+
+
सहकारी संकट-४ :

छोराछोरी पढाउँला भनेर जम्मा गरेको पैसा सहकारीले खाइदियो

कार्यालयमा ताल्चा मारेर सञ्चालक भागे

सागर चन्द सागर चन्द
२०८० असार १४ गते १९:३८

१४ असार, काठमाडौं । ‘सहकारीमा जम्मा गरेको पैसा निकालेर बच्चालाई स्कुल भर्ना गर्ने,’ हरेक पटक सहकारीमा पैसा जम्मा गर्दा यस्तै कल्पना गर्थिन् सन्ध्या शर्मा ।

बच्चालाई स्कुल भर्ना गर्न कसैसँग हात फैलाउन नपरोस् भनेरै शर्मा श्रीमान्लाई थाहै नदिकन ३ वर्षदेखि सहकारीमा पैसा जम्मा गरिरहेकी थिइन् ।

काठमाडौंको पेप्सिकोला बस्ने शर्माका श्रीमान् साझा यातायातको बस चलाउँछन् । हरेक दिन काममा जानु अगाडि खाजा खानु भन्दै शर्माका श्रीमान्ले कहिले सय रुपैयाँ त कहिले दुई सय रुपैयाँ छाडेर जान्थे । शर्माले त्यही पैसा सहकारीमा जम्मा गर्ने गरेकी थिइन् । ‘श्रीमान्ले खाजा खानु भनेर दिएको पैसा जम्मा गरेकी थिएँ,’ उनले सुनाइन् ।

खाजाको खुराक कटौती गर्दै शर्माले सहकारीमा पैसा जम्मा गरिन् । मिठो मसिनो खान त उनलाई पनि मन थियो ।

सन्तानका लागि भनेर आफ्नो रहर मार्दै सहकारीमा सय/पचास रुपैयाँ जम्मा गरिरहिन् ।

कोठा नजिकैको किराना पसलमार्फत् चिनजान भएपछि पेप्सीकोलास्थित शर्माको डेरामै आएर आइपुग्थे प्रस्परस बचत तथा ऋण सहकारी संस्था सहकारीका कर्मचारी ।

राजधानीको कोटेश्वरमा मुख्यालय रहेको प्रस्परस बचत तथा ऋण सहकारी संस्थाको सामाखुसी र जोरपाटीमा पनि शाखा छ ।

शर्माको काखमा यतिखेर डेढ वर्षको छोरा छ । छोरालाई स्कुल भर्ना गर्दा कसैसँग गुहार माग्न नपरोस् भनेरै उनले गर्भवती हुँदा पनि खाजा नखाइकन सहकारीमा पैसा जम्मा गरिन् । ‘यसैलाई स्कुल पढाउँला भनेर पैसा जम्मा गरेकी थिएँ,’ छोरालाई सुमसुम्याउँदै उनी भन्छिन् ।

छोरालाई स्कुल भर्ना गर्न भनेर उनले खाइ-नखाइ एक लाख २० हजार रुपैयाँ सहकारीमा जम्मा गरिन् । तर, गत वैशाखमा उनले पैसा जम्मा गर्दै आएको सहकारीका कर्मचारी उनको डेरामा आउ छाडे । पैसा संकलन गर्न कर्मचारी आउन छाडेपछि उनले सोधखोज गरिन् र सहकारीको कार्यालय भएको कोटेश्वर पुगिन् । ‘कोटेश्वर अफिसमा पुग्दा त ताल्चा लागेको थियो,’ आफूले पैसा जम्मा गरेको सहकारीको ढोकामा ताल्चा देखेपछि शर्माको होसोहवास उड्यो ।

‘पैसा फिर्ता पाउन कहाँ जाने ? के गर्ने ?’ उनले सोच्नै सकिनन् । ‘कति दिनसम्म त खाना खान पनि मन लागेन,’ उनी सुनाउँछिन्, ‘निन्द्रा पनि लागेन ।’ त्यसो त अहिले पनि उनलाई निन्द्रा त कहाँ लाग्छ र !

सहकारी पीडितहरु माइतिघरमा जम्मा भएको थाहा पाएपछि उनी पनि डेढ वर्षको छोरा बोकेर माइतिघर आउन थालिन् । शर्मा माइतिघर आउन थालेको २ हप्ता पुग्यो ।

माइतिघरको सडकमा आफू जस्तै अरु पनि पीडित भेटेपछि उनलाई आफ्नो पीडा सहन थोरै भए पनि सजिलो भएको छ ।उनीसँग पैसा गुमेको पीडा र सहकारीप्रति आक्रोश मात्र छ ।

प्रस्परस बचत तथा ऋण सहकारी संस्थामै पैसा जम्मा गर्थिन् रीता भट्टराई । कोटेश्वरमा भट्टराईको सानो कपडा पसल छ । ‘पसलमै पैसा लिन आउँथे । चाहिएको बेला पसलमै पैसा ल्याएर दिन्थे,’ भट्टराई सुनाउँछिन् ।

घर भाडा र पेन्सनको गरेर उनले सहकारीमा २० लाख रुपैयाँ जम्मा गरेका थिए । ‘यतिका वर्ष जम्मा गरेको त्यति ठूलो पैसा अब मैले कहाँबाट पाउनु ?,’ ७३ वर्षीय गौरीलाल चिन्ता गर्छन, ‘त्यही पैसा सम्झेर निन्द्रा लाग्दैन ।’

पाँच वर्षदेखि भट्टराई प्रस्परसमा पैसा जम्मा गरिरहेकी थिइन् । ‘छोराले विज्ञान पढ्छु भनेको हुनाले सहकारीमा पैसा जम्मा गरें,’ उनले भनिन् ।

भट्टराईको बचत तीन लाख भइसकेको थियो । आवधिक बचत खातामा पैसा जम्मा गरिरहेकी उनी सुनाउँछिन्, ‘१२ वैशाखमा पैसा संकलन गर्न आएनन् । उनीहरुले कार्यविधि सहकारीसँग मर्ज हुन लागेको कुरा सुनाए ।’

केही दिनपछि कार्यविधि सहकारीसँग बुझ्दा, ‘प्रस्परसले कर चुक्ता गरेको रहेनछ, मर्ज भएन भन्यो,’ उनी सुनाउँछिन् । त्यसपछि उनी पनि शर्मा जस्तै प्रस्परसको कार्यालय पुगिन् । कार्यालयमा ताल्चा लागेको थियो ।

सहकारी डुबिरहेको समाचार आइरहँदा आफूले पैसा जम्मा गरेको सहकारीको ढोकामा ताल्चा लागेको देखेपछि उनी कोटेश्वर प्रहरी कार्यालय पुगिन् । प्रहरीले वडा कार्यालय पठायो । वडा कार्यालयको रोहबरमा प्रस्परस सहकारीका सञ्चालक दीपेन्द्र श्रेष्ठले चेक दिने प्रतिबद्धता गरे ।

‘चेक दिन्छु भनेको मान्छे त त्यसपछि सम्पर्कमा नै छैन,’ भट्टराई सुनाउँछिन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि उनी यतिखेर पसल बन्द गरेर सडकमा ओर्लेकी छिन् । ‘व्यापार पनि सुकेको बेला पसलको भाडासमेत तिर्न सकेकी छैन,’ उनी सुनाउँछिन, ‘दिनभर पसलमा बसेर कमाको पैसा लिएर सहकारी भाग्यो ।’

माइतिघर मण्डलामा यतिखेर देशभरका ३५ वटा सहकारी पीडितहरु एकत्रित भएकाछन् । आफूले पसिना बगाएर कमाएको पैसा फिर्ता नपाउँदा अलपत्र परेकी प्रीति बाडे तिनैमध्ये एक हुन् ।

भक्तपुर पुरानो ठिमीकी प्रीति बाडेले ६ वर्षदेखि ठिमीकै स्वस्तिक बचत तथा ऋण सहकारी संस्थामा पैसा जम्मा गरिरहेकी थिइन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान गएकी उनले जापानमा कमाएको पैसा घरमा दिदीलाई पठाउँथिन् । ‘दिदी किराना पसल चलाउनुहुन्छ । दिदिले मेरो, आफ्नो र घरका सबैको पैसा त्यही सहकारीमा राख्नुहुन्थ्यो,’ बाडेले भनिन् ।

सन् २०२० मा जापानबाट प्रीति नेपाल फर्किइन् । नेपाल फर्केर उनले आफूले पठाएको पैसाको सोधिखोजी गरिन् । ‘त्यतिखेर लकडाउन छ अहिले सकिँदैन, केही समयपछि दिन्छु भन्यो सहकारीले,’ प्रीतिलाई पनि विश्वास लाग्यो । स्वस्तिक सहकारीमा प्रीतिको ६ लाख रुपैयाँ जम्मा भएको थियो ।

प्रीतिसँगै उनकी दिदिले आफ्नो, श्रीमान् र छोराका नाममा समेत बचत गरेकी थिइन् ।लकडाउन सकिएको दुई वर्ष बितिसक्दा पनि स्वस्तिकले पि्रतिको बचत फिर्ता गरेन ।

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा माइतिघरमा छन् बचतकर्ताहरु

सहकारीले पैसा फिर्ता नगरेपछि प्रीति मध्यपुर थिमि नगरपालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालय पुगिन् उनी ।

‘सबै ठाउँमा उजुरी हालिसके, कसैले पैसा फिर्ता दिलाउन पहल गरेनन्,’ उनी गुनासो गर्छिन, ‘बरु उल्टै सञ्चालकले जे सक्छन गर भनेर धम्की दियो ।’

पैसा फिर्ता माग्न भनेर उनी सहकारी सञ्चालक अजय श्रेष्ठको घर रहेको सूर्यविनायक नगरपालिका गाम्चासम्म पुगिन् । त्यहाँ घरको गेटमा ताल्चा छ ।

मध्यपुर ठिमिको पुरानो ठिमिमा रहेको स्वस्तिक सहकारीको केन्द्रीय कार्यालयमा पनि ताल्चा लागेको छ ।

जापानबाट फर्किएदेखि सहकारीबाट आफ्नो बचत फिर्ता गर्न लागेकी उनी फेरि जापान जाने तयारीमा छिन् । झोलाबाट राहदानी निकाल्दै उनले आफू फेरि जापान जान लागेको सुनाइन्।

‘भिसा आइसक्यो तर, मैले पहिला जापानमा कमाको पैसा नै सहकारीले डुबाइदियो,’ उनी चिन्ता मान्छिन्, ‘सहकारीमा डुबेको पैसाका कारण घरमा दिदी भिनाजुको दिनकै झगडा हुन्छ ।’

‘नानीको त उमेर छ फेरि कमाउछौं, म बुढो कहाँ जानु अब ?’ प्रीतिको गुनासो सुनिरहेका ७३ वर्षे गौरीलाल श्रेष्ठ बोले ।

असन बांगेमुढाका यी बयोवृद्ध रिटायर्ड कृषि इन्जिनियर हुन् । ०७४ देखि उनले घर नजिकैको शिवशिखर बहुउद्देश्यी सहकारी संस्थामा आफ्नो पेन्सन र घरबहाल जम्मा गरिरहेका थिए ।

मधुमेह र आँखाका रोगी श्रेष्ठ आफ्नो बचत फिर्ता माग्न गत वर्षको कात्तिकमा सहकारीको कार्यालय पुगे । तर, सहकारीले कोभिडका कारण पैसा संकलन नभएको बहाना बनायो । ‘अलिक समयपछि आउनु भनेर फिर्ता पठायो । त्यसपछि सहकारीको अफिसमा ताल्चा लाग्यो,’ जीवनको उत्तरार्धमा पुगेका श्रेष्ठ धारे हात लगाउँछन, ‘म बुढोको पैसा लिएर भाग्यो त्यो सहकारी ।’

घर भाडा र पेन्सनको गरेर उनले सहकारीमा २० लाख रुपैयाँ जम्मा गरेका थिए । ‘यतिका वर्ष जम्मा गरेको त्यति ठूलो पैसा अब मैले कहाँबाट पाउनु ?,’ ७३ वर्षीय गौरीलाल चिन्ता गर्छन, ‘त्यही पैसा सम्झेर निन्द्रा लाग्दैन ।’

घर परिवारले पनि सहकारीमा पैसा राखेर डुबाएको भन्दै श्रेष्ठलाई तनाव दिन्छन् । ‘घरका सबैजना मैले नै पैसा डुबायो भन्छन्,’ श्रेष्ठ भन्छन्, ‘मैले त राम्रै होला भनेर राखेको थिए ।’

दुःखी बिरामी पर्दा सजिलो होला भनेरै उनले सहकारीमा पैसा जम्मा गरेका थिए ।

‘बुढेसकालमा आराम होला ठानेको थिएँ, यो मर्ने बेला पीर पर्‍यो,’ उनी आँखा पुच्छन् ।

‘चिन्ता नगर्नु अंकल,’ प्रीति उनलाई सम्झाउ खोज्छिन् ।

‘रातभरि निन्द्रा लाग्दैन, चिन्ता नगरी के गर्नु त नानी ?’ श्रेष्ठ दबेको आवाजमा भन्छन् ।

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा माइतिघरमा छन् बचतकर्ताहरु ।

तस्वीर : विकास श्रेष्ठ

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट
लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?