+
+
इथिकल कमिटी संयोजक डा. कालुसिंह खत्रीसँग अन्तर्वार्ता :

‘क्लिनिकमा जथाभावी उपचार पद्धति अपनाउनु र झाँक्रीको काम उस्तै हो’

‘क्लिनिक खोलेर अनेक किसिमको उपचार पद्धति अपनाउनु र झाँक्री सेवा सञ्चालन गर्नु लगभग उस्तै काम हुन् । मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले नियम विपरीतको पद्धति अपनाएको भेटिए कारबाही हुन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो विज्ञता भन्दा बाहिरको सल्लाह दिन मिल्दैन ।’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार १३ गते १५:३५

काठमाडौं । हामीकहाँ असंख्य क्लिनिक छन्, जहाँ छिटो-छरितो उपचारका लागि सर्वसाधारण पुग्ने गर्छन् । तर त्यहाँ गरिने उपचार विधि के हो, त्यो कति वैज्ञानिक अनि विधिसम्मत छ भनेर प्रश्न गर्ने अभ्यास छैन । यसैको कारण चिकित्सा क्षेत्र पनि विकृतिमुक्त छैन । कहिले नक्कली चिकित्सकको बिगबिगी त कहिले उपचारका नाममा गरिने अनेकथरी प्रयोगले सेवाग्राहीलाई रनभुल्ल पारेको छ ।

मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा किन यस्तो लापरबाही छ ? चिकित्सक, चिकित्सा सेवाको प्रभावकारिता र विश्वसनीयतामाथि किन पटक-पटक प्रश्न उठाइन्छ ? यसै सेरोफेरोमा नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्रीसँग गरिएको कुराकानी :

क्लिनिक खोल्न कहाँबाट अनुमति लिने ? त्यसका आवश्यक पूर्वाधार र शर्त के के हुन् ?

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालन निर्देशिका २०७७ मा कस्तो क्लिनिक कहाँ दर्ता हुने भन्ने उल्लेख गरेको छ ।

पहिला अस्पताल सञ्चालन केन्द्रीय संरचना अन्तर्गत थियो । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग र मन्त्रालय आफैंले मात्रै अस्पताल खोल्न अनुमति दिन्थ्यो । क्लिनिकहरूको हकमा भने जिल्ला जनस्वास्थ्य कार्यालयले अनुमति दिन्थ्यो ।

संघीयताको मोडलमा गएपछि यो परिवर्तन भएर २५ शय्यासम्मको अस्पताल स्थानीय सरकारले, २०० शय्यासम्म प्रदेश सरकार र त्यसभन्दा माथिका अस्पताल संघीय सरकारले दर्ता अनुमति दिने गर्छ । क्लिनिकहरूका हकमा स्थानीय सरकारको स्वास्थ्य विभागबाट दर्ता अनुमति लिनुपर्ने हुन्छ ।

भन्नुको अर्थ; काठमाडौं महानगरमा क्लिनिक वा २५ शय्यासम्मको अस्पताल खोल्नुपर्‍यो भने महानगरको स्वास्थ्य विभागमा दर्ता हुनुपर्छ ।

क्लिनिकमा सामान्यतया कस्तो योग्यताका चिकित्सक हुनुपर्छ ?

मेडिकल काउन्सिलमा दर्ता भएको एमबीबीएस, बीडीएस, एमडी वा सो सरहका कुनै पनि चिकित्सकले क्लिनिक खोल्न पाउँछन् । बाँकी सेवा शर्त भने नेपाल सरकारले भने बमोजिम हुनुपर्छ ।

यदि चिकित्सकले सामान्य चेक-जाँच मात्रै गर्ने हो भने कम्पनी खोल्नुपर्दैन । किनभने सबै व्यावसायिक चिकित्सकले व्यक्तिगत प्यान लिनुपर्ने हुन्छ । त्यो लिएपछि कर त्यसैबाट काटिन्छ त्यसैले एउटा चिकित्सक आफैंमा सानो क्लिनिक तथा अस्पताल नै हो । किनकि चिकित्सक स्वयंले नै बिरामी हेर्ने र औषधि दिने हो । तर, चिकित्सकले क्लिनिक दर्ता नगरी ल्याब तथा फार्मेसी सञ्चालन गर्न भने पाउँदैनन् ।

क्लिनिकमा दक्ष वा योग्य चिकित्सक छ वा छैन भनेर अनुगमन हुन्छ ?

क्लिनिकमा दक्ष वा योग्य चिकित्सक छ÷छैन भनेर अनुगमन हुन्छ । त्यो अनुगमन गर्ने जिम्मेवारी नेपाल मेडिकल काउन्सिलको हो ।

यदि कुनै बिरामीलाई गलत उपचार गरिएको छ अथवा गलत परामर्श पाइरहेको छ भने त्यसमा कसले जिम्मेवारी लिनुपर्छ ?

नेपालमा स्वास्थ्य क्षेत्रमा गैर-चिकित्सकले राज नै गरेका छन् । जसले पनि म चिकित्सक हुँ, ठूलो डाक्टर हुँ भन्दै उपचार गर्छन् । चिकित्सक हो वा हैन भनेर नियन्त्रण र अनुगमन छैन । त्यसका बावजुद कुनै पनि बिरामीले गलत उपचार र गलत परामर्श पाइरहेको छ भने त्यसलाई अनुगमन र नियन्त्रण गर्ने काम मेडिकल काउन्सिलको हो । उसले यो काम गरिरहेको छ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको हकमा तिनको प्रत्यक्ष निगरानी, नियन्त्रण काउन्सिलले गर्छ । मेडिकल काउन्सिलमा दर्ता नभएका अन्य काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको हकमा भने हामीलाई नियन्त्रण गर्न अप्ठेरो परिरहेको छ ।

काउन्सिलको मुख्य काम आम मानिसको स्वास्थ्य गुणस्तर र स्वास्थ्य सेवा सुनिश्चित गर्न नियमन गर्ने हो ।

मेडिकल काउन्सिलमा कुनै पनि बिरामीले क्लिनिक विरुद्ध उजुरी नगरेसम्म त्यस उपर कुनै छानबिन र कारबाही हुँदैन ?

कुनै क्लिनिक वा चिकित्सकले बिरामीको स्वास्थ्य माथि खेलबाड गरेको अवस्थामा बिरामीले उजुरी नगरे पनि काउन्सिल आफैंले निगरानी गरेर उसमाथि कारबाही गर्छ । तर, मेडिकल काउन्सिलका पनि कतिपय सीमा छन् । यो काठमाडौंमा मात्रै बढी केन्द्रित छ, त्यसैले कतिपय जानकारी पाउन गाह्रो हुन्छ । त्यसैले उजुरी आएपछि त्यसलाई आधार बनाएर छानबिन र कारबाही गर्न सजिलो हुन्छ ।

उजुरी नआएको अवस्थामा पनि विभिन्न स्रोतबाट आएका समाचारको आधारमा निगरानी र कारबाही भएको छ । अनुसन्धानमा जानुअघि केही प्रमाण भयो भने निगरानी र कारबाही गर्न सहयोग पुग्छ ।

प्रत्यक्ष उजुरी दिन सहज नहुँदा मेल मार्फत पनि काउन्सिलमा उजुरी गर्न सकिन्छ । उजुरी दिंदा प्रमाण सहित भयो भने छानबिन गर्न सजिलो हुन्छ ।

लापरबाही वा त्रुटि कुन स्तरको हो ? जानाजाना भएको छ कि अन्जानमा ? आफूले नपढेको विषयमा काम गरेको छ कि अथवा स्रोत साधन विना नै उपचार गरेको छ ? यस्ता विषयलाई अध्ययन गरेर मात्रै निक्र्योलमा पुगिन्छ ।

नेपालका कतिपय स्थानमा उचित स्रोत-साधनको अभाव छ, कतिपय अवस्थामा जनशक्ति अभाव छ । यी सबैको बीचमा तत्कालीन अवस्थामा बिरामीले पाएको सेवा-सुविधा प्रचलित र उपलब्ध स्रोत-साधन अनुसार उपयुक्त थियो कि थिएन भन्ने हेरिन्छ । उपयुक्त थियो भने कारबाही हुँदैन । तर, उपयुक्त थिएन भने कारबाही हुन्छ । कारबाही हुँदा लाइसेन्स नै खारेज भएका उदाहरण पनि छन् ।

गाडी चलाउने मान्छेसँग चालक अनुमति पत्र छ कि छैन, गाडी वैधानिक हो होइन भनेर नियमित निगरानी हुन्छ । तर क्लिनिकहरूमा त्यस्तो निगरानी भएको पाइँदैन नि किन ?

चिकित्सक तथा उसले खोलेको क्लिनिकहरू वैधानिक हुन्÷हैनन् भनेर निगरानी गर्ने काम काउन्सिलले गरिनै रहेको छ । यसलाई थप प्रभावकारी बढाउन काउन्सिल निरन्तर सक्रिय छ ।

कुनै छाला सम्बन्धी डाक्टरले केही गल्ती गर्नुभयो भने छाला सम्बन्धी विशेषज्ञको टिम नै बनाएर त्यो केसबारे अध्ययन र  छलफल गरिन्छ अनि मात्र कारबाही गर्ने नगर्ने निर्णय हुन्छ । मुख्य कुरा बिरामी आफैं सचेत हुन जरूरी छ । बिरामीलाई चिकित्सकसँग प्रश्न गर्ने अधिकार छ । प्रश्न गर्ने बानी बसाल्नुपर्छ ।

कुनै क्लिनिकमा जानु हुन्छ वा कुनै चिकित्सकबाट उपचार गराउँदै हुनुहुन्छ भने चिकित्सकको दर्ता केमा हो, विज्ञता के हो भनेर प्रश्न गर्नुहोस् । यसमा शङ्का लाग्छ भने नेपाल मेडिकल काउन्सिलमा दर्ता हो कि होइन भनेर जाँच गर्नुहोस् । विज्ञतामा शङ्का लाग्यो भने काउन्सिलमा उजुरी गर्नुहोस् ।

एउटा विधाको चिकित्सकले अर्कै विधाको काम गर्न पाउँछन् ?

विषय विज्ञता अनुसार चिकित्सकले यो गर्न पाउने यो गर्न नपाउने भनेर प्रष्ट छुट्याइएको छैन । काउन्सिलले यसलाई छुट्याउनुपर्छ भनेर विभिन्न सरोकारवालाहरूसँग छलफल भइरहेको छ । तर, चिकित्सकको नैतिक दायित्व पनि हुन्छ । संसारमा सबैभन्दा बढी नैतिकता पालना गर्नुपर्ने भनेको चिकित्सा पेशा हो । किनकि कुनै व्यक्तिले आफ्नो जीवनको लागि उसलाई विश्वास गरेको हुन्छ । त्यसैले आफूले जे पढेको हो, जुन विषयको विज्ञ हो त्यही विषयमा काम गर्नुपर्छ ।

मैले ‘इन्टरनल मेडिसिन’ पढेर स्त्री तथा प्रसूति रोगको उपचार गर्न मिल्दैन । यस्ता धेरै केसलाई हामीले कानुनी दायरामा ल्याउन सकेका छैनौं तर, ल्याउनु जरूरी छ  । हामी प्रयासरत छौं ।

एमबीबीएस गरेका चिकित्सकले क्लिनिक खोलेर कुनै पनि उपचार गर्न पाउँछन् ?

सामान्यतः एमबीबीएस गरेका चिकित्सकले क्लिनिक खोलेर कुनै पनि उपचार सेवा दिन पाउँछ । तर, उसले आफूलाई एमबीबीएस चिकित्सककै रूपमा चिनाउनुपर्छ, विषय विज्ञको रूपमा चिनाउन पाइँदैन ।

जस्तो कि- एउटा बिरामीले म एमबीबीएस गरेको डाक्टरको हातबाटै न्युरो सर्जरी गराउँछु भन्छ भने बिरामीलाई त्यो अधिकार रहन्छ । तर, चिकित्सकले एमबीबीएस पास भएको भरमा म न्युरोसर्जन हो भनेर झुक्याउन पाउनुहुन्न उहाँलाई कारबाही हुन्छ । आफ्नो विज्ञता जे हो त्यो जानकारी दिएपछि बिरामीले हुन्छ म तपाईंमा विश्वास गर्छु भनेको खण्डमा चिकित्सकले सेवा दिन पाउँछ ।

चिकित्सा सेवा प्रभावकारी र स्तरीय छ भनेर सर्वसाधारणले कसरी विश्वास गर्ने ?

हो, त्यसैले चिकित्सा सेवा प्रभावकारी वा स्तरीय छ कि छैन भनेर सर्वसाधारण पनि सचेत हुन जरूरी छ । त्यसैले बिरामीले प्रश्न गर्ने बानी बसाल्नै पर्छ । यदि कुनै चिकित्सक वा अस्पतालले प्रश्नको जवाफ दिएनन् भने तिनलाई कारबाही हुने प्रतिबद्धता मेडिकल काउन्सिलले जनाउँछ ।

कुनै पनि चिकित्सकले क्लिनिकसँग सम्बन्धित रहेर क्याफे, रेस्टुरेन्ट चलाउन मिल्छ कि मिल्दैन ?

चिकित्सकले सिफारिस गर्ने औषधि इच्छा लाग्छ भने आफ्नो क्लिनिकमा राखेर बेच्न पाउँछन् । तर, त्यसबाहेक अरूले सिफारिस गरेको औषधि समेत बेच्न पाइँदैन । त्यसबाहेक खाद्य पदार्थ, कपडा क्लिनिकसँग सम्बन्धित गरेर बेच्न पाउँदैनन् । छुट्टै व्यवसायको रूपमा दर्ता गर्नुपर्छ । स्वास्थ्य पेशासँग जोडेर त्यसो गर्न पाइँदैन ।

चिकित्सा सेवा दिएबापत अधिकतम कति शुल्क लिने भनेर कुनै मापदण्ड छ वा छैन ?

अधिकतम कति शुल्क लिने भनेर मापदण्ड त छ तर मेडिकल काउन्सिलले तोक्ने होइन । शुल्क सम्बन्धी सम्पूर्ण मापदण्ड स्वास्थ्य मन्त्रालयले तोक्ने हो र त्यो तोकिएको पनि छ । एमबीबीएस डाक्टरले कति लिने, एमडी डाक्टरले कति लिने प्रष्ट खुलाइएको छ ।

जनही १० हजार रुपैयाँ लिएर एक घण्टा सामूहिक परामर्श दिने गरेको पनि भेटियो । के यसो गर्न पाइन्छ ? 

यस्तो गर्ने छुट छैन । स्वास्थ्य मन्त्रालयले जति तोकेको छ त्यही अनुसार शुल्क लिनुपर्छ, त्योभन्दा बढी लिन पाइँदैन । लिएको भए यो ठगी हो र यसमा ठगी मुद्दामा कारबाही हुन्छ ।

उपचारका विभिन्न पद्धति प्रचलनमा छन् । यी पद्धतिहरू कति वैज्ञानिक, प्रभावकारी र उपयोगी छन् भनेर सोधखोज गर्ने कुनै निकाय छ वा छैन ?

शोध-खोज गर्ने निकाय नेपाल मेडिकल काउन्सिल हो । जुन विषयमा उजुरी परेको छ त्यही विषयको विज्ञ भेला गरेर हामी छानबिन गर्छौं ।

क्लिनिक खोलेर अनेक किसिमको उपचार पद्धति अपनाउनु नियम विपरीत भएन र ?

यस्तो गर्नु र झाँक्री सेवा सञ्चालन गरेर उपचार गर्नु लगभग उस्तै काम हुन् । त्यसैले मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले नियम विपरीतको पद्धति अपनाएको भेटिए कारबाही हुन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो विज्ञता भन्दा बाहिरको कुरामा सल्लाह दिन मिल्दैन ।

हाम्रो चिकित्सा सेवा किन प्रयोगको थलो जस्तो भइरहेको छ ! मान्छेको शरीरलाई नै प्रयोगशाला बनाइरहँदा त्यसमाथि सोधी-खोजी गर्ने जिम्मेवारी कसको हो ?

यदि स्थापित पद्धति भन्दा बाहिर गएर उपचार गर्ने हो भने नेपाल हेल्थ रिसर्च काउन्सिलबाट त्यसको पूर्व जानकारी र स्वीकृति लिएर अनि बिरामीलाई सम्पूर्ण जानकारी गराएर मात्रै गर्नुपर्छ । स्थापित पद्धतिबाट नै गर्नुपर्छ । उपचार पद्धति धेरै छन्, त्यसमध्ये एउटा रोज्दा किन अर्को नरोजेको भन्ने कुराको पनि वैज्ञानिक आधार दिनुपर्छ । त्यस्तो भएन भने कारबाही हुन्छ ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?