+

फिटनेस ट्रेनरको सुझाव, यस्तो छ मोटोपन घटाउने सही तरिका

२०७९ चैत  १६ गते १६:५७ २०७९ चैत १६ गते १६:५७
फिटनेस ट्रेनरको सुझाव, यस्तो छ मोटोपन घटाउने सही तरिका

शरीरको उचाइ अनुसार तौलको मापन गरिन्छ । यदि उचाइको अनुपातमा तौल बढी छ भने त्यो अवस्थालाई मोटोपन भनिन्छ । यसको अर्थ शरीरमा अत्यधिक बोसो सञ्चय भयो भन्ने हो ।

मोटोपन कसरी घटाउने ?

मोटोपन कुनै जादू गरे जसरी घटाउन सकिंदैन । मिल्दैन पनि । यसका लागि मुख्यगरी तीन कुरा जरुरी छ ।

सही खानपान

मोटोपन बढ्नुमा अनियन्त्रित र असन्तुलित खानपान पनि एक हो । तारेको, भुटेको, प्याकेटबन्द, मैदाजन्य, जंकफुड जस्ता खानेकुराले मोटोपन बढाउँछ । त्यसैले पोसिलो र सन्तुलित खाना जरुरी छ ।

खाने तरिका पनि सही हुनुपर्छ । लामो समय भोको बसेर एकै पटक अत्यधिक खानेकुरा खाँदा पनि मोटोपन बढ्ने हुन्छ । त्यसैले दिनभरमा थोरै थोरै खानेकुरा खाइरहनु उपयुक्त हुन्छ ।

शारीरिक सक्रियता 

तपाईं अल्छी गर्नुहुन्छ, ऐशआराम खोज्नुहुन्छ भने मोटोपन बढ्ने सम्भावना धेरै हुन्छ । तपाईं जति धेरै सक्रिय रहनुहुन्छ, उत्ति नै शरीर राम्रो हुन्छ, अतिरिक्त बोसो जम्न पाउँदैन । यसैले केही न केही काम गर्ने, व्यायाम गर्ने गरौं । व्यायाम गर्दा निरन्तर ३५ मिनेटसम्म गर्नुपर्छ । शरीरलाई तन्काउने, उफ्रिने, दौडिने जस्ता क्रियाकलाप पनि उपयोगी हुन्छ ।

पर्याप्त निद्रा

वयस्क व्यक्तिले दैनिक सात घण्टा गहिरो निद्रा लिनुपर्छ भनिन्छ । राम्ररी निद्रा पुगेको छ भने शरीर फूर्तिलो र चुस्त हुन्छ । तर अनियमित रुपमा सुत्ने, कहिले चाँडै उठ्ने, कहिले अबेरसम्म सुत्ने बानीले भने मोटोपन बढाइदिन्छ । त्यसैले सुत्ने–उठ्ने तालिका नियमित गर्नुपर्छ ।

एउटा सर्त

मोटोपन घटाउने भनेर अचानक खाना छाड्नु हुँदैन । यसले तपाईंको शरीरमा जरुरी पोषक तत्वको अभाव हुन्छ । र, मोटोपन घटाउने चक्करमा अर्को रोगले च्याप्न सक्छ । त्यस्तै व्यायाम गर्ने भनेर एकदमै कडा व्यायाम पनि गर्नुभएन । सुरुमा बिस्तारै हल्का व्यायाम गर्ने । पछि बानी भएपछि अलि कडा व्यायाम गर्नुपर्छ ।

मोटोपन आजको भोलि वा एक हप्तामा घट्ने भन्ने हुँदैन । यसका लागि तपाईंले लामो प्रक्रियामा आफूलाई समावेश गराउनुपर्छ । अनुशासित खानपान र जीवनशैली अपनाउनुपर्छ ।

कस्तो व्यायाम गर्ने ?

मोटोपन भन्नासाथ धेरैले पुट्ट पेट सम्झिन्छन् । तर मान्छे अनुसार मोटोपन फरक हुन्छ । कसैको पेट पुट्ट निस्किएको हुन्छ, तर हात खुट्टा लिखुरे हुन्छ भने कसैको खुट्टा मोटो हुन्छ, शरीर सानो ।

कसैको तिख्रा, कसैको छाती, कसैको पाखुरा मोटो हुन्छ । कुन अंग मोटो भएको हो ? त्यही अनुसार फरक-फरक व्यायाम गर्नुपर्ने हुन्छ । यी सम्पूर्णलाई फाइदा पुग्ने एउटै विधि भनेको बिहान दौडिनु वा हिंड्नु, साइक्लिङ गर्नु हो । त्यसबाहेक स्ट्रेचिङ, स्किपिङ, पुसअप, ट्रेडमिल, जुम्बा, एरोबिकबाट मोटोपन घटाउन सकिन्छ ।

यी व्यायामले शरीरको मांसपेशी खँदिलो बनाउँछ । यी व्यायाम पनि आफ्नो शरीरको कुन अंगको मोटोपन घटाउने हो, सोही अनुसार व्यायाम गर्न सकिन्छ ।

(लामा पोखरास्थित आव्या फिटनेस क्लबका सञ्चालक हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

फिटनेस मोटोपन
लेखक
निरोज लामा, फिटनेस व्यवस्थापक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय