+

जथाभावी कोट्याउनु हुँदैन नाक 

२०७९ चैत  १० गते १७:१५ २०७९ चैत १० गते १७:१५
जथाभावी कोट्याउनु हुँदैन नाक 

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्नु जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ?

नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गर्ने विभिन्न भाइरस नाकमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘प्रोटिन’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ ।

धुलो, धुवाँ, संक्रमण गर्ने भाइरस र एलर्जी नाकको माध्यमबाट शरीरमा पुग्दा कसैलाई रोग लाग्छ र कसैलाई रोग लाग्दैन किन भन्ने प्रश्न पनि आउँछ । जो व्यक्तिमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, नाक सुख्खा भइरहन्छ र एलर्जी भइरहन्छ । उनीहरूमा लामो समयसम्म रुघा लाग्ने, पिनास हुने, नाकको हड्डी बाङ्गो हुने जस्ता नाकको समस्या हुन्छ ।

हामी सामान्य रूपमा नाकबाट राम्ररी अक्सिजन लिइरहेका हुन्छौं । तर नाकमा कुनै समस्या भएको खण्डमा भने नाकबाट राम्ररी अक्सिजन लिन सक्दैनौं ।

नाकको भित्र सफा गर्नु पर्दैन

स्वस्थ व्यक्तिले नाकको भित्री भागलाई सफा गर्नु जरुरी छैन । कुनै रोग नलागेको अवस्थामा नाक, कान जस्ता अंग स्वतः सफा हुन्छ । तर नाकमा संक्रमण भयो, केही जमेर बस्यो र पिनास भयो भने मात्र सफा गर्नुपर्छ । नत्र सामान्य अवस्थामा सफा गर्नु पर्दैन ।

नाकलाई जथाभावी कोट्याउनु हुन्न

नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्नु हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ  । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्नुपर्छ । यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ । कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ ।

सुतेको बेला नाकको एउटा प्वाल बन्द भए

नाकको प्वाल पालैपालो कहिले दायाँ कहिले बायाँ खुल्ने हुन्छ । यो नाकको सामान्य चक्र हो । तर लामो समयसम्म एउटा नाक बन्द भइरहने, नाकबाट बाक्लो सिंगान आउने, टाउको दुख्ने र नाक दुख्ने हुन्छ भने नाकको रोगको लक्षण हुन सक्छ ।

रुघा लागेको बेला नाक बन्द भए

रुघा लाग्ने भनेको भाइरल संक्रमणले हुने हो । भाइरल संक्रमण हुँदा नाकमा पानीको मात्रा बढेर नाक वरपरको कोष सुन्निन्छ र साँघुरिन्छ, जसले नाक बन्द हुन्छ ।

नाकको हड्डी बाङ्गो भए

जन्मने बेला पाठेघरको हड्डीमा नाक ठोक्कियो, नाकको विकास हुने क्रममा कतै ठोक्कियो वा बच्चाहरूमा खेल्दा लडेर नाकमा चोट लाग्यो भने नाकको हड्डी बाङ्गो हुन्छ ।

नाकको हड्डी बाङ्गो भएर वा बढेर नाकको प्वाल बन्द हुने र टाउको दुखिरहने भयो भने शल्यक्रिया गरेर बाङ्गो भएको हड्डीलाई सिधा बनाउनुपर्छ ।

(प्रा. डा. पौडेल नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

नाक प्रा. डा. ढुण्डीराज पौडेल
डा. ढुण्डीराज पौडेल
लेखक
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय