+
+

चीनसँग संवादको भोलिपल्टै बाइडेनको टिप्पणी : सी तानाशाही हुन्

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:५७

एजेन्सी । अमेरिका र चीनबीच उच्च तहको वार्ताको भोलिपल्टै राष्ट्रपति जो बाइडेनले आफ्ना समकक्षी सी जिनपिङलाई तानाशाह भनेका छन् । क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले सीलाई तानाशाह भनेका हुन् ।

अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति कडा टिप्पणी गरेका हुन् । अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको टिप्पणी थियो । ‘अमेरिकाले जासुसी बेलुन खसाल्दा सी निकै तनावमा पुगे । आफ्नो षड्यन्त्र विफल हुनुभनेको  कुनैपनि तनाशाहका लागि लज्जाको क्षण हो’, बाइडेनले भनेका छन् ।

गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन पठाएको थियो । मौसमी अवस्था बुझ्न बेलुन पठाएको चीनले दाबी गर्दै आएको छ । तर अमेरिकाले जासुसीको उद्देश्यले चीनले बेलुन पठाएको बताउँदै आएको छ ।

बाइडेनको पछिल्लो भनाइप्रति बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन । वासिङ्टनले विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई पठाएर चिसिएको समबन्ध सुधारको पहल गरेको भोलिपल्टै बाइडेनको टिप्पणी आएको हो ।

५ वर्षयता चीनमा अमेरिकी उच्च अधिकारी नपुगेको अवस्थामा ब्लिंकेनले सम्बन्ध सुधारको प्रयास गरेका थिए । उनले समकक्षी क्वीन गाङ तथा राष्ट्रपति सीसँगै भेट गरेर स्थिर सम्बन्धको वातावरण बनाउन पहल गरेका थिए ।

६१ वर्षीय कुटनीतिज्ञ ब्लिंकेनको प्रयत्नलाई बाइडेनले उच्च प्रशंसा गरेको भोलिपल्टै उनले आफ्ना समकक्षी सीबारे नकारात्मक टिप्पणी गरेका छन् । चीन र अमेरिकाले उच्च तहमा वार्ता गरेपछि  दुई मुलुकको सम्बन्धमा सुधार आउने  अपेक्षा गरेकाहरूलाई बाइडेनको पछिल्लो प्रतिक्रियाले निराश बनाएको छ । उच्च तहको भेटवार्तापछि प्यासिफिक क्षेत्रका राष्ट्रसँगै अष्ट्रेलियादेखि दक्षिणपूर्वी एशियाली राष्ट्रहरु निकै आशावादी देखिएका थिए ।

‘अमेरिका र चीनको दुश्मनीकाबीच सबै बाँचिरहेका छन् तर कसैले पनि यो दुश्मनी चाहेका भने छैनन् । उच्च तहको वार्ताले आशा जगाएपनि सम्बन्ध सुधारमा अब संकेत देखिएन’, दक्षिण कोरियाको सोलस्थित योन्से विश्वविद्यालयका प्राध्यापक जोन डेर्ली भन्छन् ।

अमेरिका र चीनको दुश्मनीलाई लिएर युरेसिया ग्रुप फाउन्डेसनले एक अध्ययन गरेको थियो । जसमा दक्षिण कोरिया, फिलिपिन्स र सिंगापुरबाट ९० प्रतिशत सहभागी थिए । उनीहरूले अमेरिका र चीनबीचको तनावले निम्त्याउन सक्ने मुठभेडबारे आफूहरू निकै चिन्तित रहेको र यसले आफ्नो मुलुकलाई समेत असर पुर्‍याएको बताएका छन् । ‘अमेरिका र चीनबीचको दुश्मनी मुठभेडतर्फ नजाओस् भन्ने चाहना धेरैको छ । आक्रोशित आरोप-प्रत्यारोप र तनाव नघटाउने हो भने यसले निश्चय पनि दुर्घटना निम्त्याउने भन्दै अन्य मुलुकहरू चिन्तित छन्’, बोनी ग्लयासर भन्छन् । बोनी जर्मन मार्सल फण्डका निर्देशक हुन् ।

दुई मुलुकबीचको दुश्मनी वा प्रतिस्पर्धा राजनीतिक र व्यापारिक स्वार्थभन्दा पर गएको छ । विश्व व्यापार वा सेमिकन्डकरबाट पर उनीहरूको लडाइँ आफ्नो  सुरक्षाका लागि भएको देखिन्छ ।

दक्षिण कोरिया र जापान दशकदेखि अमेरिकाको सहयोगी रहेका छन् । इतिहासका केही विषयले दक्षिण कोरिया र जापानबीचको  सम्बन्ध राम्रो छैन । तर यी दुबै मुलुकलाई उत्तर कोरियाबाट खतरा छ । बेइजिङको उत्तर कोरियासँग साँठगाँठ रहेको भन्दै उनीहरूले अझ खतरा महसुस गरिरहेका छन् ।

यता फिलिपिन्सले पनि अमेरिकी सैन्य अड्डा थपका लागि स्वीकृति दिएको छ । टोकियोले पनि मनिलालाई सैन्य सहयोग गरिरहेको छ । दोस्रो विश्वयुद्धपछिकै पहिलो पटक जापानी सैन्य संयन्त्र पहिलोपटक फिलिपिन्सको तटमा देखापरेका छन् ।

दुई मुलुकको तनावका तरंग प्रशान्त क्षेत्रका टापुसम्म पुगेका छन् । बेइजिङले  सोलोमन आइसल्याण्डसँग रणनीतिको सम्झौता गरेको दुई महिनामै वासिंटनले पनि पपुवा न्युगीनीसँग सैन्य तथा रणनीतिक सम्झौता गरेको छ ।  अमेरिकी सहयोगी राष्ट्रहरूले समेत तनाव साम्य हुनुपर्ने चाहना राखेका छन् । वासिंटनले पनि त्यसलाई आवश्यकता मध्यनजर गर्दै ५ वर्षपछि उच्च तहको वार्ता गरेर स्थिर सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति गरेर फर्किएको भोलिपल्टै बाइडेनले चीनलाई चिढ्याउने अभिव्यक्ति दिए ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा होमिएका बाइडेनले तत्कालै चीनसँग सहमतिको विन्दुमा पुगे चुनावमा आफूलाई घाटा हुनसक्ने आकलन गरेको विश्लेषण भइरहेको छ । ब्लिंकेनलाई चीन पठाएसँगै बाइडेनका प्रतिस्पर्धी र प्रतिपक्षी रिपब्लिकनले चीनप्रति उनी निकै नरम रहेको आरोप लगाएर मौखिक आक्रमणमा उत्रिए । आफ्नो आलोचना बढ्दै जान थालेपछि बाइडेनले सीलाई फेरि तनाशाही भनिदिए । बाइडेनको अभिव्यक्तिप्रति चीनले अझै केही प्रतिक्रिया भने जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?