+
+

रूप फेरेको काउँले

सुवास पण्डित सुवास पण्डित
२०८० वैशाख २० गते ८:२४
काउँले गाउँ

२० वैशाख, चितवन । उमेरले ७५ वर्ष पुगेका देवीबहादुर बस्नेतलाई आफैं जन्मिएको ठाउँ काउँलेमा आएको परिवर्तन देखेर अचम्म लाग्छ । उनले सायदै सोचेका थिए, डाँडाको खोचमा रहेको काउँलेमा अहिलेको जस्तो परिवर्तन आउला भनेर । उनलाई लाग्थ्यो यति विकट भेगमा कसरी विकास देख्न पाइएला र ? तर, उनको अनुहारमा बुढ्यौलीका धर्काहरू देखिन थाल्दा, काउँलेको अनुहार भने मस्त जवान बनेको अनुभूति हुन्छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ मा पर्ने तल्लो काउँलेमा गत वर्षको चैतमा बिजुली पुगेपछि अन्धकारको युगबाट नयाँ युगमा प्रवेश पायो । अहिले नालीसहितको फराकिलो बाटो बन्दैछ । सडक र विद्युत पुगेपछि विकट मानिएको तल्लो काउँलेको वैभव बढेको छ । त्यसैले त देवीबहादुर बस्नेत भन्छन्, ‘अहिले त काउँले देखेर म आफैं दंग परेको छु, पहिले कस्तो थियो, अहिले कस्तो भयो ।’ बस्नेत ती दिन र यी दिनको तुलना गर्दै भन्छन् ‘दिसा गर्न खोल्सा र बारीका कुना खोज्दै हिँड्नुपर्ने अवस्थाबाट आज घर घरमा धारासहितको सुविधा सम्पन्न शौचालय बन्यो ।’

नजिकै रिग्दी खोला बगिरहेको छ । रिग्दी तरेर पारी जाने सानो झोलुङ्गे पुल बनेको छ । स्थानीयहरु बर्खामा रिग्दीले दिने दुःख यही पुल तरेर भुल्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु यही पुलमा घुमेर फोटो खिचेर रमाउँछन् ।

धादिङ्गको हुग्दीबाट १५ किलोमिटर ठाँडो उकालो कच्ची सडक र केही ओरालो झरेपछि पुगिन्छ तल्लो काउँले । बोलेरो स्कारपियो जस्ता गाडीहरु हुग्दीबाट जान्छन् । केही सडकका घुम्तीहरुमा ढलान गरिएको छ भने, कतै नालीहरू बनाउने काम हुँदैछ ।

धादिङ्गको बेनिघाट रोराङ्ग र चितवनको इच्छाकामनाको सीमा छुट्टाउने रिग्दी खोला पुगेपछि तल्लो काउँलेको समथर भूभाग देख्न सकिन्छ । त्यसो त चितवनको उपरदाङ्गगढी हुँदै पनि तल्लो काउँलेसम्म जान सकिन्छ ।

देवीबहादुर बस्नेत

तल्लो काउँलेमा २२ घर छन् । मगर, खड्का क्षेत्रीहरु र केही पल्तिर देवीथान नजिकै चेपाङ्गहरूको बस्ती छ । काउँले जान समस्या, तर गइसकेपछि आनन्द दिने पहाडी गाउँको रुपमा विकास हुँदै गएको बताउँछन्, स्थानीय विद्यालयका प्रधानाध्यापक लोक मगर ।

कर्मशीलको गाउँ

स्थानीय शिक्षक नेत्रबहादुर अधिकारीले पहिला एक बाली मात्रै हुने काउँलेमा अहिले आर्थिक उपार्जन हुने गरी कृषि कर्म गरिएको बताउँछन् । ‘पहिला चेपाङ्गहरुलाई आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्थेन, अरु समुदायले पनि ६ महिना बढी खान सक्ने अवस्था थिएन, धान मात्रै लगाउँथे, मकै लगाउँदैनथे, हेल्थपोष्ट थिएन, विद्यालयहरुमा गुणस्तर थिएन’ अधिकारी भन्छन्, ‘तर अहिले यी सबै कुरामा ठूलो परिवर्तन आएको छ ।’ यहीँ नै जन्मिएका अधिकारीले काउँले अन्धकारबाट उज्यालोतिर बढेको बताए ।

काउँलेमा अहिले घर–घरमा होमस्टे खोलिएका छन् । एक रातमा झण्डै १५० जनासम्म बस्न मिल्ने गरी होमस्टे छन् । होमस्टेमा बसेको एक जनाको खानासहित एक हजार जति पर्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बस्ने खाने सुविधासहितको व्यवस्थापनको चाँजोपाँजो मिलाएकै कारण यहाँका स्थानीयको आयआर्जनसमेत बढेको छ । हरेक घरमा पानीको धारा, सुविधा सम्पन्न शौचालय सफा सुग्घरमा स्थानीयले ध्यान दिएका छन् । यहाँ आउने पर्यटकहरुलाई स्थानीय उत्पादनहरु खुवाउँछन् । स्थानीय जातका कुखुरा, खसी बोका, अर्गानिक तरकारी, ढिँडो जस्ता परिकारहरु पाहुनालाई खुवाउँछन् ।

फलफूल खेतीलाई व्यवसायीकरण गर्दै लगिएको छ । सुरुमा ५÷७ बोट मात्रै सुन्तला रहेको तल्लो काउँलेमा अहिले सुन्तलाका ठूलठूला बगान नै देख्न पाइन्छ । कार्तिक–मंसिरमा पहेँलपुर देखिने सुन्तलाका बोटहरू अहिले हरिया, कलिला पालुवाले गर्दा काउँले मनमोहक देखिन्छ । सिमलडाँडा र छापडाँडाको बीचमा रहेको यो तल्लो काउँलेका स्थानीयले वर्षमा सिजनमा झण्डै १ करोडभन्दा माथिको सुन्तला बेच्ने गरेको बताउँछन् । किवी, भुईं स्याउ, रूख काफल, ऐसेलु जस्ता अर्गानिक फलफूलहरु यहाँ खान पाइन्छ । मिलेर समूहमा खेती गर्ने, सीप र दक्षताको आदानप्रदानले व्यवसायीकरण गराउन सजिलो हुँदै गएको छ ।

सुन्तला बगान

राप्रावि आधारभूत विद्यालय ओल्याङ्गकी प्रधानाध्यापकसमेत रहेकी कमला भण्डारीले आफ्नो जमिनमा व्यवसायिक सुन्तला खेतीदेखि आलु, काउली, बन्दा, सिमी लगायतका अर्गानिक तरकारी उत्पादन गर्दै आएकी छिन् । सुनाखरी कृषि समूहको निवर्तमान अध्यक्षसमेत रहेकी उनी दैनिक ३ घण्टा हिँडेर विद्यालय आउने–जाने गर्छिन् । बचेको समय कृषि कर्ममा नै समय बित्छन् । महिलाहरूको क्षमता विकास र सशक्तीकरणमा उनको भूमिका महत्वपूर्ण छ । उनी भन्छिन्, ‘विद्यालयको कामबाहेकको समय कृषिमा दिँदा यहाँका जनताको जीवनस्तर माथि उकासिएको छ, पहिला निर्वाहमुखी खेती थियो, अहिले व्यावसायिक हुँदा आयआर्जन बढ्यो, जीवनस्तरमा ठूलो सुधार आएको देख्छु ।’

विगतमा वित्तीय संस्थाबाट ऋण लिएर व्याजको जालोमा परेकाहरु पनि व्यावसायिक कृषि खेतीबाट उम्किन सफल भए । छोराछोरीलाई भरतपुर वा  काठमाडौं राखेर पढाउन पनि सक्ने भएको शिक्षिका भण्डारी बताउँछिन् । उनलाई यस्तो लाग्छ, अशिक्षा, विकास, चेतनामा पछाडि परेको तल्लो काउँलेले पछिल्लो १०÷१५ वर्षमा रुप रंग बदलेको छ । कहिले तल्लो काउँलेमा मात्रै ६ विद्यालयका शिक्षकहरु बस्छन् । कतिपय मानिसहरु भन्ने गर्छन्– हेड सरहरूको गाउँ हो, तल्लो काउँले ।

प्रधानाध्यापकले खेलेको भूमिका

काउँलेका जनतामा जागरण ल्याउँदा हात्तीवाङ्ग माविका प्रधानाध्यापक लोक मगरको भूमिका महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । कृषक समूह, सहकारी, व्यवसायिक खेती, सरसफाइ र चेतना, होमस्टेको अवधारणा जस्ता विषयलाई उनै मगरले गाउँमा छिराएका थिए ।

प्रधानाध्यापक लोक बहादुर मगर

उनी आफैंले पनि व्यावासायिक चिया खेती गरेका छन् । ‘अरु मानिसहरु दुर्गम डाँडामा परियो, पढाउन गाह्रो भयो भने सरुवा माग्न शक्तिकेन्द्र धाउँछन्, तर म यहीँ काउँलेमै गाउँमै बस्छु भन्छु’ हात्तीवाङ्ग विद्यालयका प्रअ मगर भन्छन्, ‘मलाईं यहीँको डाँडाकाँडा हावापानीले लोभ्याएको छ, यहाँ बस्दा २० वर्ष आयु बढ्छ जस्तो लाग्छ ।’

सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकामा चेतनाको दियो बाल्ने मात्रै नभई तल्लो काउँलेलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरेर समृद्ध बनाउने उनको धोको छ । सोही सपना पूरा गर्न उनी विगत २३ वर्षदेखि यहीँ छन् । चितवनको कालिका–८ देवीटार घर भएका लोक मगरलाई सौराहा आउने पर्यटकहरुलाई कम्तीमा पनि एक रात काउँले ल्याउने गरी जोड्न मन छ । यहाँका पर्यटन तथा होटल व्यवसायीहरुसँग कुराकानी भैरहेको उनी बताउँछन् ।

शक्तिखोर हुँदै उपरदाङ्गगढ भएर काउँले आउन छोटो पर्ने भएकाले सो बारेमा स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको उनी बताउँछन् । ‘काठमाडौंबाट आउने पर्यटकहरू पनि एक रात बिताउन यहाँ आउन्, यहाँको प्राकृतिक रमणीय वातावरण देखुन्, केही चिज खाउन् भन्ने चाहना छ’ लोक मगर भन्छन्, ‘चितवनकै पहाडी भूभागको सबैभन्दा बाक्लो जंगल भएको चिसापानी चराहरुको सम्मेलन चल्छ, चरा हेर्न आउन् रमाउन् भन्ने चाहान्छु ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?