+

आन्द्रामा किन हुन्छ घाउ ?

२०८० असार  १ गते १७:३६ २०८० असार १ गते १७:३६
आन्द्रामा किन हुन्छ घाउ ?

आन्द्रामा घाउ धेरै कारणले हुन्छ । ग्यास्ट्रिक, आन्द्रामा संक्रमण, क्षयरोग, टाइफाइड लगायत कारणले आन्द्रामा घाउ हुन सक्छ । त्यसमध्ये पनि ग्यास्ट्रिक एक प्रमुख कारण हो । पेटबाट खाना पचाउन निस्कने एसिड बढी भएर पनि आन्द्रामा घाउ हुन सक्छ । यसले आन्द्रालाई बचाउन ‘म्युकस लियर’ बनाएको हुन्छ ।

क्यान्सरका कारण आन्द्रामा अल्सर हुँदा, घाउ भएर पनि आन्द्रामा घाउ हुन्छ । यसमा खानपान पनि जिम्मेवार हुन्छ । जाँड रक्सी, चुरोट, खैनी, चिल्लो खानेकुरा धेरै खाँदा आन्द्रामा बढी भार पर्छ र जसकारण आन्द्राको झिल्ली बिग्रिएर अल्सर गराउँछ । त्यसले आन्द्रामा घाउ हुन्छ ।

आन्द्रामा घाउ हुँदा कस्तो लक्षण देखिन्छ ?

पेट दुख्ने, पेट बटारेको जस्तो दुख्ने, वाकवाक लाग्ने, बान्ता आउनेजस्ता लक्षण देखा पर्छ । त्यस्तै के कारणले भएको हो त्यही अनुसार लक्षण देखापर्ने गर्छ । जस्तै, आन्द्रामा असर परेको छ भने रगत बान्ता गर्ने, दिसामा रगत देखिने हुन सक्छ । त्यस्तै क्यान्सरको कारण घाउ भएमा आन्द्रा खुम्चिएर दिसा नलाग्ने, पेट फुल्ने, खाना खाएपछि बान्ता हुने, दिसा कडा हुने जस्ता लक्षण देखिन्छ ।

संक्रमणको कारणले भए ज्वरो आउने, पेट दुख्ने, सानो आन्द्रामा भए पेटको बीचभागमा दुख्छ । ठूलो आन्द्रामा पेटको वरपर दुख्ने, आन्द्राको तल्लो भागमा भए दिसा आउला आउला जस्तो हुने, र्‍याल जस्तो दिसा आउने, झाडापखाला लाग्ने, दुब्लाउने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने लक्षण आन्द्रामा घाउ हुँदा देखिन्छन् ।

कसरी निको हुन्छ घाउ ?

आन्द्रामा घाउ निको बनाउन सुरुमा के कारणले भएको थाहा पाउन जरुरी हुन्छ । त्यही अनुसार जाँच गराउनुपर्छ । यदि ग्यास्ट्रिकको कारणले भएको हो भने समयमा खाने, चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने, जाँडरक्सी, चुरोटबाट टाढा रहने गर्नुपर्छ । सन्तुलित भोजन, योगा, व्यायाम, तनावरहित जीवनशैलीबाट निको पार्न सकिन्छ ।

आन्द्रामा घाउ भएमा इन्डोस्कोपी, दिसा जाँच, रगत जाँच, सिटी स्क्यान, अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ ।

आन्द्राको घाउलाई समयमा उपचार नगरेमा आन्द्रा फुट्ने, पेटमा ग्यास बढ्ने समस्या हुन्छ । यस्तो अवस्था भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । क्यान्सर भएको खण्डमा आन्द्रा निकालेर फाल्नुपर्ने समेत जोखिम हुन सक्छ ।

घाउ भएमा कस्तो खानपान त्याग्नुपर्छ ?

आन्द्रामा घाउ भएको बेला चिल्लो, अमिलो, पिरो, मासु, जंक फुड, कोल्ड ड्रिंक्स, प्याकेजिङ खानेकुरा, तारेको, भुटेको खानेकुरा, गोलभेंडा, अचार, जाँडरक्सी, चुरोटलगायत खानेकुराबाट टाढा रहनुपर्छ । त्यस्तै योबाहेक प्रोटिनयुक्त खानेकुरा बढी खानुहुँदैन । तरकारीमा अत्यधिक मरमसलाको प्रयोग त्याग्नुपर्छ ।

आन्द्रालाई स्वस्थ राख्न के गर्नुपर्छ ?

यसको उपचार भनेको जीवनशैली व्यवस्थापन हो । यसका लागि एकदम साधारण खाना खानुपर्छ जस्तै दाल भात तरकारी । यदि पाचनप्रणाली राम्रो बनाउन फाइबरयुक्त खानेकुरा खाने, फलफूल खाने, सागपात, सलाद पानी बढी पिउने बानी बसाल्नुपर्छ । अत्यधिक प्रोटिनयुक्त खानेकुराको सेवन नगर्ने, समयमा खानपान गर्ने, मरमसलाको कम प्रयोग गर्ने, व्यायाम गर्नेले आन्द्रालाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । दैनिक दिसा कस्तो छ भनेर ख्याल गर्ने गर्नुपर्छ ।

(वरिष्ठ फिजिसियन तथा नसारोग विशेषज्ञ डा. शाक्य काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली क्लिनिक र भ्याली अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आन्द्रा ग्यास्ट्रिक घाउ
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय