+
+

हिंसाग्रस्त मणिपुरमा चेपुवामा नेपालीभाषी

दिपेश शाही दिपेश शाही
२०८० वैशाख २६ गते २०:२९

२६ वैशाख, काठमाडौं । अघिल्लो बुधबारदेखि तनावग्रस्त बनेको भारतको पूर्वोत्तर राज्य मणिपुर केही शान्त बन्दै गएको छ ।

मैदानी भू–भागमा बसोबास गर्ने मैतेइ समुदाय र पहाडी भू–भागमा बसोबास गर्ने कुकी समुदायका बीचमा बढेका हिंसाका घटना रोकिन थालेका छन् । तर, कुकी जनजातिको बाहुल्य रहेको मणिपुरको पहाडी भू–भाग भने अझै त्रासमा छ ।

हिंसात्मक घटना सुरु भएको दोस्रो दिनमै २० हजारभन्दा बढी मानिस विस्थापित भएका थिए भने अहिले वातावरण केही सहज छ । अस्थायी शिविरमा रहेका विस्थापितलाई घर फर्काउने प्रक्रिया सुरु भएको छ । हिंसाका घटनामा क्रमिक सुधार आएसँगै प्रशासनले विस्थापितलाई सुरक्षाको अनुभूति गराउँदै घर फर्काउने तयारी गरिरहेको छ ।

सरकारी निकायले अहिलेसम्म क्षतिको आधिकारिक विवरण सार्वजनिक नगरे पनि भारतीय सञ्चार माध्यमहरूले कम्तीमा ५४ जनाको ज्यान गएको खबर सार्वजनिक गरिरहेका छन् ।

शनिबारसम्म तनावग्रस्त रहेको मणिपुर त्यसपछि भने शान्त हुँदै गएको राजधानी इन्फालमा नेपाली भाषामा पत्रकारिता गरिरहेका पत्रकार तथा कवि राहुल राईले अनलाइनखबरलाई बताए । उनका अनुसार कुकी जनजाति समुदायका मानिसहरु आपसी छलफलमार्फत भविष्यका योजना तय गर्दैछन् ।

राज्य सरकारले सञ्चार सेवा अवरुद्ध गर्नुका साथै कर्फ्यु जारी गरेपछि संकटग्रस्त बन्दै गएको मणिपुरको जनजीवन प्रशासनले ‘शुट एट साइट’ आदेश जारी गरेसँगै थप संकटग्रस्त बनेको थियो । तर, भारतीय सेना र आसाम राइफल्सको संयुक्त गस्तीसँगै हिंसाका घटना नियन्त्रणमा आएका छन् ।

‘मुख्य विवाद रहेका दुई समुदाय मैतेई र कुकीबीचको विवाद समाधानमा नपुगे पनि प्रशासनको कडा कफ्र्यू र सुरक्षा बलको संयुक्त प्रयत्नले परिस्थिति नियन्त्रणमा आउन थालेको’ राईले भने ।

नेपाली भाषीका आफ्नै दुःख

पछिल्लो समय भारतको तथ्यांक विभागले गरेको जनगणना अनुसार मणिपुरमा करिब ६० हजार नेपाली भाषी छन् । तर, बेरोजगार र आन्तरिक द्वन्द्वका कारण मणिपुर छाडेर बसाई सर्नेको संख्या बढेसँगै हाल ३० हजारको संख्यामा नेपाली भाषी रहेको पत्रकार राईको भनाइ छ ।

जारी हिंसात्मक घटनामा पनि नेपाली भाषीमाथि प्रत्यक्ष असर परेको छैन । तर, नेपाली भाषी कुनै पनि पक्षमा लाग्न सक्ने अवस्था नभएपछि दुवै पक्षको बीचमा परेको छ ।

‘हामी खुलेर यो वा त्यो पक्ष भनेर समर्थन गर्ने अवस्था छैन । तर, त्यसो नहुँदा पनि आगो लागेको घरमा बस्नु परेपछि त्यसका स्वाभाविक असरहरू सबैले भोग्नैपर्ने अवस्था छ’, पत्रकार राई भन्छन्, ‘तर, अरूजस्तै हाम्रो भोगाइमा पनि खासै भिन्नता छैन । हामीसँग सिधै झडपको अवस्था नबने पनि पहाडी क्षेत्रमा बसोबास गर्ने जनजाति समुदायका मानिसहरू भूमिगत शैलीमा लड्ने तयारी गरिरहेका छन् । उनीहरू गोर्खालीसँग समर्थन माग्नुका साथै सेल्टर र खानपिनका लागि पनि अनुरोध गरिरहेका छन् । नाइँ भन्न सकिने अवस्था छैन ।’

पत्रकार राईका अनुसार कुकी समुदायका आन्दोलनकारीले भूमिगत शैलीको आन्दोलनको तयारी गरिरहेको हुँदा सरकार विरोधी गतिविधिमा सघाउनुपर्ने दबाव आइरहेको छ । तर, मैतेई र राज्य पक्षले त्यसरी सेल्टर माग्न आउने पक्षलाई सहयोग नगर्न दबाव दिइरहेको छ ।

जसका कारण नेपाली भाषी समुदाय मणिपुर छाडेर आसाम, दार्जिलिङलगायत क्षेत्रतर्फ बसोबासको खोजीमा हिँडेका छन् । उत्तरपूर्वी क्षेत्रमा विकल्प नहुनेहरू पञ्जाब, बंगाललगायत राज्यका शहरमा शरण खोज्न जान थालेका छन् ।

‘गोर्खालीहरूको बसोबास रहेको क्षेत्र पहाडमा पर्छ । जुन कुल भूगोलको करिब ७० प्रतिशतभन्दा बढी क्षेत्रमा छ । त्यहाँ बर्षौंदेखि आन्दोलनरत भूमिगत समूहले समेत दुःख दिने गरेका थिए, अहिले द्वन्द्व बढेपछि नयाँ खालको संकट सुरु भएको छ’, पत्रकार राई भन्छन्, ‘त्यसले गर्दा धेरै अघिदेखि सुरु भएको विस्थापित हुने प्रक्रियामा थप तीव्रता आएको छ ।’

नेपाली नागरिक परेको जानकारी छैन

भारतका विभिन्न शहरहरूमा व्यवसाय र रोजगारीका लागि धेरै नेपाली छन् । तर नेपालीहरु मणिपुरमा भने असाध्यै कम रहेको पत्रकार राई बताउँछन् । लामो समयदेखि द्वन्द्वको वातावरण बनेपछि र औद्योगिक क्षेत्र नभएकाले नेपालीहरुको रोजाइ मणिपुर पर्दैन ।

‘यहीँ भएको जनशक्तिका लागि त काम पाइँदैन भने बाहिरबाट आउनेहरू यहाँ रहनसक्ने अवस्था नै छैन’, पत्रकार राई भन्छन्, ‘यसै पनि यहीँका स्थानीय बाहेक अन्य मुलुकका कामदारहरू देखिने गरी यहाँ आउन छाडेको धेरै समय भयो ।’

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पनि मणिपुरमा नेपाली नागरिकमाथि कुनै अप्रिय घटना भएको जानकारी नआएको बताएको छ । दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले घटना सुरु भएको दिनदेखि नै त्यहाँ रहेका नेपालीको अवस्थामाबारे चासो व्यक्त गरेका थिए ।

भारतको केन्द्र सरकारले आफ्नै नागरिकबारे यथेष्ट जानकारी पाउन नसकेको अवस्थामा नेपाली नागरिकहरूका विषयमा छुट्टै जानकारी संकलन गर्ने सम्भावना थिएन ।

दूतावास स्रोतका अनुसार अहिलेसम्म सार्वजनिक जानकारी अनुसार कोही पनि नेपाली नागरिक मणिपुर घटनामा फसेको सूचना छैन । ‘दूतावासले राजदूतको निर्देशनमा सूचनाका लागि भारत सरकारका अधिकारीसँग आग्रह गरेको थियो’, दूतावासका एक अधिकारीले भने, ‘तर, कोही पनि नेपाली त्यहाँ फसेको सूचना आइपुगेको छैन ।’

केही समयअघि भारतको मणिपुर राज्य नेपाली कामदारका लागि एउटा गन्तव्य थियो । पहाडी जंगलमा काठसम्बन्धी काम गर्न पुग्ने नेपाली पनि पछिल्लो समय त्यता जान छाडेका छन् । जंगल क्षेत्रमा विद्रोही समूहहरू सेल्टर बनाएर बसेका छन् । जसका कारण जंगलमा हुने काठसम्बन्धी काम हुन छाडेको छ ।

‘यहीँका युवालाई पुग्ने काम छैन । खेती किसानीको काम भूगोलमा विवादका कारण वर्षौंदेखि ठप्प छ । उद्योगहरू खुलेकै छैनन्’, पत्रकार राई भन्छन्, ‘यसबाहेक यहीँका कामदारलाई नपुग्ने काम नेपालबाट आएर कसले गरिरहेको होला र !’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?