+

५ संक्रामक रोग, जसले मनसुनको बेला सताउन सक्छन्

२०८० असार  १ गते १४:४४ २०८० असार १ गते १४:४४
५ संक्रामक रोग, जसले मनसुनको बेला सताउन सक्छन्

वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ ।

वर्षायाममा मूलतः के कस्ता संक्रामक रोग लाग्न सक्छ ? त्यस्ता रोगबाट कसरी बच्ने ?

वर्षायाममा खासगरी पिउने पानी प्रदूषित हुन सक्छ । भेल–बाढी आदिसँगै बगेर आउने पानी मुहानमा मिसिने गर्छ । यस्तो पानीमा दिसापिसाब, मरेका जीवजन्तु पनि मिसिन सक्छ । त्यसैले पानीमा विभिन्न प्रकारका हानिकारक जीवाणु फैलिन सक्छन् ।

यस्तै पानी हाम्रो धारासम्म आइपुग्छ । दूषित पानी पिउँदा पेटमा संक्रमण फैलिने, झाडापखाला लाग्ने, पेटमा जुका पर्ने हुन सक्छ । यसैगरी पेटका अन्य समस्याले सताउन सक्छ ।

दूषित पानीकै कारण टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि लाग्न सक्छ । यतिबेला हेपाटाइटिस ई संक्रमण हुन सक्छ, जसको जोखिम गर्भवतीलाई हुने गर्छ ।

टाइफाइड

धारा, इनार आदिको पानीले सागसब्जी, फलफूल पखाल्ने गरिन्छ । यसै माध्यमबाट टाइफाइड गराउने जीवाणु शरीरमा प्रवेश गर्छ । टाइफाइड एक जनाबाट अर्कोमा चाँडै फैलिन सक्छ । खासगरी दिसापिसाबमा हुने कीटाणुबाट यो संक्रमण एकअर्कामा सर्ने गर्छ । टाइफाइड हुँदा उच्च ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने गर्छ ।

ज्वरो

वर्षायाममा जोर्नी दुख्ने, रुघाखोकी लाग्ने र ज्वरोले सताउने भय पनि धेरै हुन्छ । ज्वरो तीनदेखि सात दिनसम्म रहन सक्छ ।

लामखुट्टेबाट सर्ने रोग

वर्षायाममा घर वरपर सरसफाइमा कमी हुँदा लामखुट्टेको प्रकोप बढ्छ  । यसको टोकाइबाट मलेरिया, कालाजार, जापनी इन्सेफलाइटिसजस्ता रोगको प्रकोप बढ्छ । पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले पानीमा जमेर बस्ने फूलपार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ । जसले डेंगु, चिकेनगुनिया रोगका विषाणु सार्ने काम गर्छ । यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगको प्रकोप महामारीका रुपमा आउन सक्छ ।

स्क्रब टाइफस

स्क्रब टाइफस रोग मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरि घाँस भएको ठाउँमा हुन्छ । मुसाले एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना घाँसपातमा झर्छ र उक्त घाँसपातमा का गर्दा वा टेक्दा शरीरमा  टाँसिएर संक्रमितले टोक्दा सर्छ । स्क्रब टाइफस संक्रमित व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुनिनेलगायत लक्षण देखिन्छ ।

सर्पदंश

त्यस्तै कहिले पानी र कहिले चर्को घाम लाग्ने कारण खेतबारीमा काम गर्नेहरुमा सर्पदंशको जोखिम हुन्छ । यो मौसममा सर्पले टोकेर अस्पताल आउने मानिसको संख्या बढ्न सक्छ ।

(सरुवारोग विशेषज्ञ डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् ।)

डा. शेरबहादुर पुन संक्रामक रोग
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय