+
+

पासाङ दावा शेर्पाले दिइरहेका छन् कामीरितालाई कीर्तिमानमा चुनौती

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ९ गते २०:००
बायाँबाट क्रमशः कामिरिता शेर्पा र पासाङ दावा शेर्पा ।

९ जेठ, काठमाडौं । मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा सगरमाथा चुचुरोमा नयाँ कीर्तिमान बनेको छ । यो समय विख्यात आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथाको चुचुरो चुम्न सफल भए । उनी यसै सिजन दोस्रो पटक आरोहणमा पुगेका हुन् । यसअघि उनले सन् २०१९ मा समेत एकै सिजनमा दुई पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका थिए ।

यी विख्यात आरोहीलाई गुपचुप चुनौती दिइरहेका अर्का साहसी आरोही हुन् पासाङ दावा शेर्पा (पादावा) । जसले सोमबार २७औं पटक सगरमाथा चुचुरो चुम्दै कामीरितालाई चुनौती दिए । उनी पनि एकै सिजन यो पटक दुई पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । यसअघि ३१ वैशाखमा उनी २६औं पटक चुचुरोमा पुगेका थिए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाका अनुसार पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा–४ स्थित पाङबोचेका स्थानीय हुन् । निमानुरु भन्छन्, ‘दुवै आरोही नेपालका कुशल र दक्ष आरोही हुन्, तर पासाङ व्यक्तिगत रुपमा लो–प्रोफाइलमा बसेर आफ्नो दक्षता प्रदर्शन गरिरहेका छन् ।’ सोहीकारण उनलाई ‘लुकेको रत्न’ पनि भनिन्छ ।

४७ वर्षीय पादावा कामीरिता भन्दा उमेरले कान्छा हुन् । सोही कारण अबको अझै केही वर्ष यी दुई आरोही बीच नै कीर्तिमानको प्रतिस्पर्धा चल्ने देखिन्छ । संघका अध्यक्ष निमानुरुका अनुसार यी दुईलाई पछ्याउने आरोही धेरै नै पछाडि छन् । ‘१४/१५ पटक आरोहण गरिसकेका आरोही धेरै छन्’ उनले भने, ‘तत्कालका लागि कामीरिता र पादावाको रेकर्ड भेट्टाउने अर्का आरोही नजिक छैनन् ।’ यसअघि २१/२१ पटक सगरमाथाको चुचुरो चुमेका आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।

पदयात्री गाइडबाट सुरु भएको हिमालको यात्रा

पादावाले पर्यटन र पर्वतारोहणमा आफ्नो करियर पदयात्रामा गाइडबाट थालेका थिए । उनको सगरमाथामा पहिलो पाइला भने सन् १९९८ मा पुगेको हो । दुई जना शेर्पा र ३ जना विदेशी आरोहीसहित ५ जनाको टोली सो वर्ष पहिलो पटक सगरमाथा चुचुरोमा पुगेको थियो । सो समय उनी २१ वर्षका थिए ।

त्यसयता सगरमाथामा मात्र २७औं पटक सफल आरोहण गरेका उनले ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणमा थुप्रै सफलता हासिल गरेका छन् । जसको आधिकारिक रेकर्ड बुकमा अंकित भने गरिएको छैन । नेपालमा दर्जनौं रेकर्ड बस्ने गरिए पनि पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले यस्तो रेकर्डहरुलाई व्यवस्थित रुपमा लिपिबद्ध गर्दैनन् । जसले गर्दा हिमालका यी अमूल्य निधिका कीर्तिमान गुमनाम जस्तै छन् । सन् १९७६ मा जन्मिएका पासाङको बाल्यकाल चौंरीको गोठसँगै बितेको हो ।

बलिया पादावा

शेर्पा आरोहीहरुबीचमा पादावाको पहिचान बलिया आरोहीका रुपमा पनि छ । उनले कैयौं आरोहण सिजनमा दुई/दुई पटक सगरमाथा आरोहण गरेका छन् । उनले सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा पनि दुई/दुई पटक सगरमाथा आरोहण गरेका थिए । धेरै आरोहीबीच कठिन मानिने हिमाल अमादब्लामलाई निकै सहज प्रमाणित गरेका पादावाले धेरै पटक यो हिमालको चुचुरो चुमिसकेका छन् । सन् १९९६ मा फुर्वाटासी शेर्पा र बाबुछिरिङ शेर्पाले एकै पटक दोहोरो आरोहण गरेयता पादावा र कामीरिताले यसलाई निकै सहज जस्तो बनाएका छन् ।

यसो हुनुमा सगरमाथा आरोहण सुविधासम्पन्न बन्दै जानु मुख्य कारण मानिन्छ । सन् १९९६ अगाडि सगरमाथामा अहिले जस्तो स्थायी प्रकृतिको डोरी टाँगेर सुरक्षित गराउने सुविधा आइसकेको थिएन । अहिले मौसमी जानकारी समेत विगतको तुलनामा निकै विश्वसनीय भएको छ । यसले आरोहणलाई तुलनात्मक रुपमा सहज बनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?