+
+

‘पशुपतिप्रसाद २ : भष्मे डन’मा स्वस्तिमाको दुर्गामाता अवतार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ११:४१

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा यतिबेला फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको छायांकन धमाधम भइरहेको छ । २०७३ सालको यो हिट फिल्मको स्पिनअफको शीर्षक ‘भष्मे डन’ राखिएको छ । गत शुक्रबारदेखि सुरु छायांकन पशुपति क्षेत्रमा एकमहिना चल्नेछ ।

छायांकन सेटबाट अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सक्लुसिभ’ पात्र लुक्स सार्वजनिक भएको छ, जहाँ उनलाई दुर्गा भवानीको रुपधारण गरेको देख्न सकिन्छ । देवी दुर्गाको अवतारमा प्रस्तुत भएकी उनीसँग पशुपति परिसरमा आशिर्वाद लिन र फोटो खिच्न चाहनेको घुइँचो छ । अनुहारमा पोतिएको रङ र दुर्गामाताको गेटअप हेर्दा फिल्ममा स्वस्तिमाको पात्र निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ ।

निर्देशनमा व्यस्त दीपेन्द्र के खनालले स्वस्तिमाको क्यारेक्टर रोचक रहेको बताए । शनिबार पशुपति आर्यघाटको पुलमा भइरहेको सुटिङमा स्वस्तिमासहित विपिन कार्की र सौगात मल्लको दृश्य खिचिएको थियो । शीर्ष पात्रको भूमिकामा रहेका विपिन भष्मे डन लुक्समा बोल्ड देखिएका थिए भने सौगातको पात्रको आफ्नै पारा थियो । फिल्मको निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् ।

फिल्मलाई नीरज कँडेलले खिचिरहेका छन् । पशुपति पुग्ने भीडलाई व्यवस्थापन गरेर फिल्म खिच्न निकै हम्मे परेको देखियो । यसबाहेक फिल्मसँग ५० जनाको क्राउड छ, जसलाई दैनिक पारिश्रमिक दिएर ल्याइएको हो । यसबाहेक छायांकनमा सिंक साउण्ड (छायांकनकै बेलाको लाइभ ध्वनि रेकर्ड गर्ने) कार्य पनि भइरहेको छ । निर्देशक खनालले नेपाली फिल्ममा पहिलोपटक सिंक साउण्डको प्रयोग सुरु गरिएको बताए । ‘विदेशतिर छायांकनमै सिंक साउण्ड लिने अभ्यास छ । हामीले यसलाई नेपालमा पनि पछ्याएका छौं,’ खनालले अनलाइनखबरसँग भने ।

खगेन्द्र लामिछानेको पटकथा लेखन र निर्माणमा बनिरहेको यो फिल्म पशुपतिप्रसाद मात्र नभएर भष्मे डनको पात्रमाथि आधारित छ । फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने तयारीका साथ काम भइरहेको निर्देशक खनालले जानकारी दिए । पशुपतिप्रसाद व्यावसायिक र समीक्षात्मक रुपमा निकै लोकप्रिय नेपाली फिल्म हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?