४ असार, काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरबाट भक्तजनहरूले चढाउने भेटी र मूल्यवान् सामान नियमित रूपमा चोरी हुने गरेको सार्वजनिक भएको छ । करिब साढे चार महिनाअघि मन्दिर परिसरबाट दानपेटिका हराएको घटना छानबिन गर्न गठन भएको टोलीले ‘मन्दिर परिसरबाट नियमित रूपमा भेटी चोरी हुने गरेको र त्यो दिन संयोगले मात्रै घटना सार्वजनिक भएको’ निष्कर्ष निकालेको छ ।
कोषका सदस्यको संयोजकत्वमा प्रहरी अधिकारी, सशस्त्र प्रहरी बल, मन्त्रालय र पुरातत्व विभागका प्रतिनिधि सम्मिलित टोलीले दिएको प्रतिवेदनमा ‘मन्दिरमा चढाइने भेटी चोर्नकै लागि सीसीटीभीको तार चुँडाउनेदेखि बत्ती मर्मत नगरी अँध्यारो बनाउने र ढोका, खापा अव्यवस्थित बनाइने गरेको’ समेत उल्लेख गरेको छ ।
२०७९ फागुनमै प्रतिवेदन बुझाए पनि पशुपतिनाथ मन्दिर परिसरबाट दानपेटिका हराएको घटनामा चोर पत्ता लाग्न सकेको छैन । पशुपति क्षेत्र विकास कोषले पनि छानबिन गरी जिम्मेवार व्यक्ति पत्ता लगाउन सकेको छैन । २४ सै घण्टा प्रहरी सुरक्षा र सीसीटीभी निगरानीमा हुने मन्दिर परिसरबाटै दानपेटिका हराएको घटना आफैंमा अस्वाभाविक थियो ।
घटनापछि कोषका सञ्चालक परिषद सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिमा कोषका निर्देशक भरत मरासिनी, गौशाला वृत्तका डीएसपी सञ्जिवबाबु खड्का, पुरातत्व अधिकृत सविताकुमारी जोशी, सशस्त्र प्रहरीका रमेश बानियाँ, प्रहरी पहरा गणका कृष्णदेवप्रसाद शाह र कोषका उप–निर्देशक सीताराम रिसेल थिए ।
‘तीन घण्टा घ्याम्पो गायब’
पशुपतिनाथ मन्दिर परिसरभित्र विभिन्न ठाउँमा राखिने दान पेटिकामध्ये पश्चिम ढोकाको घ्याम्पो हराएको थियो । १३ माघ २०७९ मा पशुपतिनाथको दैनिक आरतीपछि पश्चिम ढोकाको दानपेटिका (घ्याम्पो) फूल केलाउने कक्षमा ल्याएर सधैं झैं राखिएको थियो । त्यो दिन मन्दिरका कर्मचारीहरूले बाहिरबाट ग्रीलमा ताल्चा लगाएर घ्याम्पो छोडेका थिए ।
अर्को दिन पश्चिम ढोका अगाडि अर्को खाली घ्याम्पो पनि राखेका थिए । तर, अघिल्लो दिन भेटी संकलन भएको घ्याम्पो त्यो कोठामा थिएन । अघिल्ला दिनका घ्याम्पोहरू निकालेर गणना गर्न खोज्दा अघिल्लो दिन राखेको घ्याम्पो हराएको भेटिएको थियो ।
पशुपतिनाथ मन्दिरभित्र चढाएको पैसा भट्टहरूको आम्दानी मानिन्छ । त्यसबाहेक मन्दिर परिसरभित्र पैसा र साना सामान खसाल्न मिल्ने तर निकाल्न नमिल्ने गरी घ्याम्पो राखिएका हुन्छन्, जसको आम्दानी सोझै कोषमा जम्मा हुन्छ । पशुपतिनाथ मन्दिरको गर्भगृहका तीन वटा ढोकामा २÷२ वटा, चन्दन बाँड्ने ठाउँ, पश्चिम ढोका र फूल–प्रसाद केलाउने ठाउँमा १/१ वटा गरी ९ वटा तामाका घ्याम्पा राखिएको हुन्छ ।
पशुपति मन्दिरमा चढाएको भेटी र अरू सामान दैनिक गणना गरी सार्वजनिक अभिलेख राखी रकम बैंकमा जम्मा गर्नुपर्छ । भक्तजनले चढाएको सामान भने मूल्यांकन गरी अभिलेख राखेर उनीहरूलाई नै प्रसादको रूपमा खरिद गरेर लैजाने सुविधा समेत छ ।
घ्याम्पो राखिएको ठाउँ भित्र जाँदा अँध्यारो कोठा रहेको र अँध्यारो कोठाको एक कुनामा सफा गरिएको ठाउँमा केही सिक्का खसेको देखिएको प्रतिवेदनमा उल्लेख छ । घ्याम्पो राख्ने अँध्यारो ठाउँमा बत्ती जडान भएको तर चिम जलेर नबलेको भन्दै अध्ययन टोलीले हराएर भेटिएको ‘घ्याम्पोको पिंधमा केही नगदी भेटी रहेको’ अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार, कोषका सदस्य सचिव डा. घनश्याम खतिवडाले सीसीटीभी नचलेको बारे आफूलाई कसैले नभनेको भनेर टोलीलाई जवाफ दिएका थिए ।
‘सधैं चोरी हुन्छ’
घटनापछि पशुपति क्षेत्र विकास कोषमा खैलाबैला मच्चियो र केही घण्टामा घ्याम्पो फेला पनि पर्यो । तर त्यहाँभित्रको रकम र अरू सामान हराएको हुनसक्ने आशंकामा कोषका सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
कोषका कर्मचारी, सुरक्षाकर्मी र मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित समितिले मन्दिरबाट नियमित रूपमा भेटी चोरी हुने गरेको र त्यो दिन संयोगवश घटना सार्वजनिक भएको निष्कर्ष निकालेको छ ।
‘१४ माघ २०७९ गते के कुन कारण र अवस्थाले गर्दा मात्रै हराएको कुरा बाहिर आएको र सोही क्षेत्र भित्रबाट पुनः घ्याम्पो सोही स्थानमा प्रकट हुनु गम्भीर र आपत्तिजनक विषय हो’ पशुपति क्षेत्र विकास समिति स्रोतबाट अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा भनिएको छ– ‘घ्याम्पोहरू राख्ने, नगद पैसा गन्ने स्थान हेर्दा ज्यादै अव्यवस्थित देखिन्छ । जसबाट नाजायज फाइदा लिन खोज्नेका लागि उपयुक्त वातावरण देखिन्छ ।’
छानबिन टोलीले ‘घ्याम्पो राखिएको ठाउँबाट भित्री कोठाको निरीक्षण गर्दा बारम्बार त्यहाँ घ्याम्पो लैजाने र सकेको रकम निकाल्ने गरेको सहज अवस्था आकलन गर्न सकिने’ निष्कर्ष निकालेको छ । टोलीले भेटी संकलन, त्यसको भण्डारण र भोलिपल्ट गणना गर्ने तौरतरिका हेर्दा त्यहाँ नियमित रूपमा चोरी हुने गरेको निष्कर्ष निकालेको छ ।
एक कर्मचारीलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘पहिले पनि यस्तै गरी मन्दिर क्षेत्रकै कतैको दानपात्र हराएको सुनेको तर के कुन कारणले कसैलाई कारबाही नभएको, घटना सामसुम भएको जानकारी भएको ।’
छानबिन टोलीले त्यो दिन घ्याम्पोको संख्या यकिन गरेपछि मात्रै भेटी गणना गर्नुपर्नेमा प्रक्रिया मिचेर हेलचेक्र्याइँ गरेकाले कारबाही गर्नुपर्ने सुझाव दिएको छ । अध्ययन टोलीले प्रतिवेदनमा भनेको छ– ‘घ्याम्पो राखिएको ठाउँबाट भित्री कोठाको स्थलगत निरीक्षण गर्दा बारम्बार त्यहाँ घ्याम्पो लैजाने र सकेको रकम निकाल्ने गरेको आकलन गर्न सकिन्छ ।’
दानपेटिका हराएलगत्तै गठन भएको छानबिन समितिले दुई महाशाखा प्रमुख सहित अरू कर्मचारीहरूलाई जिम्मेवार ठह¥याए पनि अहिलेसम्म कारबाही भएको छैन । दानपेटिका हराएको घटना गोप्य राखेको कोषले अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरेको छैन ।
‘भक्तजनहरूले मनोकामना पूरा हुने आकांक्षा राखेर चढाएको दान (नगद र जिन्सी) समेत चोरी गर्नु मानवताको धर्म विपरित कुरा हो’ प्रतिवेदनमा भनिएको छ– ‘घ्याम्पो राखिएको स्थानमा सीसी क्यामेरा चालु नराखेको कारण सो स्थानको सीसी क्यामेरा हेर्न पाइएन । जसको कारण चोरीमा संलग्न व्यक्तिहरू यकिन गर्न सकिएन ।’
अर्थहीन तालाचाबी
दिनभरि पशुपतिनाथ मन्दिर परिसरभित्र विभिन्न ठाउँमा राखिने दानपेटिका बेलुकी संकलन गरी भण्डारण गरिन्छ । भण्डारण गरिएका दानपेटिका राख्ने ठाउँमा ग्रीलको ढोका र ताल्चा लगाउने गरिन्छ । तर त्यो कोठामा काठको खापायुक्त दुईवटा ढोका रहेकोमा ताल्चा र सिक्री लगाएको भागको एउटा खापा नखुल्ने तर अर्को पल्ला पूरै खुल्ने अवस्थामा रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
कोठामा ताल्चा लगाएपछि समेत अर्को पल्ला खोलेर भित्र–बाहिर गर्न सकिने अवस्था रहेको भेटिएको थियो । अध्ययन प्रतिवेदन अनुसार, ‘घटना हुनुभन्दा अगाडि घ्याम्पो राख्ने गरेको कक्षमा दुई वटा सीसीटीभी क्यामेरा जडान गरिएको थियो तर स्थलगत अवलोकन गर्दा सञ्चालनमा नआउने गरी सीसी टीभीको तार काटिएको (देखियो) ।’
त्यो दिन हराएको दानपेटिका (घ्याम्पो) हल्लाखल्ला भएको केही घण्टापछि भेटिएको थियो । दानपेटिकाको निरीक्षण गर्दा घ्याम्पोको मुखमा ताल्चा लगाएको अवस्थामा रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
तर घ्याम्पोको मुखमा लगाइएको तालाको कुनै अर्थ थिएन । किनभने त्यहाँ औंला छिराएर नगद निकाल्न सकिन्थ्यो भने घ्याम्पो घोप्टो पार्दा भित्र पिंधमा पुगेका सुन–चाँदी र अरू साना मूल्यवान सामान समेत खसाल्न सकिन्थ्यो । छानबिन प्रतिवेदनमा भनिएको छ– ‘ताल्चा लगाए पनि हातका औंला छिर्ने भागबाट घ्याम्पो घोप्ट्याउँदा तलबाट नगद र जिन्सी विस्तारै झिक्न सकिने अवस्थाका घ्याम्पोहरू छन् ।’
त्यो दिन घ्याम्पो हराएका कारण कति रकम चोरी भयो भनेर छानबिन समितिले पत्ता लगाउन सकेन । समितिले घ्याम्पो हराउने दिन र त्यसअघिको केही समयको भेटी संकलनको विवरण विश्लेषण गरेको छ । त्यतिबेला बढीमा २ लाख ९७ हजार र कम्तीमा १ लाख ५७ हजार रुपैयाँ भेटी संकलन भएको देखिन्छ । घ्याम्पो हराएको दिन २ लाख ३ हजार रुपैयाँ संकलन गरेको थियो, जुन अरू दिनको तुलनामा बढी हो ।
छानबिन प्रतिवेदनमा भनिएको छ– ‘दानपेटिकामा स्वदेशी तथा वैदेशिक नगद भेटी तथा सुन, चाँदी जस्ता जिन्सी वस्तुहरू भगवानमा समर्पण गरी चढाइने हुँदा सोको सम्बन्धमा यकिन गर्न सक्ने अवस्था नदेखिएको र हरेक दिनको भेटी गणना फरक हुने देखिएको ।’
मन्दिरमै जिम्मेवारीमा खटिएका र दानपेटिकाको निगरानी गर्नेले संकलन हुने भेटी र सामानको छनक पाउने भन्दै प्रतिवेदनमा भनिएको छ– ‘कहिले कसले के कति चढायो भन्ने कुरा घ्याम्पोमा ध्यान दिने व्यक्तिले केही मात्रामा छनक पाउने सम्भावना रहन्छ ।’ कोषले कर्मचारी, सहयोगी, ढोकापाले, नाइके, प्रहरी अधिकारी लगायतसँग यसबारेमा सोधपुछ गरेको थियो ।
‘हराउनु संयोग हैन, बदनियत’
अध्ययन टोलीको संयोजक रहेका देवीप्रसाद बरालले पशुपति क्षेत्र विकास कोषको संस्कृति संरक्षण महाशाखा प्रमुख र मन्दिर व्यवस्थापनसँग सम्बन्धित कर्मचारीहरूको लापरबाहीले चोरी भएको र प्रतिवेदनमा त्यो विषय समावेश भएको बताए ।
छानबिन टोलीले प्रतिवेदनमा भनेको छ– ‘मन्दिर परिसर र भित्री क्षेत्रमा लाखौं लाख खर्च गर्न संस्कृति संरक्षण महाशाखा र व्यवस्थापनले दानपात्र राखिएको स्थानमा सीसीटीभी र बत्तीको उचित व्यवस्था नगर्नु बदनियतपूर्ण छैन भन्न सक्ने आधार पाइँदैन ।’
छानबिन टोलीले कोषका निमित्त उपनिर्देशक एवं संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीलाई घटनामा जिम्मेवार ठह¥याएको छ । समग्र मन्दिर प्राङ्गण र कोर क्षेत्रको अवस्था हेर्दा उनले व्यवस्थापनबाट दिइएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह नगरेको भन्दै छानबिन टोलीले उनीमा ‘उच्च नैतिकता र इमानदारी नदेखिएको’ निष्कर्ष निकालेको छ । समितिले कोषका सुरक्षागार्ड प्रमुख भीमबहादुर बुढाथोकीले पनि ‘लापरबाही गरेको’ निष्कर्ष छ ।
छानबिनमा असहयोग गरेको र छानबिन टोलीको वैधतामा नै प्रश्न गरेको भन्दै टोलीले उनलाई जिम्मेवारीबाट हटाउन र अन्यत्र सार्न सिफारिस गरेको छ । मानव संसाधन महाशाखा निमित्त प्रमुख रेवतीरमण अधिकारीले समग्रमा कोषको प्रशासन चुस्तदुरुस्त राख्नुपर्नेमा त्यो काम नगरेको भन्दै उनलाई ‘नसिहत दिन’ सिफारिस गरेको छ ।
विशेट नाइके (मन्दिरको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पाएको पद) अरुणकुमार श्रेष्ठमाथि कारबाही गर्न सिफारिस गरिएको छ । सूचना प्रविधिका सहायक आशिष गिरीले आफ्नो नियुक्ति पत्रमा तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै सेवाबाट हटाउन सिफारिस गरिएको छ । उनलाई सीसीटीभी चुस्तदुरुस्त अवस्थामा नराखेकोमा जिम्मेवार ठहर्याइएको हो ।
‘सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु’
अध्ययन टोलीले पशुपतिनाथ मन्दिर परिसरमा एउटै सुरक्षाकर्मीलाई लामो समय जिम्मेवारीमा नराख्न सुझाव दिएको छ । उसले ६-६ महिनामा उनीहरूलाई अनिवार्य सरुवा गर्नुपर्ने भन्दै त्यसरी सरुवा हुनेलाई कम्तीमा पनि ३ वर्ष फेरि मन्दिरमा नल्याउन सिफारिस गरिएको छ ।
मन्दिरको भित्री क्षेत्रमा जाने पालोवाला भण्डारी, विशेट लगायतहरूलाई झोला भित्रसम्म लैजान दिन नहुने भन्दै टोलीले उनीहरू भित्र जानु र निस्कनुअघि अनिवार्य चेक–जाँचको व्यवस्था गर्न सुझाव दिइएको छ । मन्दिरमा चढाएको पैसा उनीहरूले निकाल्न नपाउने सुनिश्चितता गर्न भनेको छ ।
अहिले अस्तव्यस्त भएको र नियमित रूपमा सञ्चालन हुन नसकेको सीसीटीभीलाई चुस्तदुरुस्त बनाउनुपर्ने भन्दै समितिले मन्दिरको गर्भगृह बाहेक मूलभट्टको निवास बाहिर र अन्यत्र समेत सीसीटीभी राख्न सुझाव दिएको छ । अनि मन्दिर परिसर वरपरका अन्यत्र भेटी संकलन हुने ठाउँमा पनि दानपेटिका राखेर कोषमा आम्दानी हुने व्यवस्था मिलाउन सुझाव दिएको छ ।
प्रतिक्रिया 4