+
+

अतिक्रमणमा परेको तीन निकुञ्ज जोड्ने करिडोरमा हुर्किंदैछन् बिरूवा

सुवास पण्डित सुवास पण्डित
२०८० जेठ २२ गते २०:२५

२२ जेठ, चितवन । पर्साको ठोरीबाट वीरगञ्ज जाने हुलाकी राजमार्गमा स्यालीबस्ती नजिकै सिकारीबास खोला छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई यही खोलाले छुट्टाएको छ । यहाँबाट झण्डै तीन किलोमिटर तल भारतको वाल्मीकि टाइगर रिजर्भ पर्छ । खोलाबाट पूर्वतर्फ चितवन राष्ट्रिय निकुञ्जको दुई सय मिटर र पर्सा राष्ट्रिय निकुञ्जको करीब ८ सय मिटर चौडाइ हुँदै दुवै निकुञ्ज भारतको वाल्मीकी टाइगर रिजर्भसँग जोडिएका छन् । तीन वटा निकुञ्जको मुख्य यही करिडोरमा सन् २००२ देखि अतिक्रमण भयो ।

यहाँ भएको घना वन क्षेत्र फडानी गरेर खेती गर्ने, छाप्राहरू हालेर बस्ती बसाउने क्रम सुरु भयो । यो क्रम सन् २००७ सम्म चल्यो । त्यतिबेला देशमा द्वन्द्वकाल थियो । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल उपभोक्ता समितिका सचिव रामबहादुर श्रेष्ठ सम्झन्छन्, ‘यो ठाउँमा ठूलठूला रुखसहितको घना जंगल थियो । तर, हेर्दाहेर्दा भूमाफियाहरुले निकुञ्जको अन्तर्राष्ट्रिय महत्वको मुख्य नाकामै रूख काटेर बस्ती बसाले ।’ मकवानपुर लगायतका क्षेत्रबाट झण्डै १५० भन्दा बढी घरधुरी १ सय हेक्टर जग्गा फडानी गरेर बसेका थिए ।

तीन निकुञ्ज जोडिने र मुख्य करिडोर क्षेत्रमै मानव बस्ती बसेपछि यहाँबाट वन्यजन्तुहरुको ओहोर–दोहार नै रोकियो । ‘यहाँबाट जंगली जनावरहरू भारततिर जाने, भारतबाट नेपालतिर आउने, निकुञ्जहरुमा आउने–जाने गर्दथे,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन्, ‘जंगली जनावरहरू ओहोर–दोहोर नहुँदा इन ब्रिडिङ्ग हुने र क्रस ब्रिडिङ्ग रोकिने खतरा भयो, यसको मार वन्यजन्तुको संरक्षण र गुणस्तरमा सिधै पर्ने अवस्था आयो, त्रिदेशीय पार्कको घाँटी जोडिएको बायोलोजिक हिसाबले निकै महत्वपूर्ण यस्तो करिडोर सायदै अन्यत्र होला ।’

चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ विभिन्न ठाउँमा जोडिए पनि तीनवटा राष्ट्रिय निकुञ्ज जोडिएको अन्यत्र छैन । सोही कारण पनि तीन वटै निकुञ्जका लागि यो निकै महत्वपूर्ण भूभाग मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भूमाफियाहरूले वन फडानी गरेर कब्जा गरेको निकुञ्जको जमिन झण्डै १२ वर्षपछि पर्सा राष्ट्रिय निकुञ्जको पहलमा सन् २०१५ मा खाली गराइयो । जमिन खाली गराइए पनि रूख फडानी गरिएको कारणले यो ठाउँ उजाड र उराठ लाग्दो थियो । त्यो ठाउँमा तराई भूपरिधि कार्यक्रम (ताल) ले बिरुवाहरू रोप्ने र तीन किलोमिटर तारबार लगाउने काम ग¥यो । रोपिएका बिरुवा १० प्रतिशतभन्दा बढी बाँचेनन् । चितवन राष्ट्रिय निकुञ्जतर्फको भूभागमा बिरुवाहरू हुर्किएका छन् तर पर्सा तर्फको भागमा त्यति बिरुवा हुर्किन सकेका छैनन् ।

तराई भूपरिधि कार्यक्रम (ताल) का कार्यक्रम संयोजक प्रेम पौडेलले तीन वटा निकुञ्जको निकै महत्वपूर्ण करिडोर क्षेत्र भएकाले यहाँको विगतको घना जंगललाई पुरानै अवस्थामा फर्काउन प्राथमिकता दिएको बताए । ‘यो खोलासहितको करिडोर हो, भूभाग समथर छ, त्यसैले यसमा डिस्टर्ब हुँदा त्यसले पार्ने प्रभाव निकै ठूलो हुने भएकाले संरक्षणमा समुदायसँग मिलेरै काम गरेका छौं, स्थानीय समुदाय पनि अहिले यहाँ वन जोगाउन लागिपरेका छन्,’ ताल कार्यक्रम संयोजक पौडेलले भने, ‘हामीले यहाँ क्यामेरा राखेर हेर्दा वन्यजन्तुहरू भारत जाने र भारतबाट आउने गरेको देखिएको छ ।’

यो करिडोरबाट चित्तल, जरायो, निलगाई, पाटे बाघ, हात्ती लगायतका जनावरहरु हिँड्ने गरेको देखिएको छ । धेरै सुख्खा हुँदा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ बिरुवा हुर्काउन नसकिएको उनले बताए । रूख बिरुवाको संरक्षणका लागि तालले नै निर्मल उपभोक्ता समितिसँग समन्वय गरेर दुई जना वन हेरालु राखेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?