+

मधुमेह भएकाले कुन-कुन फलफूल खान हुन्छ ?

२०८० असार  १३ गते १३:४२ २०८० असार १३ गते १३:४२
मधुमेह भएकाले कुन-कुन फलफूल खान हुन्छ ?

मधुमेहका बिरामीले धेरै खानेकुरा बार्नुपर्छ भनेको निकै सुनिन्छ । मधुमेह भएकाले यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन भनेको धेरै सुनिन्छ । तर के मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरा खानै हुँदैन त ? त्यसो भए मधुमेह भएका बिरामीले कुन-कुन फलफूल खानुपर्छ त ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्व) भएको फलफूल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ । त्यसैले मधुमेहका बिरामीले सकेसम्म चिनीको मात्रा कम भएको फलफूल जस्तै स्याउ, किबी, अम्बा, नास्पाती, सुन्तला, एभोकाडो लगायत चिनीको मात्रा कम भएका फलफूल खान सकिन्छ । तर सुगरको मात्रा ह्वात्तै बढाउने भएकाले फलफूलको जुस भने नखानु उत्तम हुन्छ ।

चिनीको मात्रा बढी हुने फलफूल

आँप, केरा, अंगुरमा अत्यधिक चिनीको मात्रा हुन्छ अर्थात् यी फलफूलमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ । त्यसैले यी फलफूल दिउँसो खाजाको रुपमा खानु राम्रो हुन्छ ।

प्राकृतिक चिनीले पनि असर गर्छ र ?

चिनीको मात्रा बढी भएको फलफूलमा फ्रक्टोज भन्ने तत्व हुन्छ । जुन ग्लुकोजमा रुपान्तरण हुँदा शरीरमा सुगरको लेभल बढ्छ । त्यसैले प्राकृतिक चिनी भनेर अत्यधिक मात्रामा सेवन गर्नुहुँदैन । यसले नकारात्मक असर गर्छ ।

मधुमेहको बिरामीले खानै नहुने फलफूल कुन ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान हुन्छ । यो खान हुँदैन, त्यो खान मिल्दैन भनेर तोकिएको छैन । तर एकैचोटि धेरै मात्रामा नखाई सन्तुलन मिलाएर खानुपर्छ । मधुमेहको बिरामीले जुनसुकै फलफूल दिनमा एउटा खानु राम्रो हुन्छ ।

सबैखाले फलफूलमा फाइबर, क्याल्सियम, पोटासियम, भिटामिन, मिनरल्स, प्रोटिनजस्ता  पोषक तत्व पाइने हुनाले मधुमेह रोगीलाई सबै फलफूल लाभदायक नै हुन्छ ।

(थाइराइड तथा मधुमेहरोग विशेषज्ञ डा. भट्टराई काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

फलफूल मधुमेह
लेखक
डा. विनय भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय