+
+
ब्लग :

अमेरिका आएपछि…

नजिकैको रुखमा एउटा लोखर्के तल-माथि गर्दै थियो। त्यसलाई पनि धेरै समय पहिलेदेखि चिने जस्तो लाग्थ्यो र हेरि राख्थें।

डा. रुद्र अर्याल डा. रुद्र अर्याल
२०८० जेठ १७ गते १२:१६

आफ्नो देश, मातृभूमि, आफू जन्मेको ठाउँ, गोठालो गएको जंगल, सानैमा तोतेबोली बोल्दै वरिपरि घुम्दै खेलेका बारी, बाटा र चउरहरू। आफ्ना नजिकका साथीभाइ, बुबाआमा, दाजुभाइ, दिदीबहिनी, नातेदार र समग्रमा आफू जन्मेको मातृभूमिलाई छोडेर विदेशमा बस्दाको संवेदना विदेशमै बसेका मान्छेलाई मात्रै थाहा हुन्छ।

म आफैं अमेरिकामा बसेको १८ वर्ष बित्न लागिसकेछ। पाँच वर्षपछि त जसरी पनि देश फर्कने कसम खाएर अध्ययनको सिलसिलामा अमेरिका आएको थिएँ। तर पनि यति धेरै वर्ष पुगिसकेछ।

नेपालले मलाई कुनै अवसर नदिएर म अमेरिकामै बसेको पनि होइन। अमेरिका आउनुभन्दा अगाडि नै ५० हजार भन्दा धेरैको आम्दानी थियो विभिन्न क्याम्पसमा पढाउँदै गर्दा। मेरो पनि विदेशिनुमा कुनै दोष छैन। यो सबै मानिसको दिमागमा हुने तरंगका परिणाम मात्रै हो र संसारका मानव सभ्यताको एउटा उदाहरण हो- यात्रा र बसाइँसराइ पनि।

एक जना इजरायली प्राध्यापक र इतिहासकार युवल नोह हरारीले आफ्नो किताब ‘अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड’ मा मानिसको यात्रा गर्ने रहर र बानीले विभिन्न ठाउँमा कसरी बस्ती बसेको छ भनेर हजारौं वर्षको विश्लेषण गरेका छन्। नेपालभित्रै पनि विभिन्न गाउँमा जन्मेर शहर पस्ने र विभिन्न ठाउँमा बसाइँसराइ हुने गर्छ।

काठमाडौंमा बस्ने धेरैको जन्मघर सोध्यो भने नेपालको अरु कुनै न कुनै ठाउँबाट आएका हुन्छन्। यसैको एउटा ठूलो रूप हो- विदेश जाने पनि। तर महत्वपूर्ण कुरा के हो भने जहाँ बसे पनि देश, स्कुल, जन्मदिने मातापिता, साथीभाइ शिक्षक–शिक्षिकाप्रति माया, सम्झना र सम्मान छ कि छैन ? आफ्नो धर्म, भाषा र संस्कृतिप्रति सम्मान छ कि छैन त्यो महत्वपूर्ण कुरा हो।

अमेरिकामा मात्रै ३ लाखभन्दा बढी नेपाली रहेको कतिपय अनुसन्धानबाट देखिएको छ। मसँग प्रष्ट तथ्यांक नभए पनि अमेरिकाको जुनसुकै शहरमा पुग्छु त्यहाँ नेपाली नभएको त ठाउँ नै भेटिंदैन।

त्यति मात्रै होइन पारिवारिक भेटघाटको निम्ति क्यानडाको विभिन्न ठाउँमा पुगेका नेपालीको बस्ती धेरै बाक्लो देखेको छु। अझै म एनआरएनको गतिविधिमा सक्रियतापूर्वक लागेकोले पनि देखेको छु कि संसारका कुनै पनि ठाउँ छैन होला जहाँ नेपाली नपुगेको होस्!

मैले भोगे अनुसार विदेश यात्रा भनेको एक रोमाञ्चक तर संवेदनशील घटना रहेछ। जब मलाई अध्ययनको सिलसिलामा अमेरिकाको भिसा लाग्यो, मैले अमेरिकाको ठूला शहरका गगनचुम्बी महल, चिल्ला गाडी, सुकिलामुकिला मान्छे हुन्छन् जस्तो लाग्यो। सडकमा त कोही पनि हिंड्दैनन् होला जस्तो कल्पना गरेको थिएँ।

अलि–अलि मेरो हाउभाउ बदलिएको थियो त्यो अचम्मको देशमा पुग्ने परिकल्पना गर्दा। कोही साथीभाइले अमेरिकाको बारेमा भनेको कुरा समेत पत्याउन गाह्रो थियो मलाई। अमेरिका जाने मान्छे भनेर धेरै साथीभाइ लगायत नातेदारहरूले पनि निमन्त्रणा गर्न थाल्नुभयो। मेरो खुशीको सीमा थिएन कल्पनाको झिलीमिली अमेरिका शहरको। अमेरिका आउनको निम्ति युनिभर्सिटीबाट इमेल आयो- यी यी भ्याक्सिनहरू लगाएको हुनुपर्ने भनेर।

नेपाल हुँदा धेरै सामान्य लाग्थ्यो आफ्नो देश। जब अमेरिका झरें नेपालको याद आइहाल्यो। नेपालमा भिसा लागेपछिको त्यो फुर्ती र चमक हराइसकेछ एयरपोर्ट झर्ने बित्तिकै।

कालीमाटीको एउटा क्लिनिकमा पनि उपलब्ध रहेछ मलाई चाहिने केही भ्याक्सिनहरू। साथीहरूबाट थाहा पाएपछि अमेरिका आउनुभन्दा दुई दिनअगाडि म पनि गएँ त्यो क्लिनिकमा।

म पार्टीहरूमा मस्त हुन थालिसकेको थिएँ। अमेरिका जाने दिन आउँदै थियो। मैले धेरै पार्टी भ्याउन बाँकी नै थियो। भ्याक्सिनले कत्तिको दुःख दिन्छ भनेर सोधेँ। मेरो आफ्नै सुर थियो मानौं कि मैले त्यो सुई लगाउने मान्छेलाई केही महत्व नै दिएको छैन जस्तोगरी। मेरो चहलपहल छुट्टै थियो। त्यो क्लिनिक भिजिट गर्न आउने अरुले समेत सजिलै महसुस गरे जस्तो लाग्थ्यो अहिले।

भ्याक्सिन दिने बेला मलाई सोधियो- ‘तपाईं पहिलो चोटि अमेरिका जान लाग्नुभएको हो ?’ मैले उत्साहका साथ हो भनेँ। उनले मुस्कुराएर भने पहिलो चोटि अमेरिका जाँदा यस्तै फुर्ती आउँछ दोस्रो चोटि आउँदा मान्छे भएर आइन्छ।

मैले बुझिनँ तर पनि उनले १० वर्ष बसेर आएको हो भनेपछि म अलि झस्कें र मेरो बोल्ने तरिका अलि फरक भइहाल्यो। सायद त्यसपछि म अलि शान्त भएर सोच्न थालेँ- कतै अमेरिका मैले सोचे जस्तो छैन कि भनेर।

नेपाल हुँदा धेरै सामान्य लाग्थ्यो आफ्नो देश। जब अमेरिका झरें नेपालको याद आइहाल्यो। नेपालमा भिसा लागेपछिको त्यो फुर्ती र चमक हराइसकेछ एयरपोर्ट झर्ने बित्तिकै। वरिपरि आफ्नो कोही छैन। एकैछिनमा आफ्नो इमेलमा मात्रै परिचय हुनुभएको साथी आमोद प्याकुरेलले एअरपोर्टबाट पिक अप गरी आफ्नो घरमा लिएर जानुभयो। एक दुई दिन बसेर मेरो आफ्नै डेरामा सरेँ। बाहिरपट्टि सानो जंगल जस्तो थियो, सल्लाका रुखहरूले ढाकेका। मलाई लाग्थ्यो- नेपालमा हुने रुखहरू पनि अमेरिकामा हुन्छ ! अमेरिकामा त नेपालमा नपाइने विशेष खालका अमेरिकी प्रकारका चिजहरू पाउनुपर्ने हो ! नेपालकै जस्तो सल्लो देख्दा अचम्मै लाग्यो।

कोठामा एक्लै बस्दा साह्रै एक्लो महसुस भयो। युनिभर्सिटी पनि दुई हप्तापछि मात्रै सुरु हुँदै थियो। एकदिन खाना पकाएर खाना खाँदै थिएँ, बाहिर सल्लाको जंगल हेरेँ। पाल्पा श्रीनगरको याद आयो र ती रुखहरू साथी जस्तै लागे। घरिघरि तिनीहरूसँग कुराकानी समेत गरौं जस्तो लाग्थ्यो। नजिकैको रुखमा एउटा लोखर्के तल-माथि गर्दै थियो। त्यसलाई पनि धेरै समय पहिलेदेखि चिने जस्तो लाग्थ्यो र हेरि राख्थें।

एकदिन अमेरिकाको म्याकडोनाल्डमा केही खानुपर्छ भनेर गएँ। पहिलो चोटि आफू एक्लै अमेरिकी पसलमा छिरेको थिएँ। के माग्ने होला भनेर मेनु हेरेर बसेको थिएँ। एकजना लुक भन्ने गोरो मान्छेले आर यु फ्रम इन्डिया भन्यो ? मैले भनेँ- नो। आई एम फ्रम नेपाल।’ ऊ धेरै खुशी भयो र भन्यो, ‘योर कन्ट्री इज द मोस्ट ब्युटिफुल कन्ट्री इन द वर्ल्ड।’

म दङ्ग परेँ। अमेरिकनले अमेरिका भन्दा पनि ब्युटीफुल भनेकोमा।

करीब एक हप्तापछि साथीहरूको सहयोगमा एउटा फोन किनेँ। राति एक्लै सुत्दै थिएँ। नेपालबाट मुनाको फोन आयो र हेल्लो भन्ने बित्तिकै भनिहालिन्, ‘अमेरिका जाने बित्तिकै बिर्सिहाल्ने।’

हुन पनि मैले फोन र सम्पर्क सूत्रको आधारमा सम्पर्क गर्न सकेको थिइनँ। इमेल भने पठाएको थिएँ। उनले चेक गरेकी रहिनछिन्। अहिले जस्तो थिएन त्यतिबेला। फोन गर्नुपर्दैन त भनिन्।

मेरो आफ्नै समस्या थियो भाषाको, ठाउँको, फेरि फोन पनि थिएन मसँग। म आफैंलाई सम्झेँ। नेपालमा हुँदा झिलीमिली अमेरिका कल्पन्थ्यौं। मुनाले पनि झलमल भएको देशमा जाने बित्तिकै आफू र छोरीलाई बिर्सिएको होला भनेर आरोप लगाइहालिन्। तर आफ्नो पीडा फरक थियो।

नेपालमा हुनेहरूले सोचे जस्तो थिएन। नेपालकै जस्तो भनेर लोखर्के, सल्लाको रुख हेरेर मनलाई शान्त बनाएको थिएँ र बाहिर बाटामा अपरिचित मान्छेहरू हेर्दै दिन बिताएको थिएँ। मैले कल्पना गरेको रमझम केही थिएन र मसँग त्यो रमझम कहाँ कसरी हुन्छ जानकारी पनि थिएन। खाली पढाइ कस्तो हुन्छ भनेर कुरेको थिएँ।

नेपालमा हुँदा कुनै महत्व नदिएको आफ्नो देशलाई जब देश छोडिन्छ अनि बल्ल आफ्नै देशको धुकधुकी रहने हुँदोरहेछ। केही समयपछि नेपालीहरू पनि धेरै भेटेँ। नेपाली संस्कृतिमै बाँच्न चाहने, नेपाली समाज (संघ/संगठन) खोलेर प्रत्यक्ष रूपमा नेपाली संस्कृतिलाई अमेरिकी समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको पाएँ नेपालीहरूबाट।

नेपालको संस्कृति झल्काउने ड्रेसहरूको प्रयोग गर्ने, नेपाली चाडबाडहरूलाई महत्वका साथ मनाउने, नेपालको प्रचार हुने गरी विभिन्न शहरहरूमा नेपाल सम्बन्धी सामग्रीहरू बोकेर परेड खेल्ने गर्दै आफ्नो देशको गरिमा र पहिचानलाई उच्च स्थानमा पुर्‍याउनको निम्ति महत्वपूर्ण भूमिका खेलेका रहेछन् नेपालीले।

आजभोलि अमेरिकामा नेपाली मूलका व्यक्तिहरूको जनसंख्या बढेसँगै यस्ता गतिविधि अमेरिकाका कुना कुनामा पुगेका छन् अहिले। मलाई कहिलेकाहीं आफ्नो मातृभूमिमा रहेका नेताहरूले विदेशमा जाने सबै राष्ट्रघातीहरू हुन् भने जस्तो गरेर सम्बोधन गरेको सुन्दा मन दुखेर आउँछ।

राजनीतिक फाइदाको लागि वास्तविकता नबुझी किन आरोप लगाएका होलान् जस्तो लाग्छ। संसारको उदाहरण हेर्ने हो भने विदेशमा जति धेरै प्रवासीहरू, मातृभूमिलाई त्यति नै फाइदा हुँदोरहेछ। भारत, पाकिस्तान, अफ्रिकन देशहरूको वार्षिक बजेटमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकाले समेत प्रष्ट पार्दछ।

हुन त अहिले नेपालको वार्षिक बजेटमा समेत नेपाल बाहिर रहने नेपालीको कारणले प्राप्त हुने आर्थिक स्रोत प्रमुख रूपमा प्रस्तुत गरिएको छ र नेपालमा लगानी गर्नको निम्ति प्रोत्साहन गरिएको छ।

मानिसहरू विभिन्न कारणले विभिन्न देशमा बसाइँ सर्छन्। मानिसहरू राम्रो रोजगारीका अवसर, उन्नत शिक्षा-स्वास्थ्य प्रणाली, जीवनस्तर पछ्याउन अन्य देशहरूमा जान्छन्। हालैका वर्षहरूमा विभिन्न तरिकाबाट अमेरिकामा नेपालीको संख्या बढेको देखिन्छ। नेपाली मूलका मानिसहरू अमेरिकाका विभिन्न युनिभर्सिटीका प्राध्यापक र अनुसन्धानकर्ता बनेका छन्। राजनीतिक गतिविधिमा सफल भइरहेका छन्। व्यापार व्यवसायदेखि आईटीको क्षेत्रमा समेत राम्रो सफलता पाइरहेका छन्।

यस्तो अवस्थामा भड्काउने भ्रमपूर्ण अभिव्यक्ति दिएर दूरी बढाउने भन्दा आप्रवासी नेपालीहरूको सीप, दक्षता र पूँजीलाई नेपालसँग जोड्नका लागि पहल गर्नुपर्छ।

(लेखक अमेरिकाको न्यु ह्याम्प्सायर स्थित फ्र्याङ्कलिन पिअर्स युनिभर्सिटीका प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?