गर्मीयाम झाडापखाला लाग्ने समय पनि हो । झाडापखालाबाट बालबालिका धेरै प्रभावित हुन्छन् । त्यसमाथि साना बालबालिकालाई झाडापखाला लागे थप तनाव हुन्छ ।
अन्य उमेरका मानिसलाई झाडापखाला लागेमा खासै आत्तिनु पर्दैन । खानपान र सरसफाइमा ध्यान दिन सके चाँडै निको भइहाल्छ । तर बच्चालाई झाडापखाला लागेमा भने केही कुरामा विशेष ध्यान दिनैपर्छ ।
यसो भन्दैमा बच्चालाई झाडापखाला लाग्ने बित्तिकै अस्पताल भर्ना गरिहाल्नुपर्छ भन्ने होइन । यदि झाडापखाला भए पनि बच्चा तन्दुरुस्त छ, खानेकुरा र पानी राम्ररी खाइरहेको छ भने डराउनु पर्दैन । तर एक वर्षमुनिका बच्चालाई भने अस्पताल लगिहाल्नु राम्रो हुन्छ ।
झाडापखालाको कारण
बासी, ढुसी परेको र दूषित खाना खाँदा, दूषित पानी वा दूध पिउँदा, पेटमा जुका पर्दा, दिसा गरेपछि राम्रोसँग हात नधुँदा र प्रदूषित वातावरणले झाडापखाला लाग्छ ।
गर्मीयाममा छोटो समयमा नै खानेकुरा गन्हाउने, ढुसी पर्ने भएकाले सरसफाइ र खानपानमा बच्चाको ध्यान दिन नसकेमा उनीहरुलाई झाडापखालाले पिरोल्ने गर्छ । एक वर्षभन्दामुनिका बच्चाहरु बामे सर्ने र अलिअलि हिंड्न थाल्ने भएकाले हातमा फोहोर धेरै टाँसिन जान्छ । त्यही फोहोर हात मुखमा पुर्याउँदा कीटाणु पेटभित्र जान्छ र पखाला लाग्छ ।
बच्चालाई धेरै झाडापखाला लाग्नुको कारण
६ महिनापछिका बच्चाले दूधसँगै अन्य खानेकुरा पनि खान थाल्छन् । त्यसक्रममा सरसफाइमा ध्यान नपुग्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ । त्यसमाथि बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सजिलै झाडापखालाले समात्छ ।
लक्षण
झाडापखाला लाग्दा पेट दुख्ने, बान्ता आउने, पातलो दिसा धेरैपटक आउने, ज्वरो आउने, जिब्रो सुख्खा हुने, तिर्खा बढी लाग्ने, शरीर आलस्य हुुने, हिंडडुल गर्न गाह्रो हुने हुन्छ ।
उपचार
बच्चालाई झाडापखाला लागेको छ भने प्रशस्त मात्रामा जीवनजल खुवाउने, गेडागुडीको रस, कागती पानी, फलफूलको जुस, काँक्रोलगायतका झोलियो कुरा खुवाउन सकिन्छ । बच्चाले जति मात्रामा पखाला गर्छ, त्यसको दोब्बर झोलियो कुरा खुवाउनुपर्छ । खानपानमा पनि ध्यान दिनुपर्छ । यदि खानेकुरा खान छाडेको छ भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।
जोगाउने तरिका
६ महिनामुनिका बच्चालाई आमाको दूध मात्र खुवाउने, दूध खुवाउनुअघि मनतातो पानीले निप्पल र बच्चाको मुख धुने, ६ महिनाभन्दामाथिका बच्चा भए सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ ।
खाना खुवाउनु वा खानुअघि साबुन पानीले हात धुने, पानी उमालेर खाने र खुवाउने, पोषकतत्व मिलाएर खुवाउने, बाहिरको खानेकुरा जस्तै जंकफुड नखुवाउने, बच्चाको दिसा सफा गरिसकेपनि आमाले साबुन पानीले मिचिमिची हात धुने, झोलिलो खानेकुरा सेवन गर्ने र पानी धेरै पिउने गर्नुपर्छ ।
भर्खरको शिशुलाई रोटा भाइरसविरुद्धको खोप लगाइदिन सकिन्छ, जुन शिशु ६ हप्ता र १० हप्ताको भएपछि दुईपटक लगाइन्छ । यदि कुपोषण र झाडापखाला लाग्दा रगत पनि देखिएको छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिक पनि दिन सकिन्छ ।
(बाल तथा शिशुरोग विशेषज्ञ डा. सुवेदी मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4