+

शरीरलाई किन आवश्यक छ अमिलो ?

२०८० वैशाख  १७ गते १८:५१ २०८० वैशाख १७ गते १८:५१
शरीरलाई किन आवश्यक छ अमिलो ?

नेपालीमा उखान छ- रातो राम्रो गुलियो मीठो । तर मीठो गुलियो मात्रै हुँदैन अरु स्वाद पनि उत्तिकै हुन्छन् । जिब्रोले अमिलो, पीरो, नुनिलो, तीतो, टर्रो धेरै खालका स्वाद अनुभव गर्छ । ती सबै स्वादको आ–आफ्नै महत्व छ । विभिन्न स्वादका खानेकुरामा पौष्टिक तत्व पनि फरक-फरक पाइन्छ ।

अमिलो स्वाद शरीरका लागि अतिआवश्यक छ । यसलाई प्राकृतिक र कृत्रिम गरी दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ । कागती, अमला, लप्सी, सुन्तला, अंगुर, जुनार, निबुवा, भोगटे जस्ता फलफूलबाट प्राकृतिक रुपमै अमिलोपन पाउन सकिन्छ ।

मानिसले केमिकल प्रयोग गरेर बनाइएको अमिलो खानेकुरा कृत्रिममा पर्छन् । यसमा तितौरा, पाउँ, प्याकेजिङ अचार जस्ता कुरा पर्छन् । यी सामग्रीमा अमिलोपन भएको पदार्थ मिसाएर अमिलो बनाइन्छ ।

अमिलो खानेकुराका फाइदा

अमिलोपन भएका खानेकुरामा काब्रोहाइड्रेट, भिटामिन सी र खनिज तत्व पाइन्छ । अमिलोमा बढी फाइबर हुने भएकाले यो जिब्रोको स्वाद र पोषण दुवैमा फाइदाजनक छ ।

सन्तुलित मात्रामा अमिलो खानेकुरा खाँदा यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसैगरी मुटुको समस्यामा पनि यसले फाइदा गर्छ । नराम्रो कोलेस्टेरोलको स्तर कम गराएर हृदयरोगबाट बचाउन अमिलोले सहयोग गर्छ । साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रगत सफा गराउन मद्दत गर्छ ।

अमिलो कुराको सेवनले शरीरमा मेटाबोलिजम बढ्छ । यसले तौललाई कम गर्नुका साथै नियन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ । अमिलोमा धेरै फाइबर हुन्छ, जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ र कब्जियतको समस्या हटाउँछ । अमिलो खाँदा भोक जाग्छ ।

अमिलो कुरामा भिटामिन सी हुने भएकाले यसले शरीरलाई ऊर्जावान् बनाइराख्न सहयो गर्छ । कमजोरीबाट टाढा पनि राख्छ । अमिलो खाँदा शरीरको विषाक्त पदार्थ टाढा रहने भएकाले अनुहारको चमक बढाउन पनि सहयोग गर्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउनुका साथै कपाल झर्ने समस्यामा पनि राहत दिन्छ । अमिलोमा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ, जुन क्यान्सरबाट बचाउन फाइदाजनक मानिन्छ ।

साथै जिब्रोको क्षमता बढाउन, तनावमुक्त गर्न र शरीरमा स्टोन बन्न रोक लगाउँछ ।

अमिलो खानेकुराका बेफाइदा

अमिलोमा ढुसी चाँडै आउने भएका कारण यसको बढी सेवनले शरीरमा विभिन्न किसिमका रोगको संक्रमण फैलिन सक्छ । त्यस्तै यसमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरमा अम्लीयपन बढाउँछ, जसले छातीमा जलन, पेट, आन्द्रा र पाचन प्रक्रियामा समस्या गराउन सक्छ ।

अमिलोले दाँतलाई कमजोर बनाउँछ । धेरै अमिलो खाँदा दाँत कुँडिने, दाँतको इनामेल खिइने समस्या हुन्छ ।

अमिलो कति खाने ?

अमिलो शरीरका लागि आवश्यक भएकाले अन्य खानासँग मिलाएर सन्तुलित रुपमा खानुपर्छ । कृत्रिम भन्दा प्रकृतिक अमिलोलाई जोड दिनुपर्छ । साथै भूगोल, मौसम, मानिसको शारीरिक बनावट अनुसार पनि अमिलो कति खाने भन्ने भर पर्छ ।

(आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

अमिलो डा. राजु अधिकारी
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय