+

खाना खानेबित्तिकै गर्न नहुने ७ गल्ती

२०८० वैशाख  २१ गते १३:३० २०८० वैशाख २१ गते १३:३०
खाना खानेबित्तिकै गर्न नहुने ७ गल्ती

काठमाडौं । केही व्यक्तिले भनेको सुनिन्छ- ‘स्वास्थ्यलाई फाइदा पुग्ने खानेकुरा खाएकै छु, तर पनि शरीर स्फूर्त छैन कसरी ?’

कहिलेकाहीं पौष्टिक खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन सक्छ । लगातार नै पोषण नपुगेको जस्तो, शरीरमा ऊर्जा नभएको वा शरीर भारी भएको जस्तो भएमा एकपटक सोच्नैपर्ने हुन्छ ।

पौष्टिक तत्व खाएर मात्र हुँदैन, त्यसको प्रक्रियामा पनि ध्यान पुर्‍याउनुपर्छ । खाना खानेबित्तिकै धेरै खालका गल्ती हुन सक्छन्, जसले फाइदा पुर्‍याउनुको साटो हानि गरिरहेको हुन्छ । सामान्यतया हामी खाना खाएपछि यी सात गल्ती गरिरहेका हुन्छौं ।

१. पानी खाने पिउने बानी

खाना खानेबित्तिकै पानी पिउने बानी अधिकांश नेपालीको हुन्छ । टन्न खाना खाने अनि टन्न पानी खाने । खाना खानेबित्तिकै पानी खाँदा पाचनप्रक्रिया सुस्त हुन्छ, जसले खाना सजिलै पच्न सक्दैन । पेट डम्म हुने छिटो भोक नलाग्ने हुन्छ । त्यसबाहेक पेटमा छिटो बोसो लाग्ने र बढ्ने हुन्छ । त्यसैले यो गल्ती खाना खानेबित्तिकै गर्नुहुँदैन । खाना खाएको आधा घण्टापछि पानी पिउँदा हुन्छ ।

२. फलफूल खाइहाल्ने बानी

ताजा फलफूल शरीरका लागि अत्यन्त फाइदाजनक हो । तर खाना खानेबित्तिकै फलफूल खानु भने हानिकारक सावित हुन सक्छ । खानासँगै फलफूल मिसिंदा पाचनसम्बन्धी समस्या आउने, अम्लीय गराउने र खानामा पाउने पोषण तत्व पूर्ण रुपमा प्राप्त हुँदैन ।

३. धुम्रपान गर्ने बानी

यो बानी शरीरका लागि सबैभन्दा हानिकारक हो । अझ खाना खानेबित्तिकै धुम्रपान गर्ने बानी छ भने त सोच्नैपर्छ । खाना खानेबित्तिकै चुरोट खानु भनेको १० गुणा बढी स्वास्थ्यलाई हानि पुर्‍याउनु हो । चुरोटमा कार्सिनोजेन्स हुन्छ, जसले इरिटेबल बोउल सिन्ड्रोम र अल्सरको समस्या निम्त्याउन सक्छ । त्यसैले खाना खानेबित्तिकै चुरोट खानुहुँदैन ।

४. नुहाउने बानी

खाना खानेबित्तिकै नुहाउनु र स्वीमिङ गर्नु हुँदैन । खाना खानेबित्तिकै शरीरको ऊर्जा जति पेटमा केन्द्रित हुन्छ र पचाउन सक्रिय हुन्छन् । यस्तोमा जब तपाईं खानापछि नुहाउनुहुन्छ वा स्वीमिङ खेल्दा शरीरमा चिसो पानी पर्छ  । रगतको प्रवाह सतहतर्फ गई पेट कमजोर हुन्छ । चारैतर्फ रक्तसञ्चार बढी भई पाचनप्रक्रिया सुस्त हुन्छ ।

५.  शारीरिक गतिविधि गर्ने बानी

खाना खाएपछि व्यायाम गर्ने, खेल्ने र उफ्रिने गर्दा पाचन प्रक्रियामा बाधा पुग्न सक्छ । यसले बान्ता हुने, चक्कर लाग्ने, पेट फुल्ने, आफैंलाई थाकेको महसुस हुन सक्ने र मुटुकै समस्या समेत देखिन सक्छ ।

खानापछि एक मात्र व्यायाम गर्न सकिन्छ, वज्रासन । यसले पाचन प्रक्रियामा मद्दत गर्छ ।

६. चिया, कफी, कोल्ड डिंक खाने बानी

कसैको बानी खाना खाइसकेपछि चाहे बेलुकाको होस् या बिहान चिया वा कफी पिउने बानी हुन्छ । यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले खाना पचाउने प्रक्रियालाई अवरोध बनाउँछ । त्यसमा हुने क्याफिनले अल्सरको समस्या गराउन सक्छ ।

प्रायः खानामा तातो कुरा हुन्छ । यस्तोमा तुरुन्तै चिसो खानेकुरा खाँदा शरीरको तापक्रममा असर पार्छ ।

७. खाना खानेबित्तिकै सुत्ने बानी

खाना खानेबित्तिकै सुत्ने कतिपयको बानी हुन्छ । यसो गर्दा पेटको रोग र मोटोपनको समस्या हुन सक्छ । खाना खानेबित्तिकै सुत्नाले खाना राम्रोसँग पच्न पाउँदैन ।

साथै शरीरमा टक्सिन बन्ने, कोलेस्टेरोल बढ्ने र रगत प्रदूषित हुन सक्ने पनि हुन्छ ।

यी बाहेक अहिले खाना खानेबित्तिकै ढल्किएर मोबाइल चलाउने धेरैको बानी हुन्छ । यसो गर्दा बसाइको सन्तुलन नमिलेर पाचन प्रक्रिया राम्रो हुँदैन ।

खाना खाएपछि के गर्ने त ?

खाना खाने बित्तिकै बज्रासनमा पाँच मिनेट बस्नुपर्छ । जसले खाना पचाउन र मस्तिष्कमा  सन्तुलित रक्तप्रवाहमा समेत राम्रो पार्छ । बेलुकीको खाना खाइसकेपछि घरमै छतमा होस् वा आँगनमा एक–दुई पाइला हिड्नुपर्छ । यसले खाना राम्रोसँग पचाउन मद्दत गर्छ ।

खाना खाइसकेपछि रैथाने खानेकुरा जस्तो, अलैंची, सुकमेल, सुप, मिश्री खानु फाइदाजनक हुन्छ ।

(जीवनशैली प्रशिक्षक तथा आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खाना खानेशैली
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय