+
+
उद्योग वाणिज्य महासंघ निर्वाचन :

अञ्जन श्रेष्ठको चुनावी वाचा : वित्तीय संकटबाट निजी क्षेत्रलाई माथि उकास्न उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १५:४५

२२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी २९ चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले औपचारिक प्यानलको घोषणा गरेका छन् । प्यानल घोषणासँगै श्रेष्ठले आफ्नो समूहको चुनावी वाचापत्र समेत सार्वजनिक गरेका छन् ।

श्रेष्ठले वित्तीय संकटबाट निजी क्षेत्रलाई माथि उकास्न आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । वाचापत्र सार्वजनिक गर्दै उनले जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए ।

स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनु पर्ने उनको भनाइ छ । नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनका लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘वित्तीय संकटबाट निजी क्षेत्रलाई माथि उठाउन उम्मेदवारी दिएको छु,’ श्रेष्ठले थपे, ‘महासंघलाई नयाँ उचाईमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन पनि मेरो उम्मेदवारी हो ।’

आफ्नो टिमले सहभावना र सहकार्यको मूलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योगी व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यास श्रेष्ठको समूहबाट जिल्लानगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे ।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए ।

श्रेष्ठको चुनावी वाचा र संकल्पहरु :

  • उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिइदिने विद्यमान समस्यालाई चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका सहयात्री हुन् भनेर स्थापित गराउनु मेरो मुख्य उद्देश्य हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका अघिल्ला नेतृत्वले सुरु गरेका सुधारका कार्यहरूलाई निरन्तरता दिने छु । महासंघको कार्यालयमा हुने कार्यसम्पादनलाई सुदृढ गर्ने प्रण गर्दछु ।
  • निजी क्षेत्र र सरकार नदीका दुई किनारा होइनन् । हाम्रा लक्ष्य अलग छैनन्, सरकार र निजी क्षेत्र मिलेर काम गर्दा दुवै पक्ष लाभान्वित हुनेमात्र होइन, मुलुककै सर्वांगिण विकासका लागि आधार बन्नेछ । व्यवसायीहरू पीडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न म अहोरात्र खटिनेछु ।
  • वातावरण निर्माण र उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि महासंघले उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकारसँगको साझेदारीमा सुविधासहितका आकर्षक कार्यक्रमहरू ल्याउने योजनाका लागि पहल गर्नेछु । युवा उद्यमी, स्टार्टअप तथा उद्योगी व्यवसायीहरूलाई सहजीकरण गर्नका लागि थालिएका सम्पूर्ण कार्यहरूलाई निरन्तरता दिँदै नीतिगत सुधारमा सरकारलाई निरन्तर झक झाक्यउने कार्यमा विशेष जोड दिने छु ।नेपालमा छरिएर रहेका र असान्दर्भिक नियम कानुनहरूमा एकरूपता ल्याउन सरकारसँगको सहकार्यमाप्रयास गर्ने छु । नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय वा कुनै पनि नियमनकारी संघसंस्थाले कुनै नीति वा नियम बनाउँदा सरोकारवाला उद्योगी व्यवसायीसँग पर्याप्त परामर्श गरिँदैन । पर्याप्त परामर्श विना कानुन बनाउँदा र पुराना कानुनहरू अद्यावधिक नगर्दा हामीले धेरै समस्या भोग्नु परेको छ । त्यसैले पर्याप्त परामर्शसहितका तथ्यमा आधारित नीति नियम बनाउनका लागि मेरो निरन्तर प्रयत्न, पहल र पैरवी हुनेछ ।
  • नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँगसहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिनेछु ।
  • महासंघका प्रादेशिक कार्यालयहरूको क्षमता विस्तार गर्ने छु । सरकारको ध्यान आन्तरिक उत्पादन बढाउने भन्दा पनि राजस्व बढाउनेतर्फ मात्रै केन्द्रित छ भन्ने प्रतीत हुन्छ । यसको प्रत्यक्ष प्रभाव उद्योग तथा व्यवसायहरूमा परिरहेको छ । सरकार राजस्वतर्फ केन्द्रित हुँदा आयातमा उच्च वृद्धि हुनु र निर्यातमा गिरावट आउनु स्वाभाविक हो । आन्तरिक उत्पादन बढाउन महासंघले नयाँ र पृथक रणनीतिक योजना बनाउने र सरकारसँग सहकार्य गर्ने संकल्प गर्दछु ।
  • उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजमा ऋण उपलब्ध गराउन तथा विगतदेखि नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि महासंघले हरसम्भव प्रयास गर्ने वाचा गर्दछु । अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन् । सिमेन्ट उद्योगी, छड उद्योगी, निर्माणजन्य उद्योग, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटीएको अवस्था छ । होटल रेस्टुरेन्ट, जुत्ता, चप्पलदेखि हरेक प्रकारका उद्योगी व्यवसायी मर्कामा छन् । बजारमा मागमा कमी आएको छ, उत्पादन तथा बजार माग बढाउन नीतिगत तवरबाट गाँठो फकाउनु मेरो प्रमुख दायित्व हुनेछ । यो दायित्व पूरा गर्नका लागि हरसम्भव प्रयास गर्नेछु ।
  • नेपालमा लगानीको कमीलाई सम्बोधन गर्दै, निजी क्षेत्रलाई लगानीको श्रोत जुटाउन कन्ट्री रेटिंग, हेजिंग, स्वदेशी उद्योगी व्यवसायीहरूले सहज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्ने सक्ने व्यवस्था आदि जस्ता आवश्यक नीतिगत व्यवस्थाको कार्यान्वयन गर्न विशेष पहल गर्ने छु ।
  • कर प्रणालीमा आवश्यक सुधार, लागतमा नियन्त्रण, लगानीमैत्री वातावरण र उदार अर्थनीतिजस्ता नीति नियमहरूमा महासंघको विशेष ध्यान हुनेछ । यसका लागि महासंघ तदारुकताका साथ अगाडी बढ्ने वाचा गर्दछु ।
  • हाल नेपालले भोगेको आर्थिक संकटको एउटा मुख्य कारण नेपालको अर्थतन्त्र आयातमुखी हुनु हो । यसमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता कम हुनुलाई मुख्य कारण मान्ने गरिएको छ । म वाचा गर्छु, मेरो कार्यकालमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्ने यथासक्य प्रयत्न गर्ने छु । यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रविधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्नेछु । यसका साथै मानव संसाधनको क्षमता विकास गर्दै सामान्य रोजगारीको खोजीमा पनि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न प्रयत्न गर्नेछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?