+
+

दही चिउरा नियमित खान हुन्छ ?

अनुश्री आचार्य, पोषणविद् अनुश्री आचार्य, पोषणविद्
२०८० असार १५ गते ११:२८

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ ।

छिटो मीठो, स्वादिलो र स्वस्थकर । न त पकाउनुपर्ने झन्झट, न त बासी होला भन्ने पीर । कुनै पनि समय खाने इच्छा भएमा सहजै उपलब्ध हुने खानेकुरा हो दही चिउरा ।

असार महिनामा किसानलाई भ्याइनभ्याइ हुन्छ । खेतबारीमा काम गर्न जानुपर्ने भएकाले अन्य परिकार पकाउन समय पनि यसबेला नहुन सक्छ । त्यसैले छिटो छरितो खाजाका लागि पनि दही चिउरा उपयुक्त हुन्छ ।

दही चिउरामा के पाइन्छ ?

दहीमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिन (भिटामिन ए, बी १२, बी २ ) पाइन्छ । त्यस्तै दहीमा प्रोबायोटिक प्रोटिन पाइन्छ । जसले शरीरलाई चिसो बनाइराख्ने र शरीरलाई शीतलता प्रदान गर्ने गर्छ । साथै यसले पाचन शक्तिको क्षमता बढाउँछ र रोगप्रतिरोधात्मक क्षमता बढाउने गर्छ । त्यस्तै चिउरामा कार्बोहाइड्रेट पाइन्छ । यो लामो समय राख्दा पनि अन्य खानेकुरा जस्तै सड्ने, गल्ने, बासी हुँदैन ।

अनुश्री आचार्य, पोषणविद्

अन्य खानेकुरा भए गर्मीमा बिहानको बेलुका नै गन्हाउने, सड्ने, गल्ने हुन्छ । त्यस्ता खानेकुराले पेटमा संक्रमण हुने, झाडापखाला हुने सम्भावना हुन्छ । साथै वर्षायाममा खानेकुरा र पानीको माध्यमबाट संक्रमण सर्ने डर हुन्छ । तर दही–चिउरामा त्यस्तो संक्रमण हुने डर हुँदैन । यसले त झन् पाचनशक्ति तथा संक्रमण हुनबाट जोगाउन मद्दत गर्छ । साथै यसले तुरुन्तै शरीरमा ऊर्जा, फूर्तिलो बनाउने काम गर्छ ।

थोरै पैसामा अत्यधिक मात्रामा सस्तो, उच्च पोषणयुक्त, स्वस्थवर्द्धक तथा औषधिको काम गर्ने खाजा हो दही चिउरा । त्यही भएर उहिले उहिले झाडापखालाबाट बच्न दही चिउरा खाने गरिन्छ ।

केरा र आँप किन मिसाइन्छ ?

दहीमा केरा, आँप र चिनी पनि मिसाउने गरिन्छ । त्यस्तै अहिलेका सिजनमा केरा र आँपको सिजन भएको कारण यही राखेर खाने चलन छ । जसले गर्दा अझ पोषणयुक्त खाजा बन्छ ।

तर हिजोआज बेमौसमी फलफूल पनि धेरै पाउने भएका कारण इच्छाअनुसार अन्य फलफूल मिसाएर पनि गरिन्छ । साथै आर्थिक अवस्थाले सम्पूर्ण परिवारले त ड्राइफ्रुट (जस्तै काजु, बदान पिस्ता, ओखर) इत्यादि मिसाएर खाने चलन छ ।

नियमित खान मिल्छ ?

दही चिउरा असार १५ गते मात्र नभई अहिलेको मौसममा दैनिक खान मिल्छ । यसले पाचन पक्रिया, दूषित पानी र खानेकुराबाट हुने संक्रमणबाट जोगाउँछ । यो सस्तोमा अत्यधिक पोषणयुक्त खाजा हो । बच्चालाई जंकफुडको सत्ता दही चिउरा खुवाउँदा अति लाभदायक मानिन्छ । साथै दही चिउरा स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ ।

(पोषणविद् आचार्यसँग अनलानइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?