+
+

नेपालले टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १५:११
त्रिवि क्रिकेट मैदान ।

३१ वैशाख, काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

२० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् ।

एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘आईसीसीले क्यानलाई इमेल गर्दै टी-२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको छ’, चन्दले अनलाइनखबरसँग भने, ‘टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुने जानकारी गराएको छ ।’

एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् ।

एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।

पछिल्लो तीन महिनामा नेपालले क्रिकेट विश्वकप लिग टु को दुई शृंखला र एसीसी प्रिमियर कपको सफल आयोजना गरेको थियो । जहाँ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लिग टु को शीर्ष तीनमा रहेर वान डे विश्वकपको छनोटमा स्थान बनायो भने एसीसी प्रिमियर कपको उपाधि नै जित्यो ।

यी प्रतियोगितामा उपस्थित नेपाली समर्थक अनी नेपाली टिमको प्रदर्शनले गर्दा अहिले विश्व क्रिकेटको नजर नै नेपालमा परेको छ ।

एसीसी प्रिमियर कपको सफल आयोजना गरेपछि नेपालले टी-२० विश्वकपको छनोटको एसिया छनोट आयोजना गर्ने दावी गरेको थियो र त्यसमा आईसीसी सकरात्मक बन्दै जिम्मेवारी दिएको क्यान अध्यक्ष चन्दले बताए ।

चन्दका अनुसार एसीसी प्रिमियर कप भएका दुई मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा छनोटका खेलहरु आयोजना गरिनेछ ।

चन्दले टी-२० विश्वकपको एसिया छनोटका लागि जिम्मा पाइसकेको र अन्य सम्झौताहरु हुँदै जाने बताए । साथै मैदानमा पनि सुविधाहरु थप्ने उनले बताए ।

आयोजनास्थलको निरिक्षणका लागि आईसीसीको टोली पनि नेपाल आउनेछन् ।

सन् २००७ मा सुरु भएको टी-२० विश्वपकपमा पहिलो पटक २० टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यस पटक आईसीसीले आधा भन्दा बढी टिमलाई सिधै छनोट गर्दै छनोटको फर्म्याट पनि परिवर्तन गरेको छ । जहाँ बाँकी टिम क्षेत्रीय छनोट खेल्दै विश्वकपसम्म पुग्नेछन् ।

आयोजकको रुपमा वेष्ट इन्डिज र अमेरिका सिधै छनोट भइसकेका छन् भने २०२२ को टी-२० विश्वकपको शीर्ष ८ टोली अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्स तथा यसबाहेक २०२२ को नोभेम्बरसम्म उच्च वरीयता प्राप्त अन्य दुई टोली अफगानिस्तान र बंगलादेशले पनि सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।

अब क्षेत्रीय छनोटमार्फत ८ टिम छनोट हुनेछन् । जसमा एसिया, अफ्रिका र युरोपबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिकबाट १-१ टिम छानिनेछन् ।

चन्दले अब हरेक वर्ष नेपालले एसियाको कम्तीमा पनि एउटा प्रतियोगिता नियमित आयोजना गर्ने र आईसीसीको इभेन्ट आयोजनाका लागि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?