+

उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

२०७९ चैत  २० गते १७:४२ २०७९ चैत २० गते १७:४२
उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन् मुटुरोग विशेषज्ञ र फिटनेस व्यस्थापक :

उच्च रक्तचाप हुँदा जिम जान हुन्न  : डा. अभिषेक ठाकुर, मुटुरोग विशेषज्ञ

रक्तचाप मिलिमिटर अफ मर्करीमा जाँचिन्छ । मुटु खुम्चिएको र फैलिंदाको स्थितिलाई मापन गरेर कसैको रक्तचाप कति छ भन्ने कुरा टुंगो लाग्छ । मुटु खुम्चिंदाको स्थिति ‘सिस्टोलिक’ हो, जसलाई चलनचल्तीमा तलको भनिन्छ भने मुटु फैलिंदाको रक्तचाप डायस्टोलिक जसलाई माथिको भन्ने गरिन्छ । सामान्य मान्छेको मुटुको चाप तल ८० र माथि १२० हुनुपर्छ ।

अब कुरा रह्यो, उच्च रक्तचाप भएको व्यक्तिले जिम जान हुन्छ कि हुँदैन भन्ने । उच्च रक्तचाप भएकाले व्यायाम गर्न मिल्छ, जिम जान पनि मिल्छ । तर सामान्य भन्दा केही रक्तचाप बढेको अवस्था छ भने मात्र ।

तर रक्तचाप तल (सिस्टोलिक) १०० र माथि (डायस्टोलिक) १५० वा १६० छ भने उनीहरुले कडा व्यायाम गर्न मिल्दैन । जिम त जानै भएन । यदि व्यायाम गर्नुपरेमा पनि चिकित्सकको परामर्श लिनैपर्छ ।

रक्तचाप तल ९० र माथि १४० छ भने त्यस्ता व्यक्तिले व्यायाम गर्न मिल्छ । जिम धाउन मिल्छ । जिममा सामान्य एरोबिक गर्दा उनीहरुलाई थप फाइदा मिल्छ । भारोत्तोलन वा अरु गह्रौं खालका व्यायाम भने गर्नु हुँदैन । यसले स्वास्थ्यमा फाइदा गर्ने भन्दा पनि हानि गर्छ ।

रक्तचाप भएकाले कुनै पनि व्यायाम हतारमा वा तीव्र गतिमा गर्नु हुँदैन । बरु हल्का ढंगले चरणवद्ध रुपमा व्यायाम गर्नुपर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि व्यायाम त प्रभावकारी हुन्छ । तर कुन व्यायाम गर्ने, कसरी गर्ने, कुन समयमा गर्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ । उच्च रक्तचाप हुँदा गरिने पनि केही निश्चित व्यायाम हुन सक्छ । चिकित्सकको परामर्शमा त्यस्ता व्यायाम गर्न सकिन्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि नियमित व्यायाम र सन्तुलित खानपान एकदमै जरुरी छ । व्यायामले मेटोबोलिज्म बढाउने, मोटोपन घटाउने हुन्छ । यसले रक्तचाप नियन्त्रण राख्न पनि सहयोग गर्छ ।

कस्तो व्यायाम गर्ने ?

उच्च रक्तचाप भएकाले दैनिक पैदल हिंड्नु राम्रो हो । बिहान फटाफट तीव्र गतिमा हिंड्दा फाइदा पुग्छ । त्यसबाहेक कार्डियो वा एरोबिक व्यायाम गर्न सकिन्छ । व्यायामका लागि जिम नै धाउनुपर्छ भन्ने छैन । घरमा पनि सहज हिसाबले व्यायाम गर्न सकिन्छ ।

जस्तो बिहान हिंड्नु वा हल्का दौडिन सकिन्छ । साइक्लिङ गर्न सकिन्छ । घरको कोठा, छतमा सहज व्यायाम गर्न सकिन्छ । यति गर्न जिम जानुपर्छ भन्ने छैन ।

आफूखुसी जिम नगरेकै बेस : निरोज लामा (फिटनेस व्यवस्थापक)

सामान्य मान्छेले जस्तै उच्च रक्तचाप वा अरु दीर्घरोग भएकाले पनि व्यायाम गर्न मिल्छ । जिम जान मिल्छ । जिममा आएपछि हामी उनीहरुको रक्तचापको स्थिति के छ भनेर पनि जाँच गर्छौं । यदि सामान्य रक्तचाप छ भने अन्य सरह व्यायाम गराइन्छ । रक्तचाप बढी छ भने गह्रौं वा कठिन किसिमको व्यायाम गर्न दिइँदैन ।

किनभने उच्च रक्तचाप भएको स्थितिमा कठिन व्यायाम गर्दा नकारात्मक असर पर्न सक्छ । त्यसैले उच्च रक्तचाप भएको बेला यदि जिम जान परे अनुभवी प्रशिक्षक तथा चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ ।

उच्च रक्तचाप भएको अवस्थामा दक्ष प्रशिक्षकको निगरानीमा उपयुक्त व्यायाम गर्नुपर्छ । किनभने आफूखुसी व्यायाम गर्दा चक्कर लाग्ने, कमजोरी महसुस हुने, बेहोस हुनेसम्मको जोखिम हुन सक्छ ।

उच्च रक्तचाप जिम
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय