+

के कारणले पोल्छ पैताला ?

२०८० जेठ  ७ गते १३:०६ २०८० जेठ ७ गते १३:०६
Shares
के कारणले पोल्छ पैताला ?

कहिलेकाहीं खुट्टाको पैताला दुखेको तपाईंले पनि महसुस गर्नुभएकै होला । लामो यात्रा गर्दा, असहज जुत्ता लगाउँदा कहिलेकाहीं दुख्नु सामान्य हो, यस्तो केही दिनमा निको हुन्छ । तर बारम्बार पैताला पोलिरहनु गम्भीर रोगको संकेत पनि हुन सक्छ । आफ्ना दैनिक क्रियाकलापमै असर गर्ने गरी पैताला पोलिरहेको छ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन ।

के कस्तस्वास्थ्य समस्याले पैताला पोल्छ त ?

हाइपोथाइराइडिज्म

थाइराइड उच्च होस् वा कम होस्, दुवै अवस्था शरीरको लागि उपयुक्त हुँदैन । कम थाइराइड अर्थात् हाइपोथायरायडिज्म अवस्थाले पनि खुट्टा पोल्न सक्छ। यो एक अवस्था हो, जसमा थाइरोइड ग्रन्थीद्वारा हार्मोन उत्पादन कम हुन्छ । जसको प्रभाव खुट्टाको नसामा पनि पर्ने हुँदा पोल्ने गर्छ ।

भिटामिनको कमी

भिटामिन बीको कमीले पैताला पोलेको महसुस हुन सक्छ । भिटामिन बी १२, भिटामिन बी ६ र भिटामिन ९ को कमीले पैताला पोल्ने र मांसपेशी दुख्ने कारण बनाउँछ । भिटामिन बीको कमीले हुने रोगको संकेतको रुपमा पनि लिइन्छ, जसलाई बर्निङ फिट सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाएर भिटामिन बीको मात्रा बढाउने र थप उपचार गराउनुपर्छ ।

उच्चरक्त चाप

सुतेको समयमा खुट्टा पोल्ने समस्या उच्चरक्त चाप बढी हुँदा हुन सक्छ । खुट्टामा रक्तसञ्चारको कमी हुँदै हात र खुट्टामा तापमान बढेर पोल्न सक्छ । खुट्टामा जाने नसाहरु लामो हुन्छन् । जसले कुनै पनि गम्भीर रोगको प्रभाव खुट्टा हुँदै हाततर्फ पनि बिस्तारै पर्न सक्छ ।

मिर्गौला फेल हुनुको संकेत प्रत्यक्ष खुट्टा नै पोल्छ भन्ने हुँदैन । तर मिर्गौला फेलको सुरुवाती चरणमा भने पैताला पोलेको अनुभव हुन सक्छ । मिर्गौला खराब हुन थालेपछि शरीरले प्रभावकारी ढंगबाट छान्न सक्दैन जुन पछि न्युरोप्याथीको कारण बन्न सक्छ, जसले पैताला पोल्छ ।

नसा सुन्निनु

नसा सुन्निने धेरै कारणले हुन सक्छ। कलेजो, मिर्गौला र मोटोपनसम्बन्धी रोगका कारण खुट्टामा दबाब सिर्जना हुन्छ, जसकारण पैताला पोलेको महसुस हुन्छ ।

मधुमेह न्यरोप्याथी

मधुमेह न्युरोप्याथीको समस्याबाट पीडित व्यक्तिमा पैताला पोलिरहन्छ । अनियन्त्रित उच्च मधुमेहले  बिस्तारै रक्तनलीहरू र स्नायुहरूलाई क्षति पुर्‍याउन थाल्छ । यस्तो अवस्थामा स्नायुबाट संकेतको प्रसारणलाई पनि कम गर्ने, रक्तनलीका भित्तालाई पनि कमजोर बनाउँछ र खुट्टा पोल्नुका साथै अन्य धेरै समस्या हुन सक्छन् ।

यसबाहेक किमोथेरापीको औषधि लिएका, खुट्टामा संक्रमण हुनु,  अत्यधिक मदिरा पिउने बानी,  वंशाणुगत कारण, ढाडमा नसा च्यापिंदा पनि खुट्टामा हुने नसालाई प्रभाव पार्छ जसले गर्दा पैताला पोल्ने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि नसा खुम्चिएर पैताला दुख्ने गर्छ ।

के पैताला राति मात्रै पोल्छ ?

अधिकांशले राति मात्र पैताला पोल्ने गुनासो गर्छन् तर त्यसमा कुनै ठोस कारण छैन । रातको समयमा काम कम र आराम बढी हुने भएकाले ध्यान दुखाइतर्फ मात्र केन्दित हुँदा बढी दुखेको महसुस हुन्छ । यद्यपि कति दुख्छ र कति लामो समयसम्म दुखाइ हुन्छ भन्ने कुरा रोगअनुसार फरक-फरक हुन सक्छ ।

उपचार

लगातार पैताला दुखेर दैनिकीमा नै असर पारेको छ भने तुरुन्त अस्पताल गएर जँचाउनुपर्छ । नत्र जति ढिला अस्पताल पुग्यो उपचारमा त्यति नै जटिलता आउँछ । धेरै रोगको लक्षणको रुपमा पैताला पोल्ने देखिने हुँदा थाइरायड, मधुमेहको स्तर हेर्न रगत परीक्षण गरिन्छ । त्यस्तै  ढाडको समस्या भए एमआरआई गरिन्छ । र, नसामा समस्या छ कि छैन भनेर हेर्न नसाको परीक्षण गरिन्छ ।

पैताला पोल्ने समस्याको लक्षण रोगअनुसार हुने भएकाले रोगलाई निदान गरी त्यसको उपचार गर्दा स्वत: दुख्ने समस्या कम हुँदै जान्छ । यदि परीक्षणमा थाइरायड मधुमेह अनियन्त्रित देखिए त्यसलाई नियन्त्रण गरिन्छ ।

घरमै गर्न सकिने रोकथाम

अत्यधिक खुट्टा दुखिरहेको छ तर अस्पताल पुग्न सम्भव छैन भने चिसो पानीले केहीबेर खुट्टा डुबाउन सकिन्छ । त्यसैगरी आफू बसेको स्थानभन्दा केही माथि खुट्टा उठाएर राख्दा केही हदसम्म सञ्चो हुन सक्छ । दुखाइ कम गर्ने मलम पनि लगाउन सकिन्छ ।

(न्यरोलोजिस्ट डा. भट्टराई नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

पैताला स्वास्थ्य
डा. सुमन भट्टराई
लेखक
डा. सुमन भट्टराई
वरिष्ठ न्युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : ६९६९ एमडी (न्युरोलाजी) नेसनल न्युरो सेन्टर, बीएण्डबी अस्पताल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?