+

शरीरलाई किन चाहिन्छ फाइबर ?

२०८० असार  १ गते १४:३२ २०८० असार १ गते १४:३२
शरीरलाई किन चाहिन्छ फाइबर ?

स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।

फाइबरले कसरी पेट सफा गर्छ ?

फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्ने काम गर्छ । फाइबरले पाचन प्रक्रियामा सुधार ल्याई कब्जियत, पायल्स, पेटको समस्या वा मलद्वारको समस्या हुनबाट जोगाउँछ ।

फाइबर घुलनशील र अघुलनशील गरी दुई प्रकारको हुन्छ । घुलनशील फाइबर पानीमा घुल्छ, जुन पानीसँग मिसिएर हाम्रो पाचन प्रणालीमा जेलजस्तो पदार्थ बनाउँछ । यसले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गराउँछ । गेडागुडी, स्याउ, गाँजर, जौ लगायतमा पाइने घुलनशील फाइबरले तौल घटाउन पनि मद्दत गर्छ ।

त्यस्तै अघुलनशील फाइबर पानीमा घुल्दैन । पेट भर्न अर्थात् भोक शान्त गर्न भूमिका खेल्ने अघुलनशील फाइबरले दिसाको मात्रा बढाउँछ । जसकारण कब्जियत, पायल्सको समस्या हुन दिंदैन । अघुलनशील फाइबर गहुँको चोकर, नट र तरकारी इत्यादि पर्छन् ।

फाइबरले पेटमा राम्रो ब्याक्टेरियालाई उत्पादन गरेर खानालाई राम्रोसँग पचाउन मद्दत पुर्‍याउँछ ।

फाइबरको मुख्य स्रोत के के हुन् ?

तरकारी, फलफूल, ड्राइ फ्रुट, गेडागुडी, बोक्रासहितको फलफूल, सलाद, सम्पूर्ण अन्न, ओट्स, चियासिड र आलस फाइबरका राम्रा स्रोत हुन् । ब्रो काउली, गाँजर, हरियो सागसब्जी, काउली, च्याउ, कुरिलो, हरियो केराउ पनि फाइबरका राम्रा स्रोत हुन् ।

एभोकाडो, स्याउ, काफल, केरा, सुन्तलाजस्ता फलफूलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दालका विभिन्न परिकारमा पनि फाइबर पाइन्छ । मकै, गहुँ, जीरा, ज्वानो र खैरो चामलमा पनि अत्यधिक मात्रामा पाइन्छ । अन्य खानेकुरामा पनि धेरैथोरै फाइबरको मात्र हुने गर्छ ।

फाइबर किन पेट र पाचनका लागि महत्वपूर्ण छ ?

फाइबरको मुख्य काम पेटमा खाना पचाउन मद्दत पुर्‍याउनु हो । यसले कब्जियतको समस्याबाट टाढा राखेर कब्जियतको समस्या हटाउँछ ।

अन्य फाइदा

फाइबरले कोलेस्टेरोल, रक्तचाप र सुगरको समस्यामा प्रभावकारी काम गर्छ । फाइबरयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राखी हृदयघात हुने जोखिम कम गराउँछ ।

फाइबर तौल घटाउन पनि प्रभावकारी हुन्छ । यसैकारण तौल घटाउनका लागि चिकित्सक र पोषणविद्हरुले रेसादार सागसब्जी र सलाद खान सल्लाह दिन्छन् । तपाईं आफ्नो खानामा फाइबरयुक्त फल र सागसब्जी समावेश गर्न सक्नुहुन्छ । यसले तौल घटाउन निकै मद्दत गर्नेछ ।

फाइबरले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गरी मुटुरोगबाट समेत बचाउँछ । यदि शरीरमा कोलेस्टेरोलको मात्रा बढी भएमा मुटुका लागि निकै खतरनाक हुन सक्छ ।

फाइबर नखाए के हुन्छ ?

फाइबर खाँदै नखाने भन्ने हुँदैन । हामीले दैनिक उपभोग गर्ने खानेकुरामा थोरै मात्रामा भए पनि फाइबर भएकै हुन्छ । यदि फाइबरयुक्त खाना कम खाएमा कब्जियत, मलद्वार र पेटको समस्या हुन्छ ।

फाइबर दैनिक कति खाने ?

फाइबर मानिसको उमेर र लिंगअनुसार खानुपर्छ । सामान्यतया ५० वर्षमुनिका महिलाले २५ ग्राम सेवन गर्नुपर्छ भने पुरुषले ३८ ग्राम । त्यस्तै ५१ वर्षमाथिका महिलाले दैनिक २१ ग्राम फाइबर सेवन गर्नु राम्रो हुन्छ भने ३० ग्राम खानुपर्छ ।

(पोषणविद् देवजुसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)  

खानेकुरा फाइबर
लेखक
सुनैना देवजु, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय