+
+
प्रविधि फिचर :

स्मार्ट जमानाको बिहेमा स्मार्ट औँठी, बिहेमा यसरी छिर्दैछ प्रविधि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १९:०२

काठमाडौं । परम्परागत औँठीको साटो चेक गणतन्त्रको एक जोडीले आफ्नो बिहेमा स्मार्ट औँठी साटासाट गरेका छन् । सायद यो विश्वमै पहिलोपटक हुनसक्छ कि चेक रिपब्लिकका ओन्ड्रेज भेडराल र जिरीले स्मार्ट औँठी साटेर बिहे गरेका छन् ।

स्मार्ट औँठी पहिरिन मिल्ने त्यस्तो विद्युतीय डिभाइस हो जसले स्मार्ट घडीले जस्तै काम गर्दछ । त्यसले प्रयोगकर्तालाई आफ्नो मुटुको धड्कन मनिटर गर्ने मात्र होइन यसबाट विद्युतीय भुक्तानी पनि गर्न सकिन्छ ।

स्मार्ट औँठी प्रविधि क्षेत्रको उदीयमान तथा तिव्र रुपमा विस्तार भैरहेको क्षेत्र हो । यसको बिक्री पछिल्लो एक वर्षमा २१ प्रतिशतले बढेको छ ।

जिरी र ओन्ड्रेजका स्मार्ट औँठी भने अझै अगाडि बढेर रोमान्टिक डिजाइन तथा फिचरसहित तयार पारिएका हुन् । ती औँठीबाट उनीहरुले एक अर्काको मुटुको धड्कन हेर्न तथा अनुभूत गर्न सक्दछन् ।

यी औँठी ब्लुटुथबाट स्मार्टफोनमा भएको एउटा एपमा जोडिएको छ । जुन एपमार्फत् ती दुई औँठीलाई एक अर्कासँग जोड्न सकिन्छ ।

त्यसैले जब जिरीले आफ्नो स्मार्ट औँठीमा थिच्छिन् तब यो ओन्ड्रेजको मुटुको धड्कनसँगै धड्किन्छ र हिडिरहेको रातो लाइनमा मुटुको धड्कन देखाइदिन्छ । र, ओन्ड्रेजको स्मार्ट औँठीमा पनि यसैगरी जिरीको मुटुको धड्कन महसुस गर्न सकिन्छ ।

दुबैका मोबाइल फोन इन्टरनेटमा जोडिएका बेलामा रियल टाइममा मुटुको धड्कन पाउन सकिन्छ । अफलाइन हुँदा चाहीँ पछिल्लोपटक अनलाइन हुँदा रेकर्ड भएको धड्कन देखा पर्दछ ।

जिरी भन्छिन्, ‘हामीलाई सुन र हिरा कहिल्यैपनि मन परेन । हामीले केही फरक कुरा चाहेका थियौँ र यो स्मार्ट औँठी नै नयाँ हुनसक्छ भन्ने ठहर गर्यौँ । यो क्षेत्रमा हामीहरु अग्रणी नै भयौँ भन्ने लाग्छ ।’

HB Ring नामक उक्त रिचार्जेबल स्मार्ट औँठीलाई चेक रिपब्लिकन कम्पनी द टचले निर्माण गरेको हो । हुनत यो कम्पनीले पहिलोपटक सन् २०१६ मै यस्तो औँठीको बनाएर बेचेको हो तथापि पछिल्लो समयमा विश्वव्यापी रुपमा स्मार्ट औँठीप्रति चासो बढेपछि यसको बिक्री बढेको छ ।

कम्पनीले स्मार्ट औँठीसँगै यो वर्ष अर्को प्रडक्ट पनि उत्पादन गरेको छ । त्यो हो, टच लकेट । नेकलेसमा लगाउन मिल्ने यो लकेटले पनि स्मार्ट औँठीले जस्तै काम गर्दछ ।

कम्पनीका अनुसार स्मार्ट औँठीका लक्षित ग्राहकहरु चाहीँ इन्गेजमेन्ट गरिसकेका त्यस्ता जोडीहरु हुन् जसले आफुलाई माया गर्ने मान्छेको मुटुको धड्कन अनुभूत गर्न चाहन्छन् तर बिहेको परम्परागत औँठी लगाउन चाहँदैनन् ।

आफ्नो बिहे उत्सवमा प्रविधिको उच्चतम प्रयोग गरिरहेका जोडीमध्ये जिरी र एन्ड्रेजको जोडी पनि एक हो ।

बिहेको व्यवस्थापनमा पछिल्लो समय प्रविधिको प्रयोग बढिरहेको छ । फोटोग्राफीका लागि ड्रोनको प्रयोगदेखि बजेट व्यवस्थापन र सिटको बन्दोवस्त जस्ता बिहे समारोहको व्यवस्थापनका लागि डिजिटल टूलको प्रयोगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

बेलायतको बिहे योजना सम्बन्धी वेबसाइट Hitched.co.uk का सम्पादक जोए ब्रुकका अनुसार मानिसहरुको आफ्नो दैनिकीको अधिकांस हिस्सा स्मार्टफोनमै बितिरहँदा बिहे प्रविधिको ट्रेण्डमा पनि वृद्धि भैरहेको हो ।

उनी भन्छन्,’अहिले मानिसहरु आफ्नो बिहेको योजना स्मार्टफोनबाटै गर्न सकिने कुरालाई सामान्य रुपमा लिन थालेका छन् । सायद तपाइँले आफ्नो पार्टनरलाई पनि फोनबाटै भेट्नु भएको हुनसक्छ ।’

एक तथ्यांक अनुसार बेलायतमा एक तिहाई दम्पत्तिले आफ्नो बिहेमा पाहुनाहरुलाई ह्वाट्सएपबाटै निम्तो पठाउने गरेका छन् भने ६० प्रतिशतले सोसल मिडियाबाटै आफ्नो इन्गेजमेन्टको घोषणा गर्ने गरेका छन् ।

कतिपयले त आफ्नो बिहे समारोहको भाषण वा बाचा लेख्नका लागि समेत आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गर्ने गरेका छन् ।

बिहेको योजना निर्माण सम्बन्धी अमेरिकी वेबसाइट Joyले हालै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स टूल लञ्च गरेको छ, जसबाट यी सबै काम गर्न सकिन्छ । च्याट जिपिटीमा आधारित उक्त टूलको नाम Wedding Writer’s Block Assistant  हो ।

जोएका सहसस्थापक तथा प्रमुख कार्यकारी विशाल जोसीका अनुसार यो टूलको उद्धेश्य बिहेको बाचा तथा भाषण लेखाईको रोमान्सलाई मार्नु होइन कि आफ्नो अनुभूतिलाई शव्दमा उतार्न नसक्ने मानिसहरुालई सहयोग गर्नु हो ।

उनका अनुसार एक सर्भेक्षणका क्रममा ८० प्रतिशत मानिसलाई आफ्नो बिहे समारोहमा भन्ने कुरा लेख्न निकै गाह्रो हुने गरेको पाइएको छ । त्यसैले यो आर्टिफिसियल इन्टेलिजेन्सले मानव संवेगलाई प्रतिस्थापन गर्ने नभई सहयोग गर्नु हो ।

प्रविधिमा आधारित बिहेका लागि मार्ग प्रसस्त गर्ने काम चाहीँ विश्वव्यापी कोडिभ १९ महामारीले गरेको हो । महामारीका बेला कैयन् जोडीहरुले जूममै बिहे गरे र आ आफ्नै घरमा बसेका पाहुनाहरु समक्ष बिहे समारोह लाइभ स्ट्रिम गरेर देखाए । तर महामारी एक हदसम्म रोकिएसँगै यस्तो भर्चुअल बिहेको चलन हटेको छ । यद्यपि बिहेमा प्रविधिको प्रयोग चाहीँ बढेको छ ।

विश्वव्यापी रुपमा चुलिँदो मुद्रास्फितिका कारण बढेको महंगीसँगै बिहे गर्ने जोडीहरुलाई आफ्नो बिहेको खर्च घटाउनका लागि प्रविधि निकै उपयोगी बनेको छ । कागजका निमन्त्रण पठाउने कार्यलाई विद्युतीय निम्तोले प्रतिस्थापन गरेको छ । यसले खर्च मात्र घटाउने नभई वातावरण जोगाउन पनि सहयोग गरेको छ ।

बिहेको विशेष दिनलाई सोसल मिडिया मार्फत् अझै विशेष बनाउने कुरा अहिले धेरैको सबैभन्दा चासोको विषय बनेको छ । त्यसैले बिहेको बेला र बिहेभोजको बेलामा समेत बेहुला बेहुली र उपस्थित अन्य पाहुनाहरुले टिकटक तथा इन्स्टाग्राममा फोटो तथा भिडियोहरु पोस्ट गर्ने कामलाई प्राथमिकता दिन थालेका छन् ।

पछिल्लो समयमा बिहेको रिसेप्सनका बेला  जिआइएफ बुथ  भाडामा लिने क्रम बढेको छ । जिआइएफ बुथ एक प्रकारको फोटोबुथ हो जसले कुनै व्यक्तिका केही फोटोहरुबाट जिआइएफ वा चल तस्वीरहरु बनाइदिन्छ । त्यस्ता बुथमा आफ्नो नम्बर दिएसँगै ती जिआइएफहरु आफ्नो फोनमा प्राप्त हुन्छन् । अहिले धेरै जोडीहरु आफ्ना तस्वीर तथा भिडियोहरु धेरै भन्दा धेरै सोसल मिडिया प्लाटफर्ममा शेयर होउन् भन्ने चाहन्छन् । वास्तवमा उनीहरु टिकटक तथा इन्स्टाग्राम जोडी बन्न चाहन्छन् ।

A newlywed couple in a photo booth at their wedding reception

लण्डनस्थित दक्षिण एसियाली संस्कारको बिहे योजना बनाइदिने काम गरिरहेकी रोहिता पाब्लाका अनुसार आफ्नो बिहेमा दम्पतिले केवल प्रविधिमैत्री नयाँ पुस्तालाई मात्र होइन परम्परागत संस्कार मन पराउने व्यक्तिहरुको पनि ख्याल गर्नु पर्दछ । त्यसमध्ये बिहेमा निमन्त्रणा पत्र छापेर भौतिक रुपमै निम्तो दिनु पनि एक हो । कतिपय संस्कृतिमा यो अनिवार्य जस्तै हुन्छ । उनका अनुसार खासगरी अभिभावक तथा हजुरबुवा पुुस्ताका पाहुनाहरुका लागि निमन्त्रणपत्र छाप्ने र आफ्ना समवयी साथीसँगीका लागि डिजिटल निम्तो पठाउने चलन छ ।

अमेरिकी कम्पनी जोएका सिइओ जोसीका अनुसार वैवाहिक प्रविधि सबै कुरालाई सहज तथा धेरै भन्दा धेरै रोचक बनाउनका लागि प्रयोग गर्न सकिन्छ । तर यसरी प्रविधि प्रयोग गरिरहँदा वास्तविक बिहेको रोमान्स र आकर्षण जसले परिवार र साथीसँगीलाई नजिक बनाएको हुन्छ, त्यसलाई मर्न नदिनेतर्फ पनि सचेत हुनुपर्दछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?