
कुनै वस्तु वा मानिसलाई छुँदा करेन्टको झड्का लागेजस्तो महसुुस हुने धेरैले बताउने गरेका हुन्छन् । कुनैबेला त काम गरिरहेको कुर्सीबाट जुरुक्क उठेर केही चीज छुँदा ठूलैगरी करेन्टको झड्का लागेजस्तो महसुस हुन्छ ।
किन यस्तो हुन्छ ?
शरीरका स्नायुहरुमा हरेक समयमा विद्युतीय गतिविधि भइरहेको हुन्छ । यो शरीरमा चलिरहने एक आधारभूत संयन्त्र हो । शरीरमा प्रोटोन र इलेक्ट्रोनको मात्रा लगभग बराबर हुन्छ तर कुनैबेला चार्ज प्रोटोन (पोजेटिभ चार्ज) र इलेक्ट्रोन (नेगेटिभ चार्ज) असन्तुलन हुँदा करेन्ट लागेको महसुुस हुने गर्छ ।
यदि शरीरमा उत्पन्न हुने प्रोटोन र इलेक्ट्रोन तटस्थ भएको खण्डमा करेन्टको महसुस हुँदैन । अर्को पोजेटिभ चार्ज बढी भएमा करेन्ट लाग्ने सम्भावना बढी हुन्छ । शरीर सुख्खा भएमा पनि यस्तो अनुभव हुन सक्छ ।
एक अध्ययनले शरीरमा भिटामिन बी १२ को कमी भएकाहरुमा पनि यस्तो पोजेटिभ चार्ज बढी उत्पन्न हुन्छ । त्यस्तै भिटामिन बी ६ तथा बी १ को कमीले शरीरमा करेन्ट लाग्ने हुन सक्छ ।
प्लास्टिकको कुर्सीमा किन बढी हुन्छ ?
करेन्ट लागेको महसुस प्लास्टिकको कुर्सीमा बसेको बेला बढी हुन्छ । प्लास्टिकको कुर्सीमा बसेको बेला खुट्टाले जमिन नछोएमा लुगाबाट अलग हुने इलेक्ट्रोन जम्मा भइरहन्छ, जसमा पोजेटिभ चार्ज हुन्छ । कुर्सीमा लामो समयसम्म बसिरहँदा यस्तो चार्ज शरीरमै रहन्छ र कुर्सीबाट उठ्दा त्यसमा सर्छ । अनि कसैले त्यो कुर्सीमा छुँदा हल्का करेन्ट लागेको महसुस हुन्छ ।
तर फलाम वा स्टिल भएको कुर्सीमा इलेक्ट्रोन जम्मा नहुने भएकाले त्यसमा यस्तो महसुस हुँदैन ।
कुहिनामै किन बढी महसुस हुन्छ ?
हामीले कसैले छुँदा मात्र होइन, केही वस्तुमा ठोक्किंदा समेत कुहिनामा करेन्टको झट्का महसुस हुन्छ । कुहिनामा अल्नार नामक स्नायु हुने हुनाले त्यहाँ करेन्ट महसुस हुन्छ । साथै यस्तो करेन्टको झट्का मानिसको संवेदनशीलतामा पनि भर पर्छ ।
यस्तो करेन्टबाट बच्न के गर्ने ?
लामो समयसम्म कुर्सीमा नबस्ने र बेलाबेलामा उठेर खुट्टाले भुइँ छुने, यदि खुट्टामा जुत्ता लगाएको अवस्थामा बेलाबेलामा आफ्नो कुहिनो वा हातले भित्ता छुने, खल्तीमा फलामको टुक्रा वा क्वाइन (सिक्का) राख्ने, शरीरमा पानीको कमी हुन नदिने गर्दा करेन्ट लागेजस्तो हुने समस्याबाट जोगिन सकिन्छ ।
यसो गर्दा शरीरमा जम्मा हुने करेन्ट भुईंमा जान्छ र कसैले छुँदा करेन्टको झट्का महसुस हुँदैन ।
शरीरमा करेन्ट महसुस हुनु सामान्य प्रक्रिया भएकाले यसबाट आत्तिनु पर्दैन । यदि दैनिक जीवनशैलीमा नै असर पर्नेगरी पटक-पटक त्यस्तो झट्का महसुस हुन्छ भने फिजिसियन वा न्युरोलोजिस्टलाई जँचाउनुपर्छ । यदि शरीरमा धेरै करेन्ट लागेको महसुस भएमा भिटामिन बी १२ को सप्लिमेन्ट खान सकिन्छ ।
(न्युरोलोजिस्ट डा. भट्टराई महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4