+
+
ब्लग :

विद्यार्थीले साँच्चै सुनिरहेका छन् ?

सक्रिय सुनाइ सीपहरूको विकास गर्न सकिन्छ तर यसका लागि समय लाग्छ र धेरै अभ्यास गर्न–गराउन जरूरी हुन्छ ।

लक्ष्मण श्रेष्ठ लक्ष्मण श्रेष्ठ
२०८० जेठ २१ गते ६:४४

सक्रिय सुनाइ विना असल सिकाइ हुने कुरा कल्पना पनि गर्न सकिंदैन । विद्यार्थीलाई सक्रिय श्रोता बनाउन सकेमा शिक्षण क्रियाकलाप सफल हुन्छ ।

शिक्षकले विद्यार्थी संलग्नता र सहभागितालाई बढाउने, उनीहरूलाई प्रोत्साहित गर्ने विभिन्न रणनीति र तरिका प्रयोग गरी सक्रिय सुनाइलाई सुदृढ गर्न सकिन्छ ।

यसका लागि त्यस्ता केही उपयोगी तथा प्रभावकारी विधिबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

क. विद्यार्थीको इच्छा वा चाहना थाहा पाउने

सक्रिय सुनाइ के हो र किन यो आवश्यक छ ? यसको के महत्व छ ? जस्ता विषय विद्यार्थीलाई स्पष्ट नभएसम्म उनीहरू सक्रिय सुन्नको लागि तयार हुँदैनन् । यसमा ध्यान दिएर सुन्ने वा केन्द्रित गर्ने, आँखाको माध्यमबाट प्रतिक्रिया दिने, आँखामा आँखा जुधाएर हेर्ने, आँखाको भाषा बोल्ने, इशारा गर्ने, टाउको निहुराउने र उचित प्रतिक्रिया दिने जस्ता विषयहरू समावेश हुन्छ ।

ख. उद्देश्य र सान्दर्भिकता स्पष्ट पार्ने

विद्यार्थीलाई उनीहरूको दीर्घकालीन सिकाइ, सिकाइ उपलब्धि वृद्धि र शैक्षिक सफलताको लागि किन सक्रिय सुनाइ आवश्यक छ भनेर बुझ्न मद्दत गर्नुहोस्, बुझाउनुुहोस् । यसले विद्यार्थीको बोध, समझ, आलोचनात्मक सोच र सञ्चार क्षमता बढाउँछ भनेर सचेत बनाइदिनुहोस् ।

ग. नमूना प्रदर्शन गर्ने

शिक्षकले आफैं संलग्न भएर मोडलको रूपमा व्याख्यान, छलफल वा प्रस्तुतीकरणको समयमा सुन्न–सुनाउन कसरी सकिन्छ भनेर देखाउन जरूरी छ । बडी ल्याङ्ग्वेज, आई कन्ट्याक्ट जस्ता कुराहरूको प्रयोग सक्रिय सुनाइका कसी हुन् भनेर देखाउन सकिन्छ ।

के बोल्ने, कसरी बोल्ने, जवाफ के कसरी दिने जस्ता कुराहरू शिक्षकले गरेर देखाउन आवश्यक हुन्छ । सक्रिय सुनाइ के हो र योसँग व्यवहार कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्न जरूरी हुन्छ ।

घ. अन्तरक्रियात्मक शिक्षण विधि प्रयोग गर्ने

परम्परागत विधिको ठाउँमा विद्यार्थीलाई सक्रिय सिकाइ गतिविधिमा संलग्न गराएमा सक्रिय सुनाइ हुन्छ । यसले उनीहरूलाई ध्यानपूर्वक सुन्न र सक्रिय रूपमा प्रतिक्रिया दिन उत्प्रेरणा प्रदान हुन्छ । समूह छलफल, बहस, समस्या समाधान गर्ने अभ्यास र सक्रिय सुन्न र सहभागितालाई उत्तेजित गर्ने ह्यान्ड्स–अन गतिविधि समावेश गर्न आवश्यक छ ।

कक्षाकोठा सम्बन्धी कार्यका लागि उपयुक्त, साधन सम्पन्न, सुरक्षित र सम्मानजनक हुन वातावरण चाहिन्छ । वातावरणले सिकाइलाई ठूलो असर र प्रभाव पार्छ ।

ङ. मल्टिमिडियाको प्रयोग

भिडियो, पोडकास्ट र अन्तरक्रियात्मक अनलाइन प्लेटफर्ममा पाइने सामग्रीहरू जस्ता अनलाइन र आईसीटीमा आधारित मल्टिमिडिया स्रोतहरू प्रयोग गरे सक्रिय सुनाइ हुन सक्छ । सिकाइ अनुभवलाई फरक पार्दै आशातीत सुधार गर्न यी यस्ता स्रोतहरूले सहयोग गर्दछ । विद्यार्थीको ध्यान खिच्न, बुझ्ने क्षमता बढाउन र सक्रिय सुन्न प्रोत्साहित गर्न सक्छन् ।

च. नोट गर्ने गतिविधिको प्रयोग

सुनेर विद्यार्थीलाई बुँदा टिपोट गराउने, बुझेको केही कुरा नोट लिने, नबुझेको कुरा सोध्न नोट लेख्ने जस्ता रणनीतिहरू प्रयोग गर्न सकिन्छ । यसका लागि माइण्ड म्यापिङ गर्ने क्रियाकलापमा ध्यान दिनुपर्छ ।

छ. सुन्ने र सोच्ने चिन्तनशील प्रश्नहरू प्रयोग गर्ने

विद्यार्थीलाई सुनेर केही गर्ने, लेख्ने, बोल्ने जस्ता क्रियाकलाप गर्न लगाउनुपर्छ । पहिला ध्यान दिएर सुन्ने र सुनेपछि कल्पना गर्न, विचार गर्न, सोच्न उत्प्रेरक प्रश्नहरू तयार गरेमा सुनाइलाई सक्रिय सुनाइमा सहजै परिवर्तन गर्न सकिन्छ । सुनाइसँगै सक्रियता र संलग्नता बढाउँदै, उनीहरूलाई आफ्ना विचार, व्याख्या र अन्तरदृष्टिहरू शेयर गर्न प्रोत्साहन दिनुपर्छ ।

ज. कक्षाकोठाको वातावरण तयार गर्ने

कक्षाकोठा सम्बन्धी कार्यका लागि उपयुक्त, साधन सम्पन्न, सुरक्षित र सम्मानजनक हुन वातावरण चाहिन्छ । वातावरणले सिकाइलाई ठूलो असर र प्रभाव पार्छ । विद्यार्थीले आफ्ना विचार व्यक्त गर्न सहज महसुस गर्छन् । सबै विद्यार्थीको सक्रिय सहभागितालाई प्रोत्साहन दिनुपर्छ । उनीहरूको सुनाइ सीपको विकास गर्न र आवश्यक सुधार्न सघाउन शिक्षकले सही, सकारात्मक र रचनात्मक प्रतिक्रिया प्रदान गर्न आवश्यक हुन्छ ।

झ. उपयुक्त अभ्यासको प्रयोग

शिक्षकले विद्यार्थीका लागि विशेष र आकर्षक प्रकारको गतिविधि समावेश गरेमा मात्र उनीहरूमा सक्रिय सिकाइ कौशलको विकास हुन्छ । उदाहरणका लागि अभ्यासहरू सञ्चालन गरेपछि त्यसको सारांंश वा व्याख्या गर्न लगाउनुपर्छ । सो सम्बन्धमा अन्य कुराहरू थप गर्न लगाउने गर्न सकिन्छ ।

ञ. मूल्याङ्कन गरी प्रतिक्रिया प्रदान गर्ने

नियमित रूपमा क्विज, असाइनमेन्ट, प्रस्तुतीकरण वा कक्षा सहभागिता मार्फत विद्यार्थीको सुन्ने सीपहरूको मूल्याङ्कन गरी उनीहरूको राम्रा र सुधार गर्नुपर्ने पक्षहरूका बारेमा मद्दत गर्ने, समयमै र रचनात्मक प्रतिक्रिया दिने गर्न जरुरी छ ।

सक्रिय सुनाइका सीपहरूको विकास गर्न सकिन्छ तर यसका लागि समय लाग्छ र धेरै अभ्यास गर्न गराउन जरूरी हुन्छ । माथि उल्लेखित तरिका, विधि वा रणनीतिलाई निरन्तर रूपमा लागू गरेर र सहयोगी सिकाइ वातावरण सिर्जना गरेर सक्रिय सुनाइ गर्न सकिन्छ । विद्यार्थीको सुन्ने क्षमता विकास गर्न र सक्रिय श्रोता बन्न सकारात्मक साथ सहयोग गर्नु शिक्षकको पहिलो काम हुन आउँछ ।

लेखक प्रधानाध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?