+

पुरुषले पनि थाहा पाउनुपर्छ महिलाको महिनावारी

२०८० जेठ  २१ गते १७:०८ २०८० जेठ २१ गते १७:०८
पुरुषले पनि थाहा पाउनुपर्छ महिलाको महिनावारी

प्रसंग केही समयअघिको हो । भारत, महाराष्ट्रकी एक १२ वर्षीया किशोरीको पहिलो पटक महिनावारी सुरु भयो । स्वभाविक हो, उनको कपडामा रगत लतपतियो । जब उनका दाइले कपडामा रगत देखे, तब बहिनीमाथि घृणित आशंका गरे । उनलाई लाग्यो, बहिनीले कसैसँग शारीरिक सम्बन्ध बनाएकाले रगत लाग्यो । त्यही निहुँमा उनले बहिनीको हत्या गरे ।

बीबीसीमा प्रकाशित उक्त सामग्रीले महिनावारी पीडा र त्यसमा पुरुषहरुको अनभिज्ञताबारे उल्लेख गरिएको छ । त्यससँगै महिनावारीलाई लिएर समाजमा व्याप्त अनेक संस्कार र भ्रमले महिलाको जीवनमाथि कति भयानक खेलबाड भइरहेको छ भन्ने कुरा त्यहाँ उल्लेख छ । भारतको पछौटे समाजको यो कथा हामीकहाँ पनि मिल्दोजुल्दो छ । खासगरी महिनावारी र त्यसको पीडाबारे पुरुषहरु अनभिज्ञ हुँदा महिलाहरु असहज र असामान्य परिस्थितिको सामना गर्न बाध्य छन् ।

महिलाको पीडा पुरुषलाई के थाहा ?

महिनावारी प्राकृतिक प्रक्रिया हो । यद्यपि यसबेला महिलाहरु फरक शारीरिक र भावनात्मक स्थितिमा हुन्छन् । उनीहरुलाई झर्को लाग्ने, दिक्क लाग्ने हुन्छ । साथै पेट, ढाड दुख्ने हुन्छ । यस्तो स्थितिमा उनीहरु कुनै लामो पंक्तिमा उभिएका हुन सक्छन्, सार्वजनिक बसमा कोचिएका हुन सक्छन्, घण्टौं उभिनुपर्ने ठाउँमा हुन सक्छन् । तर, उनीहरु कस्तो पीडाबाट गुज्रिरहेका छन् भन्ने कुरा पुरुषलाई थाहा हुँदैन ।

भक्तपुरस्थित ख्वपः कलेजमा समाजशास्त्र पढाइरहेकी सुनिता गाइसी भन्छिन्, ‘यस्तो पीडामा तपाईंका दिदी, बहिनी, आमा, श्रीमती, छोरीहरु हुन सक्छन् । त्यो अवस्थामा उनीहरुलाई कति गाह्रो भइरहेको होला ?’

महिलालाई महिनावारी हुँदा के कस्तो समस्या हुन्छ भन्ने कुरा पुरुषले जान्नैपर्ने उनी बताउँछिन् । ‘महिनावारीको पीडा त उनीहरुले अनुभव गरेका हुँदैनन् । तर त्यो क्षण कति कठिन हुन्छ भन्ने कुरा बुझ्न सक्छन्,’ प्राध्यापक गाइसी भन्छिन्, ‘त्यो कुरा उनीहरुले बुझ्नुपर्छ र अनुभूत गर्नुपर्छ ।’

महिनावारीबारे पुरुषलाई सामान्य ज्ञान भए पनि त्यसबेला हुने जटिलता थाहा हुँदैन । अझ पछौटे समाजमा त महिनावारीलाई लिएर कतिपय भ्रम व्याप्त छन् । महिनावारी भएको बेला अछूत हुन्छन्, भान्सामा पस्नै हुँदैन भन्नेजस्तो अन्धविश्वास छ । ‘यसले महिलाको जीवनलाई थप समस्यामा पारेको छ,’ प्राध्यापक गाइसी भन्छिन्, ‘यसो हुनुमा पितृसत्तात्मक चेत र संस्कार एउटा कारण हो । त्यसैले महिनावारी चक्रबारे पुरुषले अझ बढी जान्नु जरुरी छ ।’

छिःछिः होइन महिनावारी

अनटोल्ड पिरियड स्टोरिजका सहसंस्थापक पूजा विष्टका अनुसार महिनावारीजस्ता विषयमा थुप्रै बहस भए पनि ठोस परिवर्तन भने भएको छैन । त्यसैले एउटी किशोरी कुनै पसलमा गएर सहज रुपमा प्याड वा मिन्चुरेसन कप किन्न सक्दिनन् । ‘महिनावारी भएको बेला सहयोग गर्नुको साटो जिस्काउने, छिःछिः गर्ने प्रवृत्ति ज्यूँका त्यूँ छ,’ विष्ट भन्छिन् ।

महिनावारी भएको बेला महिलाहरु कस्तो परिस्थितिबाट गुज्रिरहेका हुन्छन् र उनीहरुलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा पुरुषलाई सिकाउनैपर्ने उनी बताउँछिन् ।

त्यति मात्र होइन, घरमा आफ्नै बुवा, श्रीमान् वा छोरालाई पनि महिनावारीबारे जानकारी हुनुपर्ने उनको जोड छ । किनभने महिनावारीको बेला महिलाहरु भावनात्मक रुपले कमजोर हुन सक्छन् । यस्तो बेला उनीहरु उदास हुने, झर्को मान्ने गर्छन् । यो स्थिति किन हुन्छ र त्यसबेला कसरी उनलाई साथ दिने भन्ने कुरा पुरुषलाई थाहा हुनुपर्छ ।

पुरुषले थाहा पाउनुपर्ने कुरा

महिनावारी सुरु हुनु सात दिनअघि नै महिलामा परिवर्तन सुरु हुन्छ । यसलाई अंग्रेजीमा पीएएमएस अर्थात् प्रि–मेस्टुअल सिन्ड्रोम भन्ने गरिन्छ । मेडिकल साइन्सका अनुसार यो बेला महिलामा दुई सय थरीका परिवर्तन हुन सक्छन् । भलै यस्तो परिवर्तन सबैमा एकनास नहोला ।

महिनावारी हुनुअघि महिलाहरुको मुड बदलिन सक्छ । उनीहरुलाई झर्को लाग्न सक्छ । शारीरिक रुपमा पनि शिथिल र कमजोर हुन सक्छ । किनभने महिनावारी सुरु हुनुअघि नै कम्मर, पेट र शरीर दुख्ने हुन्छ । यो कुरा पुरुषले पनि थाहा पाउनुपर्छ ।

महिनावारीको कुरा

अहिले सानै उमेरमा महिनावारी हुने प्रवृत्ति देखिएको छ । ७-८ वर्षको उमेरबाट पनि महिनावारी सुरु हुन सक्छ । यो एक मासिक प्रक्रिया हो । २८ देखि ३२ दिनसम्मको एउटा चक्रमा महिनावारी हुने गर्छ । सामान्यतया महिनावारी चार-पाँच दिनसम्म रहन्छ । महिनावारीको बेला कसैलाई अत्यधिक रक्तश्राव हुन्छ र पीडा पनि उत्तिकै हुन सक्छ ।

कतिपयको भने महिनावारी गडबडी हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरुको महिनावारी हुने टुंगो हुँदैन । यसले पनि महिलाहरुलाई मानसिक रुपमा चिन्तित बनाइरहेको हुन्छ ।

महिनावारी महिला
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय