+

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

२०७९ चैत  २३ गते १८:२५ २०७९ चैत २३ गते १८:२५
ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि सर्वप्रिय खेल हो, ब्याडमिन्टन । खेल्दा रमाइलो हुने, शारीरिक व्यायाम पनि । त्यसैले त व्यावसायिक हिसाबले मात्र होइन, व्यायामका लागि खेल्नेहरु पनि उत्तिकै छन् ।

शरीरलाई चुस्त, फूर्तिलो र लचिलो राख्न कतिपय ब्याडमिन्टन खेल्ने गर्छन् । बिहानको एकाध समय ब्याडमिन्टन खेलेपछि ज्यान फूर्तिलो भएको पनि अनुभव हुन्छ । तर के ब्याडमिन्टन खेलेपछि शरीरको सम्पूर्ण व्यायाम पूर्ण हुन्छ ? यसका अतिरिक्त अरु व्यायाम गर्नु जरुरी हुन्छ कि हुँदैन ?

अनलाइनखबरले फिजियोथेरापिस्ट सुदन कुमाल र वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक रजनी मैया जोशीसँग छुटाछुटै जिज्ञासा राखेको थियो ।

ब्याडमिन्टन खेलेपछि अरु व्यायाम गर्नुपर्दैन’

रजनीमैंया जोशी (वरिष्ठ ब्याटमिन्टन प्रशिक्षक)

ब्याडमिन्टन खेल्दा हातखुट्टा, कम्मर, जोर्नी, मांसपेशी, हड्डीलगायत सबै व्यायाम भएको हुन्छ । ब्याडमिन्टन खेल्दा कर्क जता गयो शरीर त्यतै लैजानुपर्ने हुन्छ । हातखुट्टा दायाँ बायाँ तल माथि, उफ्रिने भएका कारण यो खेलले नदेखिने गरी व्यायाम भइरहेको देखिन्छ । खासगरी व्यावसायिक खेलाडीले ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण अंग राम्ररी चलायमान भइरहेको हुन्छ ।

उनीहरुले ब्याडमिन्टन खेल्नुअघि वार्मअप गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा हल्का दौडिने, त्यसपछि फेरि तीव्र गतिमा दौडिने, फुटवर्क गर्ने र पुसअप गर्नुपर्छ । यसरी सिलसिलाबद्ध ढंगले तयार भएपछि बल्ल कोर्टमा प्रवेश गरिन्छ ।

खेलाडीले ब्याडमिन्टन दिनमा ५–६ घण्टा खेल्ने गर्छन् । यत्तिका अवधि खेलेपछि उनीहरुले अरु कुनै व्यायाम गर्नुपर्दैन ।

ब्याडमिन्टनले सबै व्यायाम भएपनि योग जस्तो समुचित हुँदैन’

सुदन कुमाल, फिजियोथेरापिस्ट

ब्याडमिन्टन सबैले एकै तरिकाले खेल्ने हो । निश्चित गतिमा निरन्तर खेलिने हुँदा यसले शरीरका अंगहरुलाई राम्ररी चलायमान बनाइदिन्छ । त्यसैले निष्क्रिय बस्नेहरुको तुलनामा ब्याडमिन्टन खेल्नेहरु बढी फूर्तिलो हुन सक्छ ।

यसले मांसपेशी बलियो र जोर्नीलाई लचिलो बनाउँछ । फोक्सो, मुटुलाई पनि राम्ररी व्यायाम पुग्छ । ब्याडमिन्टन आफैंमा खेल हो । यसैले ब्याडमिन्टन खेलिरहँदा मानसिक रुपले पनि बलियो बनाउँछ । हाँसो, खुसी, उमंग ल्याउँछ ।

तर मान्छेको शारीरिक अवस्था र समस्या अनुसार ब्याडमिन्टन उत्तिकै उपयोगी हुन्छ भन्ने हुँदैन । एकदमै तीव्र गतिमा उफ्रिंदा, दौडिंदा कतिपय शारीरिक समस्यामा थप कठिन हुन सक्छ । त्यसैले ब्याडमिन्टनसँगै योग, प्राणायाम पनि गर्नु उत्तम हुन्छ ।

योगका आसनहरु यसरी अभ्यास र विकास गरिएका छन्, जसले शरीरको समुचित व्यायाम गराउँछ । यो निकै वैज्ञानिक पद्धति पनि हो । शरीरका फरक–फरक अंगलाई लाभ हुने गरी योगका आसनहरु विकास गरिएका छन् । त्यसैले ब्याडमिन्टन खेले पनि यदि समय मिल्छ भने योग, ध्यान, प्राणायम गर्नु सर्वोत्तम हो ।

ब्याडमिन्टन व्यायाम
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय