड्नुपर्छ भनिन्छ । दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्छ । तर कामको व्यस्तता र अल्छीपनले गर्दा हामी व्यायाममा ध्यान दिंदैनौं । जसले मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्तो समस्या निम्तिन्छ र त्यसकै कारण पनि मिर्गौला खराब हुन सक्छ ।

दैनिक व्यायामले तौललाई नियन्त्रणमा मात्र राख्दैन, साथै मांसपेशीहरूलाई पनि स्वस्थ राख्छ, जसले मिर्गौला स्वस्थ राख्न भूमिका खेल्छ ।

जथाभावी पेन किलर खानु

सामान्य टाउको दुख्ने बित्तिकै वा पेट दुख्ने बित्तिकै दुखाइ कम गर्न पेन किलर खाइहाल्ने हाम्रो बानी हुन्छ । तर यसरी अन्धाधुन्ध पेन किलरको सेवन गर्दा मिर्गौला खराब हुन सक्छ । पेन किलरले मिर्गौलामा रक्तसञ्चार कम गर्छ । त्यसले मिर्गौला खराब हुन सक्छ ।

रक्सी र चुरोटको लत

धुम्रपान र मद्यपान मिर्गौलाका लागि मात्र नभई सम्पूर्ण शरीरका लागि हानिकारक हुन्छ । रक्सीमा ग्लुकोजको मात्रा धेरै हुने भएकाले शरीरबाट यसलाई हटाउन मिर्गौलामा धेरै दबाब पर्छ, जसले मिर्गौला खराब हुन सक्छ ।

अनियन्त्रित मधुमेह तथा उच्च रक्तचाप

मधुमेह तथा उच्च रक्तचापको समस्या भएका व्यक्तिले उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न नसकेको खण्डमा पनि मिर्गौला खराब हुन्छ । उच्च रक्तचाप, मधुमेहको औषधि नियमित सेवन नगर्ने, समस्या बढाउने खानपान र जीवनशैली अपनाउँदा मिर्गौला खराब हुन सक्छ ।

मोटोपन

अव्यवस्थित खानपान र व्यायामको कमीले गर्दा मोटोपनको समस्या बढ्दो छ । बढी तौलले मुटुरोगजस्ता समस्या मात्र निम्त्याउँदैन यसले स्नायुहरूमा अतिरिक्त दबाब सिर्जना गर्छ । जसले मिर्गौलामा थप दबाब सिर्जना गर्छ ।

कसरी सुरक्षित राख्ने मिर्गौला ?

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खानुपर्ने हुन्छ । सकेसम्म आफ्नै भान्सामा पाकेको खानेकुरा खानु उचित हो । खानामा झोल, सागपात, सलाद अनिवार्य हुनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

बिहान उठ्ने र राति सुत्ने समय निश्चित हुनुपर्छ । किनकि गहिरो र पर्याप्त निद्रा पनि औषधि बराबर हो । बिहान उठेपछि व्यायाम गर्ने, योग गर्नेजस्ता गतिविधि एकदमै राम्रो हुन्छ । दिनमा पनि सक्रिय रहने गर्नुपर्छ । तनाव हुने कामकुरा एवं व्यवहार त्याग्नुपर्छ । स्वस्थ खानुहुन्छ, सही मात्रामा खानुहुन्छ, सही समयमा सुत्ने र उठ्ने गर्नुहुन्छ भने यसले मानसिक स्थिति पनि सही रहन्छ । यसले गर्दा मिर्गौला सुरक्षित र स्वस्थ हुन्छ ।

मिर्गौलालाई बिग्रनबाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परीक्षण हो । पिसाब, रगत तथा मिर्गौलाको नियमित परीक्षणबाट मिर्गौलासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

(डा. काफ्ले वरिष्ठ मिर्गौलारोग विशेषज्ञ हुन् ।)

मिर्गौला
लेखक
डा. ऋषिकुमार काफ्ले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय