+

क्रिकेटर सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?

२०८० वैशाख  २८ गते १०:०२ २०८० वैशाख २८ गते १०:०२
क्रिकेटर सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?

राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई देखिएको लाइपोमा रोगको सोमबार सफल शल्यक्रिया गरिएको छ । उनको शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको हो ।

यससँगै प्रशंसकहरुले सन्दीपको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । सन्दीपलाई खास के भएको हो र किन सर्जरी गराएका हुन् ? लाइपोमा भनेको के हो ? कस्तो अवस्थामा यसको शल्यक्रिया आवश्यक हुन्छ ? यस्तो जिज्ञासा धेरैमा हुन सक्छ ।

के हो लाइपोमा ?

लाइपोमा गोलाकार वा अण्डाकार आकारको तन्तु हो, जुन छाला र मासुको बीचमा जमेर बसेको हुन्छ । बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउन सक्छ । जुनसुकै भागमा देखिने लाइपोमा खासगरी निधार घाँटी, ढाड, हात, पेटमा धेरै देखिन्छ । प्रत्येक हजार जनामध्ये एक जनामा कुनै न कुनै समयमा लाइपोमा देखिन सक्छ । यद्यपि यो समस्या त्यति खतरनाक नभएकाले आत्तिहाल्नु पर्दैन ।

लाइपोमा के कारणले आउँछ भन्ने ठोस प्रमाण भेटिएको छैन । सामान्यतयाः मध्यम उमेरका पुरुष र महिलामा यो बढी देखिने गरेको छ । तर आजभोलि उक्त उमेर समूहभन्दा अरुमा पनि यो समस्या देखिएको छ । परिवारमा पहिले कसैलाई लाइपोमा आएको छ भने अरुलाई पनि देखिन सक्छ ।

लक्षण

लाइपोमा सामान्यतया सानो गाँठोको रूपमा देखा पर्छ । यो एकबाट अर्को तन्तुमा नफैलिने भएकाले आत्तिनु पर्दैन । यसको गाँठो प्रायः दुई इन्चभन्दा कम चौडाइका हुन्छन् । सो गाँठोलाई थिच्दा बाक्लो खालको गिर्खा जस्तो हुन्छ, जुन सजिलै औंलाको दबाबले चलाउन सकिन्छ । त्यस्तो गाँठो खासै दुख्दैन तर पाँच सेन्टिमिटरभन्दा ठूलो आकारमा भएमा नसामा दबाब पर्न गएर खुम्चिन सक्छ । जसकारण झमझमाउन वा दुख्न सक्छ ।

कति बेला अस्पताल जाने, उपचार के छ ?

यदि दिनप्रतिदिन असामान्य रुपमा ह्वात्तै बढिरहेको छ भने क्यान्सर हो कि होइन भनेर परीक्षण गराउन अस्पताल जानुपर्ने हुन्छ ।  लाइपोमालाई छोएर कुन भागमा कस्तो अवस्थामा छ भनेर हेरिन्छ ।

त्यस्तै, वंशाणुगत कारणले हो कि होइन भन्ने हेरिन्छ । आवश्यक परेमा बायोप्सी गरेर कस्तो किसिमको ट्युमर हो भनेर निक्र्योल गरिन्छ ।

सानो छ तर त्यसले दुःख दिइरहेको छैन भने केही नगर्दा पनि समस्या हुँदैन । केही लाइपोमा आफैं हराएर जान्छन् । यदि लाइपोमा वृद्धि हुँदै जानुका साथै दुखिरहेको छ भने अनुहारको भागमा वा लुगा लगाउँदा देखिने ठाउँमा छ र आफूलाई सुहाएको छैन जस्तो लाग्छ भने डर्माटोलोजिस्ट वा जनरल सर्जनबाट शल्यक्रिया गराएर निकाल्न पनि सकिन्छ ।

यसको समाधान भनेको शल्यक्रिया हो । शल्यक्रिया गर्दा डल्लो बन्ने थैलीलाई नै निकालेर फालियो भने पुनः बल्झिन पाउँदैन । तर वंशाणुगत हो भने दोहोरिएर देखिन सक्छ ।

ध्यान दिनुपर्ने कुरा

धेरैले गाँठागुठीलाई धनको पोको वा खटिरा आयो भन्दै आफैं निचारेर पिप निकाल्ने गरेको पनि देखिन्छ, जुन पटक्कै गर्नु हुँदैन । यसले झन् त्यसमा अन्य संक्रमण गराउने जोखिम बढ्छ र घाउ बनाई थप जटिलता बढाउन सक्छ । त्यसैले लाइपोमाको शंका छ र दुःख दिइरहेको अवस्था हो भने चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

(डा. प्याकुरेलसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

लाइपोमा सन्दीप लामिछाने स्वास्थ्य
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय