+

थरीथरीका हड्डी : यसरी बनेको हुन्छ मानव शरीर

२०७९ चैत  २१ गते १३:४२ २०७९ चैत २१ गते १३:४२
थरीथरीका हड्डी : यसरी बनेको हुन्छ मानव शरीर

हड्डी कसरी बलियो बनाउने ? हड्डी भाँचिए के गर्ने ? हड्डी किन कमजोर हुन्छ ? यी प्रश्नहरुमा घोत्लिरहँदा तपाईंसँग अर्को पनि प्रश्न आउन सक्छ, शरीरमा हड्डी नै नभए के होला ?

शरीरको रहस्यमयी भाग त होइन हड्डी । मांसपेशीलाई अड्याएर शरीरको सग्लो संरचना तयार गर्नमा हड्डीको खास उपस्थिति हुन्छ । शरीरको आवरणलाई निश्चित आकार दिने हड्डी खासमा त विभिन्न अंगहरुको सुरक्षा कवच पनि हो । हाम्रो शरीरका भित्री अंगलाई यसले जोगाएर राख्ने गर्छ । त्यसबाहेक हड्डीले रातो, सेतो रक्तकोषिका उत्पादन गर्छ, खनिजहरु भण्डारण गर्छ ।

जगजाहेर नै छ, हड्डी एक शरीरको कडा तन्तु हो । यो मुख्यतया कोलाजेन, भिटामिन र क्याल्सियम जस्ता पदार्थ मिलेर बनेको हुन्छ । मानव कंकाल प्रणाली निर्माणमा यिनै पदार्थहरुको संयोजन हुन्छ ।

थरीथरीका हड्डी

एक वयस्क व्यक्तिमा २०६ वटा हड्डी हुन्छन् । शरीरमा १४ प्रतिशत भाग हड्डीले ओगटेको हुन्छ । हड्डीहरु आफैं चल्न सक्दैनन् । त्यसलाई चलायमान बनाउन जोर्नी, मांसपेशी, लिगामेन्ट (जोर्नीबीच रहने बाक्लो मासु) र त्यसमा हुने रक्त सञ्चार प्रणालीको खास भूमिका हुन्छ । हड्डीको चारैतर्फ पेरिओस्टियम झिल्ली हुन्छ, जसको माध्यमबाट मांसपेशी र स्नायु तन्त्र जोडिन्छन् ।

मानव शरीरमा समतल, लामो, छोटो, मसिनो, बाक्लो गरी थरीथरीका हड्डी हुन्छन् । शरीरको फरक-फरक भागमा हड्डी पनि फरक अवस्थामा रहन्छ । मेरुदण्डमा अंग्रेजी वर्णमालाको ‘सी’ र ‘एस’ आकारको हड्डी हुन्छ भने हातखुट्टामा सिधा हड्डी हुन्छ । सबैभन्दा ठूलो हड्डी तिघ्रामा हुन्छ । सबैभन्दा सानो हड्डी कानको बीच भागमा हुन्छ ।

ठूला हड्डीहरु पाइपका नली जस्तै भित्र खोक्रो अवस्थामा हुन्छन् । त्यसभित्र लेदो जस्तो पदार्थ हुन्छ । उक्त पदार्थलाई म्यारो क्याभिटी भनिन्छ । सो क्याभिटीमा हुने तरल पदार्थलाई बोन म्यारो भनिन्छ ।

बोन म्यारोमा दुई किसिमको क्याभिटी हुन्छ । एउटा सेतो र अर्को रातो । रातो बोनम्यारोको काम रातो रक्त कोषिका बनाउनु हो भने सेतोको सेतो रक्त कोषिका बनाउनु हो ।

कसरी हुन्छ हड्डीको विकास ?

आमाको गर्भमा रहँदा नै शिशुमा हड्डीको विकास हुन थाल्छ । सुरुमा कुरकुरे खालको नरम हड्डीको विकास हुन्छ । आमाबाट पाउने पोषक तत्वबाट कतिपय अंगका हड्डी विकास हुन्छ । हड्डी बढ्ने क्रम भने बच्चाको जन्मपछि निरन्तर हुन्छ ।

के गर्छ हड्डीले ?

-यसले शरीरलाई आकार दिन्छ ।

-मस्तिष्क, फोक्सो जस्ता महत्वपूर्ण अंगको सुरक्षा गर्छ ।

-शरीरलाई चलायमान राख्न मांसपेशी अड्याउनलाई संरचनात्मक समर्थन प्रदान गर्छ ।

-क्याल्सियम र खनिज भण्डार गर्छ ।

-प्रत्येक जोर्नीहरुमा हड्डीसँगै लिगामेन्टहरु हुन्छन्, जुन एकएर्कासँग जोडिएका हुन्छन् ।

-लिगामेन्ट कडा खालको मासु हो, जसले हड्डीलाई चलायमान राख्न मद्दत गर्छ ।

हड्डी व्यक्तिपिच्छे फरक

मान्छेअनुसार हड्डी पनि फरक हुन्छ । कसैमा हड्डी मोटो, कसैमा पातलो र सानो हुन्छ ।  अग्लो व्यक्तिको हड्डी पनि ठूलो हुन्छ भने होचो व्यक्तिको हड्डी मोटो र छोटो हुन्छ ।

त्यस्तै, हड्डीको आकारप्रकार फरक हुनमा यसको विकास कसरी भइरहेको छ भन्ने कुरामा पनि भर पर्ने हुँदा व्यक्तिअनुसार हड्डीहरु फरक-फरक हुन्छन् । धेरै बसेर काम गर्ने व्यक्तिको बढी कुप्रिएर हड्डीहरु बाङ्गो हुँदै जाने, उमेर भइसकेपछि क्याल्सियमको कमी हुँदै जाँदा हड्डी खिइने,  भिटामिनको कमी हुँदा हड्डी कमजोर हुने, धेरै उफ्रिने व्यक्तिको हड्डीको लम्बाइ बढ्ने हुन्छ ।

हड्डी फरक हुनुमा खानपान, जीवनशैली र वंशाणुगत कुरामा निर्भर रहन्छ ।

हड्डी कमजोर हुने अवस्था

हड्डी सधैं बलियो अवस्थामा रहँदैन । मान्छेको खानपान, जीवनशैली र उमेरसँगै हड्डी बलियो वा कमजोर रहने भन्ने तय हुन्छ ।

यदि सही खानपान र जीवनशैली अपनाइएको छैन भने हड्डी बिस्तारै कमजोर हुँदै जान्छ । यस्तो स्थितिमा सानोतिनो दक्खलले पनि हड्डी भाँचिन सक्छ । यसरी भाँचिएको हड्डी पुनः जोडिन निकै समय लाग्छ ।

पक्षघात भएको अवस्थामा पनि उक्त भागमा रक्तसञ्चार राम्ररी हुन नसक्दा हड्डी कमजोर हुँदै जान्छ ।

हड्डीमा हुने मुख्य समस्या

बाथरोगका कारण हाडजोर्नी बिग्रिने, बच्चालाई हुने पोलियोले बिस्तारै अस्थिपञ्जरमै असर गर्ने, उमेर बढेसँगै हड्डी खिइने, क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा हातखुट्टा लुलो हुने वा हड्डी कमजोर हुँदै शारीरिक विकासमै असर पर्छ ।

हड्डीलाई कसरी स्वस्थ राख्ने ?

हड्डी बलियो बनाउन क्याल्सियम, खनिज र भिटामिन लगायत पोषण पुग्ने खानेकुरा पर्याप्त खानुपर्छ । शरीरलाई घामको सम्पर्कमा राख्नुपर्छ ।

नियमित व्यायाम, सक्रिय जीवन, सही खानपान, सूर्य स्नान, क्याल्सियमयुक्त खुराक आदिले हड्डी बलियो बनाउँछ । हड्डी कमजोर भएको भएको अवस्थामा क्याल्सियम र भिटामिन जस्ता सप्लिमेन्ट्स चिकित्सकको सल्लाहमा खानुपर्छ ।

(डा. शाह अन्नपूर्ण अस्पतालका अर्थोपेडिक सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

शरीर हड्डी
डा. मनिष विक्रम शाह
लेखक
डा. मनिष विक्रम शाह
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२२३७ अध्ययन : अर्थोपेडिक सर्जरीमा एमबीबीएस र एमएस अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर काठमाडौंमा कार्यरत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला