+

‘लो कार्ब डाइट’ ले हानि त गरिरहेको छैन ?

२०८० जेठ  २६ गते १९:४५ २०८० जेठ २६ गते १९:४५

कुन व्यक्तिलाई कस्तो डाइट दिंदा राम्रो हुन्छ भनेर अध्ययन गरेर डाइट प्लान दिने हो भने राम्रो पनि गर्छ। तर डा. मन्सुरको एफडीएच क्लिनिकमा दिइने डाइटमा प्रोटिन अनि फ्याटको मात्रा उच्च पाइएको बताउँछिन् श्रेशु । भन्छिन्, ‘त्यति मात्र होइन, मेरो त मधुमेहको औषधिको डोज पनि घटाइयो ।’

‘लो कार्ब डाइट’ ले हानि त गरिरहेको छैन ?

२६ जेठ, काठमाडौं। मैतीदेवीस्थित ‘एफडीएच क्लिनिक’मा थाइराइड र पेटको समस्या लिएर पुगेका थिए-काठमाडौं, थलीका निश्चल नेपाल। १० हजार रुपैयाँ शुल्क बुझाएपछि डा.दिलजन मन्सुरले एक घण्टाको ‘लाइफस्टाइल मोडिफिकेशन’ कक्षा दिए । साथै खानपान परिवर्तन गर्न भन्दै ‘लो कार्ब  डाइट’ लिन सुझाए ।

त्यसबेला निश्चलले ११२.५ एमजीको थाइराइडको औषधि खाइरहेका थिए। ‘अब मेरो डाइटले थाइराइड नियन्त्रण हुन्छ’ भन्दै डा. मन्सुरले थाइराइडको औषधिको डोज घटाइदिए। तर ‘लो कार्ब डाइट’ लिन थालेपछि न थाइराइड नियन्त्रण भयो न अपचको समस्या। बरु निश्चल शिथिल हुँदै गए, तौल अचानक ८-९ केजी घट्यो । यो समस्या डा. मन्सुरलाई सुनाउँदा ‘प्रोटिन सेक’ लिन सुझाए ।

तर, चक्कर लाग्न थालेपछि वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ अर्लक देवकोटाकहाँ गए । निश्चल भन्छन्, ‘मधुमेहको औषधि एकदमै संवेदनशील हुने र एक-एक एमजीको हिसाब गरेर खानुपर्ने भन्दै यस्तो हेलचेक्र्याईं नगर्न सतर्क गराउनुभयो ।’

मधुमेहको उपचार खोज्दै पर्यटन व्यवसायी श्रेशु आचार्य पनि ‘एफडीएच क्लिनिक’ पुगे । डा. मन्सुरले ‘लो कार्ब डाइट’ लिएपछि ९० प्रतिशत निको हुने आश्वासन दिए साथै टन्न घिउ खान सिफारिस गरे। ‘मैले डाक्टरले भने अनुसार सबै कुरा मिलाएको थिएँ, तर मधुमेहको समस्या जस्ताको तस्तै रह्यो’ उनले सुनाइन्, ‘बरु मेरो छाती दुख्न थाल्यो र काम गर्नै गाह्रो भयो ।’

आचार्यका अनुसार आफ्ना समस्या सुनाउँदा डा. मन्सुरले ‘हिम्मत नहार्न’ सुझाएका थिए। सह्नै गाह्रो भएपछि डाइबिटिज थाइरोइड एण्ड एन्डोक्राइनोलजी केयर सेन्टरका इन्डोक्राइनोलोजिस्ट डा.अमित शाक्यकहाँ पुगिन्। जचाउँदा उनमा अर्को समस्या देखियो, कोलेस्ट्रोल । आचार्यले सुनाइन्, ‘मलाई मधुमेह निको हुन्छ भनेर ग्यारेन्टी गरिएको थियो, तर मेरो स्वास्थ्य झन् बिग्रियो।’

आचार्यको उपचार गरेका इन्डोक्राइनोलोजिस्ट डा. शाक्य लामो समय लो कार्ब डाइट गरेर खानपानमा परिवर्तन गरेर प्रोटिन र फ्याट बढी खाँदा कोलेस्ट्रोल बढ्ने बताउँछन्। ‘श्रेशुजीको कोलेस्ट्रोल खानपानको कारणले बढेको हो’ डा. शाक्य भन्छन्, ‘उहाँ इन्सुलिन लगाउनुपर्ने बिरामीलाई इन्सुलिन घटाएर, खानपान पनि परिवर्तन गरेर मधुमेह अनियन्त्रित भयो र कोलेस्ट्रोल पनि बढ्यो।’

०००

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको डा. मन्सुरको क्लिनिकमा खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइडको उपचार खोज्दै पुग्नेहरूको संख्या उल्लेख्य छ । क्लिनिकमा एक दिनमा ३०-३५ जनाले पालो पाउँछन्।

जनही १० हजार रुपैयाँ शुल्क बुझाएपछि सबैलाई एउटै कोठामा राखिन्छ र एक घण्टाको कक्षामा जीवनशैली र खानपान परिवर्तन गर्ने विधि सिकाइन्छ।

यसले आफ्नो स्वास्थ्यमा सुधार भएको भन्नेहरू पनि छन् । डा. मन्सुरले १० चैत २०७९ मा एउटा कार्यक्रम गरेका थिए, जहाँ एफडीएच क्लिनिकबाट स्वास्थ्य लाभ गरेकाहरूले आफ्नो अनुभव सुनाएका थिए। डा. मन्सुरको युट्युब च्यानल डा.कर्टमा समेत अपलोड गरिएको कार्यक्रमको फुटेजमा केहीले मोटोपन त केहीले उच्च रक्तचाप र थाइराइड जस्ता रोग निको भएको बताएका छन् । सञ्चारकर्मी नरेश भट्टराईले हस्पिटल वा क्लिनिक बन्द हुने हो कि भन्ने डरले डा. मन्सुरको कुरा काट्ने गरिएको दाबी गरे।

निश्चल भन्छन्, ‘जुनसुकै उमेर, अवस्था र रोग भएका मानिसलाई लो कार्ब  डाइट भनेर एकै किसिमको खानपान तालिका सिफारिस गरिन्छ।’

पोषणविद्हरूका अनुसार लो कार्ब डाइटमा चामल वा आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा एकदमै कम हुन्छ ।जबकि हाम्रो शरीरलाई सन्तुलित मात्रामा कार्बोहाइड्रेटसँगै भिटामिन, मिनरल्स लगायत सम्पूर्ण पोषकतत्व पनि आवश्यक पर्छ। अनि, प्रत्येक व्यक्तिको डाइट फरक हुन्छ।

कुन व्यक्तिलाई कस्तो डाइट दिंदा राम्रो हुन्छ भनेर अध्ययन गरेर डाइट प्लान दिने हो भने राम्रो पनि गर्छ। तर डा. मन्सुरको एफडीएच क्लिनिकमा दिइने डाइटमा प्रोटिन अनि फ्याटको मात्रा उच्च पाइएको बताउँछिन् श्रेशु । भन्छिन्, ‘त्यति मात्र होइन, मेरो त मधुमेहको औषधिको डोज पनि घटाइयो ।’

खासगरी दीर्घरोगका औषधि खाइरहेकाहरूलाई मासु एवं बोसोजन्य खानेकुरा खान सिफारिस गर्नुका साथै औषधिको मात्रा घटाइदिंदा जटिलता देखिएको पीडितहरूले बताएका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा ‘किटो डाइट पीडित’ समूह नै बनाएर सर्वसाधारणलाई ‘सजग रहन’ भनिरहेका छन् ।

क्रोनिक किड्नीको थर्ड स्टेजको आफ्नो बिरामीलाई डा. मन्सुरले मासुजन्य डाइट चार्ट सिफारिस गरेको भन्दै सचिता सापकोटाले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन उनले सुझाएको खाना खुवाइयो, तर अचानक समस्या बढ्यो।’

केही कलाकार र राजनीतिज्ञले ‘एफडीएच क्लिनिकमा उपचार गरेपछि आफूलाई चामत्कारिक फाइदा भएको’ भन्दै राखेको स्टाटसकै प्रभावमा परेर आफूहरू उपचार खोज्दै त्यहाँ पुगेका पीडितहरूले बताएका छन्। त्यहाँ डा. मन्सुरले अरूलाई जस्तै आफूहरूलाई ‘लो कार्ब  डाइट’ लिन सुझाएको उनीहरूको भनाइ छ।

पछिल्लो समय ‘लो कार्ब डाइट’ का कारण समस्या भएर बिरामी आउने गरेको चिकित्सकहरूको अनुभव छ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ रवि शाही भन्छन्, ‘यस्तो खानामा कम कार्बोहाइड्रेट र फ्याट बढी हुन्छ, यसले कोलेस्ट्रोल बढ्ने हुँदा मुटु रोगको जोखिम छ। अहिले मकहाँ पनि यस्ता समस्या लिएर आउनेहरू छन्।’

खासगरी दीर्घरोगका औषधि खाइरहेकाहरूलाई मासु एवं बोसोजन्य खानेकुरा खान सिफारिस गर्नुका साथै औषधिको मात्रा घटाइदिंदा जटिलता देखिएको पीडितहरूले बताएका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा ‘किटो डाइट पीडित’ समूह नै बनाएर सर्वसाधारणलाई ‘सजग रहन’ भनिरहेका छन् ।

यसबारे बुझ्न खोज्दा डा. मन्सुरले ‘आफू बाहिर व्यस्त भएकाले कुराकानी गर्न नसक्ने’ जवाफ दिए।

नेपाल मेडिकल काउन्सिलले भने यो क्लिनिकविरुद्ध अहिलेसम्म कुनै पनि उजुरी नपरेकाले त्यहाँ के भइरहेको छ भन्ने बारेमा थाहा नभएको बताएको छ।

हरेक रोगको एउटै उपचार हुन्छ ?

एफडीएचमा पुगेका निश्चल नेपाल सुनाउँछन्, ‘त्यहाँ भर्ना भएका सबै बिरामीले एक घण्टाको कक्षा लिनुपर्छ। कक्षामा हामी विभिन्न समस्या भएका १५ देखि ५० वर्ष उमेरका ३५ जना जति थियौं। सबैलाई डाक्टरले एउटै कुरा सिकाए। के खाने, के नखाने भन्ने कुरा पनि एकै हिसाबले गरे।’

निश्चलका अनुसार एक घण्टे कक्षामा लो कार्ब  डाइट अन्तर्गत कुनै अन्न नखान, दूध नखान, प्रशोधित खानेकुरा नखान र सागसब्जी, माछामासु घिउमा पकाएर खान सिफारिस गरे।

सबै समस्याको जड खराब खानपान भएको भन्दै डा. मन्सुरले तीन महिने लो कार्ब  डाइट सुझाउँछन्। मोटोपन घटाउन आएकाहरूलाई खानपान परिवर्तनसँगै १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्नुपर्ने सुझाए।

पोषणविद्का अनुसार यस्तो आहार तालिकाले तौल त घट्न सक्छ तर शरीर तन्दुरुस्त र स्वस्थ हुन्छ भन्ने छैन। किनभने शरीरलाई तन्दुरुस्त राख्न कुनै एकथरी मात्र होइन, सन्तुलित खाना जरूरी हुन्छ। ‘हाम्रो शरीरलाई प्रोटिन र फ्याट मात्र हैन कार्बोहाइड्रेट, भिटामिन र मिनरल्स चाहिन्छ’ उनी भन्छन्, ‘असन्तुलित आहारले क्षणिक फाइदा गरे पनि दीर्घकालीन रोग जन्माउन सक्छ।’

‘मान्छेको समस्या अनुसार फरक-फरक उपचार विधि, खानपान शैली हुनुपर्ने होला’ मधुमेहको समस्या निको पार्न क्लिनिक पुगेकी पर्यटन व्यवसायी श्रेशु आचार्य भन्छिन्, ‘तर त्यहाँ मोटोपन, रक्तचाप, थाइराइड, मधुमेह भएका सबैलाई एउटै जीवनशैली र एकैखाले खानपानबारे बताइयो।’

पोषणविद् भूपाल बानियाँका अनुसार लो कार्ब वा किटो डाइट यस्तो आहार तालिका हो, जसमा कार्बोहाइड्रेट एकदमै कम गरिन्छ। यसमा प्रोटिन र फ्याटको मात्रा उच्च हुन्छ। जब शरीरले कार्बोहाइड्रेटको सेवन कम गर्छ, यो मेटाबोलिक अवस्थामा पुग्छ। यसलाई ‘केटोसिस’ भनिन्छ । यसमा कलेजोले बोसोलाई पगालेर किटोनमा परिणत गर्छ। ‘केटोन्स ऊर्जाको अर्को विकल्प हो, जसले सम्पूर्ण शरीरमा ऊर्जा आपूर्ति गर्दछ’ पोषणविद् बानियाँ भन्छन्, ‘यसरी बोसोलाई किटोनमा परिणत गरेपछि शरीरको तौल त घट्न सक्छ।’

पोषणविद्का अनुसार यस्तो आहार तालिकाले तौल त घट्न सक्छ तर शरीर तन्दुरुस्त र स्वस्थ हुन्छ भन्ने छैन। किनभने शरीरलाई तन्दुरुस्त राख्न कुनै एकथरी मात्र होइन, सन्तुलित खाना जरूरी हुन्छ। ‘हाम्रो शरीरलाई प्रोटिन र फ्याट मात्र हैन कार्बोहाइड्रेट, भिटामिन र मिनरल्स चाहिन्छ’ उनी भन्छन्, ‘असन्तुलित आहारले क्षणिक फाइदा गरे पनि दीर्घकालीन रोग जन्माउन सक्छ।’

मुटुलाई मार

किटो एवं लो कार्ब  डाइटमा बोसो र प्रोटिनको मात्रा उच्च हुन्छ। ‘यस्तो डाइट लिएपछि रक्तचाप, मधुमेह, कोलेस्ट्रोल सबै रोग भाग्छ भन्ने भ्रम व्यापक छ’ मुटुरोग विशेषज्ञ डा. शाही भन्छन्, ‘तर यस्तो खानपान मुटुको लागि हानिकारक हुन सक्छ।’ डा. शाहीका अनुसार दीर्घरोगीले मात्र नभई सामान्य व्यक्तिले पनि यस्तो खानपान गरिरहँदा धमनीमा लेदो जम्ने समस्या हुनसक्छ। ‘यसले मुटु र मस्तिष्कको समस्या देखिन सक्छ’, उनी भन्छन् ।

उनका अनुसार कतिपय मधुमेह, उच्च रक्तचाप र मुटु रोगका बिरामीले लो कार्ब एवं किटो डाइट लिन थालेपछि खाइरहेको औषधि नै छाडेको पाइएको छ। ‘मधुमेह, उच्च रक्तचापको कारण मुटु, मिर्गौला लगायत अङ्गहरूमा समस्या नहोस् भनेर बिरामीलाई औषधि दिइएको हुन्छ’ उनी भन्छन्, ‘यस्तोमा डाक्टरको सल्लाह विना औषधि छोड्यो भने हृदयघात, मस्तिष्कघात हुनसक्छ।’

ग्याष्ट्रिकको भय 

पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारीका अनुसार मानिसको शारीरिक बनावटदेखि मेटाबोलिक प्रणाली फरक हुन्छ। त्यसैले कसैलाई एक किसिमको खानपान सही हुन्छ भने अर्कोका लागि सही नहुन सक्छ।

किटो वा लो कार्ब  डाइट, त्यससँगै लिइने फास्टिङले सधैं सुखद नतिजा दिन नसक्ने उनले बताए। ‘यस्तो आहारमा प्रोटिन र फ्याट उच्च हुने हुँदा पचाउन कठिन हुन्छ’ उनी भन्छन्, ‘यसले कलेजोलाई भार थप्नेदेखि ग्याष्ट्रिकको समस्या हुनेसम्म भय छ।’ एउटा समस्याबाट छुटकारा पाउने चक्करमा अर्को समस्या पैदा हुने कुरामा सतर्क रहन उनी सुझाउँछन्। ‘पेट र शरीरका लागि सन्तुलित आहार नै जरूरी हुन्छ’ डा. भण्डारी भन्छन्।

के भन्छ अध्ययन ?

अमेरिकन कलेज अफ कार्डियोलोजीले सार्वजनिक गरेको अध्ययन अनुसार किटो डाइटले हृदयघातको जोखिम दुई गुणा र मस्तिष्कघातको पाँच गुणा बढाउने देखिएको छ। वार्षिक वैज्ञानिक सत्र ‘टुगेदर विथ द वर्ल्ड कंग्रेस अफ कार्डियोलोजी’मा किटो लाइक डाइटबारे एक अध्ययन रिपोर्ट प्रस्तुत गरिएको थियो।

यो अध्ययन बेलायतको बायो बैंकमा सङ्कलित तथ्याङ्कहरूमाथि गरिएको थियो, जहाँ १० वर्षयता किटो डाइटमा रहेका व्यक्तिहरूलाई समेत समेटिएको थियो। अध्ययनमा १२०० जना स्ट्यान्डर्ड र ३५० जना हाई प्रोटिन किटो डाइटमा रहेका व्यक्ति सहभागी थिए।उनीहरूलाई आफूले दैनिक खाइरहेको खानाबारे प्रश्नोत्तरको माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको थियो भने हाई प्रोटिन किटो डाइट गर्नेहरूको रगत परीक्षणको माध्यमबाट अध्ययन गरिएको थियो।

‘किटो डाइट सबै व्यक्तिका लागि फाइदाजनक हुन्न। औसतमा किटो डाइटले कोलेस्ट्रोलको स्तर बढाउँछ। केही व्यक्तिमा उस्तै रहन सक्छ भने केहीमा कम हुन सक्छ। समग्रमा यसले सबै व्यक्तिमा उस्तै परिणाम निम्त्याउँछ भन्ने छैन।’

अध्ययनले हाई प्रोटिन किटो डाइट गरिरहेका व्यक्तिहरूमा हृदयघात र मुटु रोगको जोखिम अन्य व्यक्तिभन्दा दुई गुणा बढी भएको देखाएको छ। हाई प्रोटिन किटो डाइटमा रहेका ९.८ प्रतिशतले मुटुसम्बन्धी नयाँ रोगको अनुभव गरेको अध्ययनमा देखिएको थियो, जुन स्ट्यान्डर्ड किटो डाइटमा रहेकाहरूको भन्दा दुई गुणाले बढी हो।

कम कार्बोहाइड्रेट र बढी फ्याटकै कारण खराब कोलेस्ट्रोलको मात्रा बढ्न गएर मस्तिष्कको रक्तनलीमा कोलेस्ट्रोल जमेर मस्तिष्कघातको जोखिम पनि दुई गुणाले बढाएको अध्ययनमा देखिएको थियो।

स्ट्यान्डर्ड किटो डाइट गर्नेहरूभन्दा हाई प्रोटिन किटो डाइट गर्नेहरूमा कोलेस्ट्रोलको मात्रा अति उच्च हुन पुगी हृदयघातको सम्भावना पनि पाँच गुणा बढी भएको अध्ययनको रिपोर्ट थियो।

अध्ययनको निष्कर्ष छ- ‘किटो डाइट सबै व्यक्तिका लागि फाइदाजनक हुन्न। औसतमा किटो डाइटले कोलेस्ट्रोलको स्तर बढाउँछ। केही व्यक्तिमा उस्तै रहन सक्छ भने केहीमा कम हुन सक्छ। समग्रमा यसले सबै व्यक्तिमा उस्तै परिणाम निम्त्याउँछ भन्ने छैन।’

एफडीएच क्लिनिक लो कर्ब डाइट
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय