+
+

घिउको पनि उपभोग्य म्याद हुन्छ ?

प्रा. डा. उमा कोइराला, पोषणविद् प्रा. डा. उमा कोइराला, पोषणविद्
२०८० वैशाख ३१ गते १७:५२

हरेक खाद्यवस्तुको निश्चित उपभोग्य मिति हुन्छ । प्याकेट वा बट्टामा उक्त वस्तुको म्याद सकिने मिति (एक्सपायरी डेट) लेखिएको हुन्छ । त्यसैले खानेकुरा किन्दा उपभोग्य मिति अनिवार्य हेर्न सुझाइन्छ ।

यस्तोमा घरमै बनाउन सकिने घिउको हकमा चाहिं के हुन्छ ? धेरैको मनमा यो प्रश्न उब्जिएको हुन्छ ।

घिउ अरु सामग्रीजस्तो छिटो बिग्रिंदैन । अझ घरमै तयार पारिएको घिउको त म्याद सकिने मिति झनै हुँदैन । तर बनाउने प्रक्रिया र भण्डारण कसरी गरिएको छ भन्ने कुराले महत्व राख्छ ।

घिउमा दूध र पानीबाट निस्किएको फ्याट हुन्छ । घरमा बनाउँदा नौनीलाई राम्रोसँग खारेको हुन्छ र त्यसबाट निस्किने पानीलाई राम्रोसँग निचोरेर सुख्खा बनाएर कोठाको तापक्रमअनुसार राखिन्छ, जसले नरमपन कम हुन्छ र बिग्रिन पाउँदैन । यद्यपि बजारबाट किनिएको घिउमा त्यसको तौल बढी बनाउन पनि पानी मज्जाले निचोरेको हुँदैन र नरमपन पनि बढी हुन्छ । जसकारण घिउ छिटो बिग्रिन सक्छ ।

भण्डारण पनि राम्रो गर्नुपर्छ

घिउ बनाउने विधिले मात्र पुग्दैन, लामो समयसम्म टिकाउन र गुणस्तर कायम राख्न यसको भण्डारण पनि राम्रोसँग गर्नुपर्छ । घिउ नियमित रुपमा प्रयोग गर्ने हो भने तीन महिनाभित्र उपभोग गरिसक्नुपर्छ । यदि यसभन्दा लामो समयसम्म सुरक्षित राख्न चाहने हो भने फ्रिजमा भण्डारण गर्नु राम्रो विकल्प हो ।

नौनी पगालेपछि निचोरेर सुख्खा बनाएर एकछिन सेलाउन राख्नुपर्छ । चिसो भएपछि फ्रिजमा राख्दा प्लास्टिकको भाँडो वा फ्रिजर झोलामा भण्डारण गर्न सकिन्छ । फ्रिजमा ठाउँ छैन भने घामको प्रकाश नपर्ने ठाउँमा कोठाको तापक्रमअनुसार सिसाको भाँडोमा भण्डारण गर्न सकिन्छ ।

तर ध्यान दिनु पर्ने कुरा के छ भने यो राख्दा गन्धरहित र सुख्खा भाँडामा हावा नपस्ने गरी बन्द गरेर राख्नुपर्छ । यसले स्वाद र गन्धलाई बिगार्दैन । राम्ररी बन्द गरेर राखेपछि लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसलाई प्रयोग गर्नु परेमा सफा र सुख्खा चम्चा मात्र प्रयोग गर्नुपर्छ । त्यस्तै कहिले अत्यधिक चिसो र कहिले तातो तापक्रममा राख्नुहुँदैन, यसले जतिसुकै राम्रो घिउ भए पनि बिगार्न सक्छ ।

बजारमा पाइने घिउको म्याद कति हुन्छ ?

बजारबाट घिउ किन्ने हो भने त्यसको बट्टामा घिउको ‘एक्सपायरी डेट’ स्पष्ट लेखिएको हुन्छ । सोही अनुसार प्रयोग गर्नुपर्छ । सामान्यतया दिइएको म्याद समाप्त हुने मितिपछि घिउ प्रयोग नगर्न सुझाव दिइन्छ । त्यसैले बजारबाट ल्याइने घिउ तीन महिनापछि प्रयोग नगर्नु नै उपयुक्त हुन्छ ।

घिउको गुणस्तर कसरी पत्ता लगाउने ?

घिउमा बुटाइरेट (गन्ध बनाउने तत्व) नहुने भएकाले यसमा गन्ध आउँदैन । गन्ध आउन थाल्यो भने खान तत्काल बन्द गर्न सकिन्छ । जतिकै गुणस्तरीय घिउ भने पनि बजारको घिउमा केही न केही मिसाइएकै हुन्छ । गुणस्तरीय भनेरै लेखेको स्कीकर भएको घिउ किन्नु उपयुक्त हुन्छ ।

यससँगै घिउ प्रयोग गरेपछि पनि यसको प्रकृति हेरेर खानयोग्य छ कि छैन भन्ने थाहा हुन्छ । यदि कारणवश स्वाद बिग्रिंदै गएमा, रङ परिवर्तन भएमा वा गन्ध आउन थालेमा खानु हुँदैन ।

घिउ दैनिक खानु राम्रो

घिउले प्रोटिन, भिटामिन ए, बी, ए, के र सूक्ष्म पोषक तत्वको पूर्ति गर्छ । त्यसैले दैनिक एक चियाचम्चा घिउ खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानामा सन्तुष्टि, कलेजो र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न आवश्यक मानिन्छ ।

यद्यपि अत्यधिक मोटोपन वा शारीरिक सक्रियता कम भएमा र जसको व्यायाम गर्ने बानी छैन भने त्यस्ता व्यक्तिले दैनिक घिउ उपयोग गर्दा स्वास्थ्यलाई झनै हानि गर्न सक्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?