२० चैत, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै फेरि पराजित भएको छ ।
आइतबार राति पार्क डे प्रिन्समा लिग लिडर पीएसजी लियोनसँग १-० ले पराजित भएको हो ।
लियोनलाई जिताउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राडली बार्कोलाले ५६औं मिनेटमा गोल गरे ।
त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो ।
पीएसजीका सर्वाधिक गोलकर्ता किलिएन एमबाप्पेले बराबरी गोल नजिक पुगे पनि उनको प्रहार सेभ भएको थियो ।
पीएसजी सबै प्रतियोगितामा गरी पछिल्लो १८ मध्ये ७ खेलमा पराजित भएको छ ।
हारपछि पनि २९ खेलबाट ६६ अंकका साथ पीएसजी दोस्रो स्थानको लेन्स भन्दा ६ अंकले अघि रहेको छ ।
लियोन २९ खेलबाट ४४ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया 4