+
+

विद्यार्थीले बन्द गरेको दोलखाको स्कूल खुल्यो, शिक्षक नियुक्ति प्रक्रिया एक हप्ता भित्र सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १९:३८

२६ जेठ,दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ मा रहेको शारदा माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएका ताला खुलेको छ ।

विद्यार्थीहरुले शिक्षकको अभावमा पढ्न नपाएकको भन्दै २२ जेठमा विद्यालयमा ताला लगाएका थिए ।

प्रधानाध्यापक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका केही सदस्यहरुबीचको बैठकले शिक्षकको विज्ञापन अनुमतिको प्र्रकृया एकहप्ताभित्र अगाडि बढाउने सहमतिपछि विद्यालय खुलेको हो ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले भने ‘अहिलेलाई हामीले नै आलोपालो गरेर पढाइमा प्रभावित हुन नदिने भन्ने छ र छिट्टै विज्ञापन अनुमति प्रकृया अगाडी बढाउने पनि सहमति भएको छ ।’

विद्यालय खुलेको करिब दुई महिना हुन लाग्दा पनि शिक्षकहरु नहुँदा नियमित पठनपाठन नभएको र आफूहरुले पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको विद्यार्थी कौशल लामिछाने बताउँछन् ।

उनी भन्छन् ‘वैशाखदेखि स्कुल खुलेको तर एक दुई घन्टी भन्दा बढी पढाइ नै भएन । प्रधानाध्यापक, व्यवस्थापन समितिको अध्यक्षलाई भन्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको हो ।’

विद्यार्थी तथा अभिभावकको जोडबलमा वडा अध्यक्षमार्फत विद्यालयको समस्या समाधान गर्नको लागि बैठक राख्न विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरे पनि नराखिएको उनले बताए ।

विद्यालयमा मावि तहको अंग्रेजी, गणित र विज्ञान तथा प्रावि तहको राहत दरबन्दी शिक्षक गरी ४ वटा दरबन्दी रिक्त छ ।

यसअघि पढाइरहेका एक जना शिक्षकले राजीनामा दिएको र ३ जना शिक्षक सेवा आयोगको परीक्षा पास गरेर स्थाई भएर गएको तर उनीहरुको ठाउँमा नयाँ शिक्षक राख्न नसकिएको विद्यालयका प्रधानाध्यापक मल्ल ठकुरीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार अहिलेसम्म रिक्त दरबन्दी परिपूर्ति गर्नका लागि विद्यालयले विज्ञापन प्रकृया नै अघि बढाएको छैन । पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लक्ष्मीप्रसाद रिजाल भन्छन् ‘अरु विद्यालयमा समस्या छैन । शारदा माविले भने विज्ञापन नखुलाउँदा समस्या भएको हो । विज्ञापन नै नखुलाएको विद्यालयमा पालिकाले शिक्षक पठाउने कुरा आउँदैन । अब खुलाएपछि शिक्षक पठाउछौं ।’

गाउँपालिकाले प्रावि तहको राहत दरबन्दीको लागि तोकेको परीक्षा पनि विषय शिक्षक नपाएको भन्दै परीक्षा सञ्चालन गर्न सकेको छैन ।

गत फागुनमा प्रावि तहको राहत दरबन्दीका शिक्षकले राजीनामा दिएपछि विद्यालयले विज्ञापन ग¥यो । पालिकाले चैत २४ गते तोकेको परीक्षा बैशाख १५ गते स¥यो । तर विषय विज्ञ नपाएको भन्दै परीक्षा गर्न सकेन ।

बाँकी ३ वटा शिक्षक पदमा भने विज्ञापनको प्रकृया अगाडी बढ्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक मल्ल ठकुरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका कारण रिक्त शिक्षक पदको लागि विज्ञापन प्रकृया अगाडी बढ्न नसकेको बताउँछन् ।

उनले भने ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरले प्रधानाध्यापक परिवर्तन भएपछि मात्रै विज्ञापन अनुमतिको प्रकृया अगाडि बढाउने भन्नुभयो । प्रधानाध्यापक परिवर्तन हुन सकेन त्यसैले शिक्षक नपाएपछि विद्यार्थी आन्दोलन गर्न बाध्य भए ।’

अध्यक्ष खड्काले प्रधानाध्यापक परिवर्तन गर्न चाहेको भन्ने विषयमा भने उनलाई नै सोध्न मल्ल ठकुरीले आग्रह गरे ।

तर एक जना शिक्षक भने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकको स्वार्थ बाझिँदा विज्ञापनको प्रकृया अगाडि बढ्न नसकेको बताउँछन् । उनी भन्छन् ‘प्रअले पद छोड्न मानेनन्, अध्यक्षले अहिलेको प्रअ फेरेर आफ्नो भान्जालाई प्रअ बनाउन खोज्दा उत्पन्न भएको समस्या हो ।’

उनको भनाइ अनुसार विव्यस अध्यक्षका भान्जा प्रावि तहमा कार्यरत छन् । हालका प्रधानाध्यापक मावि तहका राहत दरबन्दीका शिक्षक हुन् ।

ती शिक्षक भन्छन् ‘प्रअ नै परिवर्तन गर्न चाहेको भए पनि विज्ञापन अनुमति प्रकृया अगाडि बढाइदिएको भए विद्यार्थी पीडित हुनुपर्दैन थियो । उनीहरु आन्दोलन गर्न बाध्य हुँदैन थिए ।’

विद्यार्थी, अभिभावकको दबाबको वडा अध्यक्षले २२ गते विद्यालयमा बैठक राखेको उनी बताउँछन् । तर विव्यसको अध्यक्ष खड्का अनुपस्थित भएपछि विद्यार्थीहरु खोज्न गएर ल्याए पनि विद्यार्थीको जवाफ राम्ररी नदिइ बैठकबाट निस्किएपछि विद्यार्थीले विद्यालयमा ताला लगाएको ती शिक्षक बताउँछन् ।

अनलाइनखबरले यस विषयमा कुरा गर्न अध्यक्ष खड्कासँग सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?